२००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभिन्न चिराहरुमा विभाजित भएर पनि नेपाली जनताको विश्वास जित्न सफल रह्यो । यद्यपी विभाजनकै कारण कम्युनिष्ट आन्दोलन निर्णायक मोडमा भने पुग्न सकेको थिएन । देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु वामपन्थीहरलाई फुटाएर आफ्नो लुटको सत्ता जोगाउन सफल भएका थिए ।
एउटै लक्ष्य र गन्तव्य भए पनि कार्यनीतिक विषयहरुमा मतभेद रहंदा पार्टी नै अलग बनाएर बस्ने कम्युनिष्टहरुको परम्परागत मनोवृत्तिमा भने अब आमूल परिवर्तन हुने अवस्था देखा परेको छ । मुलुकका दुई ठूला पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच चुनावी तालमेलका साथै पार्टी एकीकरण नै गर्ने सहमति भएपछि यो संभावनाले मूर्त रुप लिएको छ ।
वाम एकीकरणको सन्देशले समाजमा नयां तरंग ल्याएको छ भने विश्वव्यापी रुपमा एकताको सकारात्मक सन्देश गएको छ । फूट र विभाजनबाट आजित भएका जनतामा निकै ठूलो उत्साह पैदा भएको छ । ६२ प्रतिशत जनमत भएर पनि केन्द्रीय सत्तामा पकड रहन नसक्दा जनतामा एक खालको निराशा समेत जन्मन थालेको थियो । २०४६ को परिवर्तनपछि नै समर्थक तथा शुभचिन्तक तहमा कम्युनिष्टहरु एक भएर निर्वाचन लडे हुन्थ्यो भन्ने तीब्र चाहना रही आएको थियो । केही नेताहरुले चाहेर पनि यो संभव हुन सकिरहेको थिएन ।
२०४८ सालदेखि नै एमालेको शीर्ष नेतृत्व माओवादी लगाएतका वाम शक्तिहरुसंग एकताको प्रयास गरिरहेको थियो । वस्तुगत परिस्थिति तयार नहुंदासम्म फरक फरक पसल थापेर बसेका दलहरुबीच एकता हुने कुरा पनि भएन । अहिले भैरहेको एकताको वातावरण इतिहासको आवश्यकता र बाध्यताले जन्माएको हो । त्यसका् लागि दूरदृष्टि भएको नेतृत्व पनि एउटा महत्वपूर्ण कारण हो भन्ने बिर्सनु हुंदैन ।
आजको परिस्थिति जन्माउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गतिशील नेतृत्व र एमाले अध्यक्ष केपी ओलीको परिपक्व नेतृत्वको संयोजनले महत्वपूर्ण भूमिका खेलेको हो । यही नेतृत्वले नेपाली जनताको ७० वर्षदेखिको चाहना पुरा गरेको छ । त्यसैले यो एकता इतिहासकै नयां मोड हो । यो महान् सहमतिलाई दिगो बनाउन नेतृत्वले मात्र होइन कार्यकर्ताले पनि आफ्नो ठाउंबाट ठूलो भूमिका निर्वाह गर्न सक्छन् ।
केन्द्रमा बनेको ६ बुंदे आचार संहीतालाई सबैले पालना गर्न जरुरी छ । कार्यकर्ताले नेतृत्वप्रति यतिबेला आशंका भन्दा विश्वास ज्यादा गर्नुपर्ने बेला हो यो । सकारात्मक तरिकाले परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सबैले योगदान गर्ने हो भने देशको आवश्यकता र जनताको चाहना पुरा गर्ने यो नै सबैभन्दा उपयुक्त अवसर हो । संविधानले परिकल्पना गरेको समाजबादको स्थापना लक्ष्य वाम एकताले नै संभव हुन्छ भन्ने सबैले आत्मसात गरौं ।
निर्वाचनमा जनताले यो एकतालाई अनुमोदन गरिसकेका छन् । कार्यकर्ताहरु एउटै पार्टीमा झैं गोलबन्द भएर निर्वाचनमा परिचालित भए । यसले नेतृत्वलाई एकता गर्न मनोवैज्ञानिक दवाव दिइकेको छ । एकतालाई भांड्न विभिन्न षडयन्त्रहरु भैरहेका छन् । यसलाई नेताहरुले गहीरोसंग बुझ्नु पर्दछ । वाम गठबन्धनको सरकार र एकीकृत कम्युनिष्ट पार्टी आज यो देशको निर्विकल्प विषय हो । कथंकदाचित एकता हुन सकेन भने यो देशको दुर्दशा सुरु भयो भन्दा हुन्छ । त्यसैले स साना विषयहरुमा अल्झेर एकताको महान् यात्रालाई कसैले अवरुद्ध नबनाऔं ।
एकतालाई दिगो र स्थायी बनाउन शीर्ष नेतृत्व गम्भीर हुंदाहुंदै पनि तल्ला कमिटीहरुमा पनि दुवै पार्टीका एकता संयन्त्रहरु निर्माण गरेर जांदा कार्यकर्ताहरु माझिने अवसर पाउनेछन् । निकट अतितका तिक्त व्यवहारहरु मेटाएर आन्दोलनको एउटै मोर्चामा होमिन पनि यसले थप उर्जा दिनेछ ।
प्रतिकृया दिनुहोस्