तस्विर : प्रकृति अधिकारी
१८ माघ । हाइकिङका लागि फूलचोकी गएर फर्किने क्रममा बेपत्ता भएका १७ वर्षीय विद्यार्थी जोन तामाङको ६ दिनपछि बुधबार जिवितै उद्दार गरिएको छ ।
उनको काठमाडौंको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
उद्धारकर्ता चन्द्र आलेका अनुसार उनी बाटो विराएर हिड्दै जाने क्रममा घना जंगलमा पुगेका थिए । मंगलबारदेखि नै जोनको खोजी सुरू भएको थियो ।
फुल्चोकी डाँडाबाट समूह बाँडेर झर्ने क्रममा ओलेको टोलीले सुरुमा एउटा झोला भेट्टाएको थियो । नजिकै केही धसारिएको जस्तो ठाउँ र छेउमा टिफिनबक्स देखेपछि अलि तल मानिस लडेको जस्तो देखे ।
आलेका अनुसार जोन झाडीमा अड्एिका थिए । सुरुमा भेट्दा अचेत जस्तो देखिएका जोनलाई उद्दारकर्ताहरुले बोलाए । उनले आँखा खोले र बेस्सरी रोए । ‘तिम्रो नाम जोन हो भन्दा टाउको हल्लायो । अनि हामीले पानी र विस्कुट दियौं’ उद्दारकर्ता आलेले भने ।
झाडीभित्र भेटिएका उनलाई निकै मुस्किलले सडकसम्म ल्याइएको थियो । जोन पिपलको रुखजस्तो लडेको रुखको चेपमा फेला परेका थिए । जोन घोप्टो परेर लडिरहेको थियो तर होसमै थियो ।
‘हामी जोन भनेर करायौं । उसले फर्किएर र्हेयो । हामी त्यहाँ पुगेपछि उ रुन थाल्यो । बोतलको पानी खुवायौं । त्यहाँसम्म पुग्ने बाटो अप्ठेरो थियो, त्यसैले फाँडफुड गरेर बाटो बनायौं । उसलाई भोक लागेको होला भनेर हामीसँगै लगेको बिस्कुट पनि दियौं ।’ उद्दारकर्ता आलेले भने ।
सात दिनसम्म चिसोले कठ्याँग्रिएका कारण जोनको एउटा खुट्टामा समस्या देखिएकाले केही दिन अस्पतालमै राख्नुपर्ने हुनसक्ने परिवार सूत्रको भनाइ छ । जोनको खोजीमा १९ जना संलग्न थिए ।
प्रतिकृया दिनुहोस्