Birendranagar Municipality

सफलता आफैमा भर पर्छ

विद्यार्थीले दैनिक कार्यतालिका बनाएर पढ्न सक्यो भने धेरै राम्रो हुन्छ । परीक्षाको समयमा मात्र नभएर पढाईलाई सधैं निरन्तरता दिनुपर्छ ।
सफलता आफैमा भर पर्छ

सीता वली

२५ बैशाख, सुर्खेत– यी हुन् यस वर्ष कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा सुर्खेत जिल्ला प्रथम विद्यार्थी । २०७४ बैशाख ५ गते प्रकाशित नतिजामा अप्रतिम ऐकेडेमीका डिल्लीरमण बास्कोटाले ९९.१२ प्रतिशत ल्याएर जिल्ला प्रथम भएका हुन् ।


वीरेन्द्रनगर १६ शान्तिनगर घर भएका उनी १४ वर्षका भए । बुवा राजन बास्कोटा र आमा लक्ष्मी बास्कोटाका छोरा उनी नर्शरी कक्षा देखि नै अप्रतिम ऐकेडेमीमा अध्ययन गर्दै आएका छन् । सरकारी सेवाबाट अवकाशप्राप्त हजुरबुवा भरत बास्कोटाले उनको लागि यो विद्यालय छनौट गरेका हुन् । बुवा निर्माण व्यवसायी हुन भने आमा गृहिणी । डिल्लीको लागि घरमा पढ्ने राम्रो वातावरण छ । उनी तीन कक्षा देखि नै प्रथम हुँदै आएका छन् ।

2


डिल्लीको दैनिकी यस प्रकार छ: विद्यालयबाट घर जानेबित्तिकै गृहकार्य गर्ने, साँझ खाना खाएर पढ्ने, बेलुकी साढे दश बजे सुत्ने र बिहान ६ बजे उठेर खाजा खाने, पढ्ने र ९ बजे खाना खाएर विद्यालय जाने ।


‘बिद्यार्थी सफल हुने कुरा आफैमा भर पर्छ’, उनी भन्छन्– ‘विद्यार्थीले दैनिक कार्यतालिका बनाएर पढ्न सक्यो भने धेरै राम्रो हुन्छ ।’ कक्षामा कमजोर साथीहरु देख्दा आफूजस्तै मेहेनेत गरे हुन्थ्यो नि जस्तो लाग्छ डिल्लीलाई । विद्यालयमा विज्ञान प्रयोगशाला र पुस्तकालय भएको भए अझै राम्रो हुने उनी बताउँछन् ।


उनलाई सबैभन्दा मनपर्ने विषय गणित हो भने शिक्षक आशिष बराल । उनलाई मनपर्ने खेल क्रिकेट हो । उनी बिदाको समयमा नोट लेखेर र पढेर समय बिताउँछन् । उनी भविष्यमा डाक्टर अथवा इन्जिनियर बन्ने चाहना छ । उनलाई विद्यालयको मनपर्ने पक्ष भनेको विद्यार्थीलाई धेरै अवसर दिने हो । आम विद्यार्थीलाई राम्रो अंक ल्याउनका लागि उनको सुझाव छ– ‘परीक्षाको समयमा मात्र नभएर पढाईलाई सधैं निरन्तरता दिनुपर्छ ।’

3


२०६४ सालमा स्थापना गरिएको ऐकेडेमीका सञ्चालक शुरेन्द्रजङ्ग रानाले आफ्नो विद्यालयमा संंचालक, प्रधानाध्यापक अन्य शिक्षक र विद्यार्थी बीच घनिष्ठ सम्बन्ध भएको बताए । शिक्षक र विद्यार्थीबीच साथीको जस्तो सम्बन्ध हुँदा विद्यार्थीले सजिलै आफ्नो समस्या बताउन सक्ने उनको भनाई छ– ‘तर शिक्षण सिकाई प्रकृयामा विद्यार्थीलाई कडा गरियोस् भन्ने धेरै अविभावकको चाहना हुन्छ ।’


यसैगरी जिल्लाको दोस्रो स्थान हासिल गर्ने विद्यार्थी पनि अप्रतिम ऐकेडेमीकै प्रलब मल्ल हुन् । उनले ९९ प्रतिशत अंक ल्याएका थिए ।

२०७४ बैशाख २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्