Birendranagar Municipality

वाम एकता इतिहासकै नयाँ मोड

कमलेश डि.सी.
वाम एकता इतिहासकै नयाँ मोड

२००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभिन्न चिराहरुमा विभाजित भएर पनि नेपाली जनताको विश्वास जित्न सफल रह्यो । यद्यपी विभाजनकै कारण कम्युनिष्ट आन्दोलन निर्णायक मोडमा भने पुग्न सकेको थिएन । देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु वामपन्थीहरलाई फुटाएर आफ्नो लुटको सत्ता जोगाउन सफल भएका थिए ।

 

एउटै लक्ष्य र गन्तव्य भए पनि कार्यनीतिक विषयहरुमा मतभेद रहंदा पार्टी नै अलग बनाएर बस्ने कम्युनिष्टहरुको परम्परागत मनोवृत्तिमा भने अब आमूल परिवर्तन हुने अवस्था देखा परेको छ । मुलुकका दुई ठूला पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच चुनावी तालमेलका साथै पार्टी एकीकरण नै गर्ने सहमति भएपछि यो संभावनाले मूर्त रुप लिएको छ ।

 

वाम एकीकरणको सन्देशले समाजमा नयां तरंग ल्याएको छ भने विश्वव्यापी रुपमा एकताको सकारात्मक सन्देश गएको छ । फूट र विभाजनबाट आजित भएका जनतामा निकै ठूलो उत्साह पैदा भएको छ । ६२ प्रतिशत जनमत भएर पनि केन्द्रीय सत्तामा पकड रहन नसक्दा जनतामा एक खालको निराशा समेत जन्मन थालेको थियो । २०४६ को परिवर्तनपछि नै समर्थक तथा शुभचिन्तक तहमा कम्युनिष्टहरु एक भएर निर्वाचन लडे हुन्थ्यो भन्ने तीब्र चाहना रही आएको थियो । केही नेताहरुले चाहेर पनि यो संभव हुन सकिरहेको थिएन ।


२०४८ सालदेखि नै एमालेको शीर्ष नेतृत्व माओवादी लगाएतका वाम शक्तिहरुसंग एकताको प्रयास गरिरहेको थियो । वस्तुगत परिस्थिति तयार नहुंदासम्म फरक फरक पसल थापेर बसेका दलहरुबीच एकता हुने कुरा पनि भएन । अहिले भैरहेको एकताको वातावरण इतिहासको आवश्यकता र बाध्यताले जन्माएको हो । त्यसका् लागि दूरदृष्टि भएको नेतृत्व पनि एउटा महत्वपूर्ण कारण हो भन्ने बिर्सनु हुंदैन ।

 

आजको परिस्थिति जन्माउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गतिशील नेतृत्व र एमाले अध्यक्ष केपी ओलीको परिपक्व नेतृत्वको संयोजनले महत्वपूर्ण भूमिका खेलेको हो । यही नेतृत्वले नेपाली जनताको ७० वर्षदेखिको चाहना पुरा गरेको छ । त्यसैले यो एकता इतिहासकै नयां मोड हो । यो महान् सहमतिलाई दिगो बनाउन नेतृत्वले मात्र होइन कार्यकर्ताले पनि आफ्नो ठाउंबाट ठूलो भूमिका निर्वाह गर्न सक्छन् ।

 

केन्द्रमा बनेको ६ बुंदे आचार संहीतालाई सबैले पालना गर्न जरुरी छ । कार्यकर्ताले नेतृत्वप्रति यतिबेला आशंका भन्दा विश्वास ज्यादा गर्नुपर्ने बेला हो यो । सकारात्मक तरिकाले परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सबैले योगदान गर्ने हो भने देशको आवश्यकता र जनताको चाहना पुरा गर्ने यो नै सबैभन्दा उपयुक्त अवसर हो । संविधानले परिकल्पना गरेको समाजबादको स्थापना लक्ष्य वाम एकताले नै संभव हुन्छ भन्ने सबैले आत्मसात गरौं ।


निर्वाचनमा जनताले यो एकतालाई अनुमोदन गरिसकेका छन् । कार्यकर्ताहरु एउटै पार्टीमा झैं गोलबन्द भएर निर्वाचनमा परिचालित भए । यसले नेतृत्वलाई एकता गर्न मनोवैज्ञानिक दवाव दिइकेको छ । एकतालाई भांड्न विभिन्न षडयन्त्रहरु भैरहेका छन् । यसलाई नेताहरुले गहीरोसंग बुझ्नु पर्दछ । वाम गठबन्धनको सरकार र एकीकृत कम्युनिष्ट पार्टी आज यो देशको निर्विकल्प विषय हो । कथंकदाचित एकता हुन सकेन भने यो देशको दुर्दशा सुरु भयो भन्दा हुन्छ । त्यसैले स साना विषयहरुमा अल्झेर एकताको महान् यात्रालाई कसैले अवरुद्ध नबनाऔं ।


एकतालाई दिगो र स्थायी बनाउन शीर्ष नेतृत्व गम्भीर हुंदाहुंदै पनि तल्ला कमिटीहरुमा पनि दुवै पार्टीका एकता संयन्त्रहरु निर्माण गरेर जांदा कार्यकर्ताहरु माझिने अवसर पाउनेछन् । निकट अतितका तिक्त व्यवहारहरु मेटाएर आन्दोलनको एउटै मोर्चामा होमिन पनि यसले थप उर्जा दिनेछ ।

२०७४ पुस २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्