Birendranagar Municipality

दृष्टिभ्रम र ध्वनी प्रदुषण विरुद्ध ट्राफिक प्रहरी

सीता वली/सेरोफेरो

१० साउन । सवारी साधनमा जथाभावी रुपमा टाँसिएका स्टिकरहरुबाट यात्रुमा हुने दृष्टिभ्रम हटाउन सुर्खेत ट्राफिक प्रहरी जुटेको छ ।

 

सवारी साधनमा ठूलो स्वरमा बजाइने गीत संगीत तथा विभिन्न स्टिकरहरुका कारण सवारी दुर्घटना बढेको निष्कर्षसहित यस्तो अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरि विसीले बताएका छन् ।

 

उनले भने, ‘यो कार्य अब नियमित रुपमा सञ्चालन गर्छौं । विशेष गरी ध्वनी प्रदुषणको गुनासो अत्याधिक आउने गरेपछि कार्यालयले यसमा निगरानी शुरु गरको हो । यात्रुलाई झुक्याउने गरी सवारी साधनमा राखिएका स्टिकर तथा बत्तिहरुसमेत हामीले सम्झाई बुझाई झिक्न लगाएका छौं ।’

 

विसीका अनुसार मानवीय त्रुटीकै कारण ८० प्रतिशत दुर्घटना हुने गरेका छन् । जसमा ध्वनी प्रदुषण र स्टिकरको पनि भूमिका छ । सुर्खेत जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा भएका जम्मा ७८ दुर्घटना भएका थिए । ती दुर्घटनाबाट ३५ जनाले ज्यान गुमाएका छन् भने ७० जना सख्त घाइते र २६० जना सामान्य घाइते भएको कार्यालयले जानकारी दिएको छ ।

 

बस चालक बिनोद विकले भने धेरै दुर्घटना मानवीय त्रुटी भन्दापनि सडक छेउमा ट्राफिक चिन्ह नराख्नाले तथा सडकको अवस्था र मेशिनरी खराबीका कारण हुने गरेको बताएका छन् ।

 

त्यस्तै अनुमति पत्र नलिई सवारी साधन चलाएका, मापसे सेवन गरेका, क्षमता भन्दा बढी यात्रु बोकेका लगायत विभिन्न शिर्षकबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा आर्थिक वर्ष २०७४/७५ मा ८७ लाख ८९ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

२०७५ साउन १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्