Birendranagar Municipality

आज देखि जाजरकोट महोत्सब सुरु, सांसदहरु नपुग्दा उद्घाटन हुन सकेन

सेरोफेरो
आज देखि जाजरकोट महोत्सब सुरु, सांसदहरु नपुग्दा उद्घाटन हुन सकेन

१२ पुस । आज देखि जाजरकोट सदरमुकाम खलंगामा दोस्रो जाजरकोट महोत्सव सुरु भएको छ । 


‘कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र व्यवसायीकरण हाम्रो अभियान आत्मनिर्भर, स्वाभिमान र समुन्नत जाजरकोटको निर्माण’ भन्ने नाराका साथ उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सह–आयोजनामा हुन लागेको महोत्सव आज दिउँसो १ बजे उद्घाटन गर्ने योजना भए पनि जिल्लाका नवनिर्वाचित सांसदहरु उपस्थित हुन नसकेपछि केही ढिला हुने भएको छ । ‘मौसम खराबिको कारण हिजो काठमाडौंबाट नेपालगंज आउने जहाज उड्न नसकेपछि माननियहरु अहिले बाटोमै हुनुहुन्छ’ जाजरकोटका पत्रकार रामचन्द्र घर्तिले भने ‘उहाँहरु आउँदा ३ बज्न सक्छ, त्यसपछि औपचारिक रुपमा उद्घाटन गरिनेछ ।’


जाजरकोटका वासिन्दाको आयस्तर वृद्धि गरी जीवनस्तर वृद्धि गर्ने परिकल्पनासहित गर्न लागिएको महोत्सव सदरमुकाम खलंगाको त्रिभुवन माध्यामिक विद्यालयको प्रांगणमा सञ्चालन भइरहेको छ । पाँच दिनसम्म सञ्चालन हुने महोत्सवको कम्तीमा ५० हजार दर्शकहरुले अवलोकन गर्ने तथा १ करोड भन्दा बढीको कारोबार हुने मेला आयोजकको अनुमान छ ।


मेलामा स्थानीय उत्पादन, वहुमुल्य पत्थर, घरेलु उत्पादन, फोटो प्रदर्शन, सांस्कृतिक तथा पौराणिक झाँकी, स्थानीय कला र संस्कृति झल्काउने नाचहरु पनि देखाइनेछ ।
महोत्सवमा बद्री पंगेनी, प्रिती आले, नवीन पौडेल लगायतका राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने छ भने स्थानिय कलाकारहरुले पनि कला देखाउने छन् ।

२०७४ पुस १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्