२ असोज । कोरोना महामारीको लडाईमा कोरोना पोजेटिभ भएर कोरोनासंग लडिरहेको बेला हजारौ मेरा शुभ चिन्तकहरु, आफन्तजनहरु जसले मेरो सुस्वास्थ्यको कामना गर्दै फेसवुक, फोन लगायत अन्य संचार माध्यमबाट शुभकामना सन्देश दिनु भयो सम्पूर्ण महानुभाव प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद दिन चाहान्छु । कोरोना भन्ने बाहिरबाट हेर्दा ठूलो बडेमानको अदभुत चिज, मानिसलाई तर्साउने, हाउगुजी जस्तो लाग्ने, समाजमा कोरोना लागेको मानिसलाई देख्दा भाग्ने, कोरोना लाग्ने मानिस त अर्कै संसार तथा ग्रहबाट ओर्लिएको हो की जस्तो गरि हेर्ने गरिएको छ, त्यो वास्तवमा सहि होईन भन्ने अनुभव गर्ने एउटा अवस्था बन्यो । मैले मिति २०७७ भाद्र १७ गते दिउसो साढे २ बजे स्वाब परिक्षणको लागि दिएको थिए । त्यो भन्दा एक दिन अगाडि मलाई सामान्य रुघा खोकी र सामान्य ज्वरो आएको थियो । स्वाब परिक्षण भए पछि मलाई ज्वरो, रुघा खोकी सन्चो भइ सकेको थियो ।
यधपी मैले स्वाब दिएपछि पोजेटिभ आउनपनि सक्छ भनेर दुरी कायम गर्नुका साथै आवश्यक सावधानी अपनाएर घर मै छुट्टै कोठामा बसेको थिएं । तिन दिनभित्र रिर्पोट आउछ भनेको थियो चौथो पाचौ दिनपनि रिर्पोट आएन । कसैको त विहान दिएर साँझै आयो भन्ने सुनिन्थियो पोजेटिभ आउने भएर हो कि? थाहा भएन । स्वाब दिएको ६ दिन पछि मिति २०७७ भाद्र २२ गते बिहान करिब साढे सात बजे मोवाइलमा घंटी बज्यो उठाएं म स्वास्थ्य कार्यालयवाट बोल्दैछु तपाई रत्न जी हो तपाईलाई कस्तो छ ? मैले जवाफ दिए, म त सन्चै छु ज्वरो रुघा खोकी छैन स्वस्थ नै छु उता बाट फेरी आवाज आयो तपाइको त रिपोट पोजेटिभ आएकोछ । म एकाएक झसंग भए । फेरी समालिएर मैले सोचे मलाई त केहि भएकोछैन तर कस्तो कस्तो परिक्षामा असफल भएको जस्तो भान भयो तर मैले पूनः सोचे म त विरामी छैन । यतिकैमा कार्यालयबाट फोनमा भन्नुभयो तपाईको घरमा एटेज वाथरुम छ? घरमा बस्नुहुन्छ कि? के छ? घरमा बस्दा कस्तो हुन्छ? यस्तै यस्तै प्रश्नहरु सोध्नु भयो । मैले जवाफ दिए हजुर म घर मै आइसोलेशनमा बस्छु त्यसो भए चौध दिन कहि कतै नगएर बस्न पर्यो भन्नु भयो । केहि समस्या भए प्रदेश अस्पतालमा आउनु होला फोन गर्नु भए एम्बुलेन्स लिन आउछ । आफै आउदा नि हुन्छ फोन गर्नुहोला है यस्तै यस्तै............
त्यस पछि मैले सोचे घरमा कसरी भनौ, तर एकछिनमा नै सहास बटुलेर सबै परिवारलाई मेरो रिर्पोट पोजेटिभ आयो भनेर भने घरमा सबैले नरमाईलो मान्नुभयो । मैले भने मलाई केहि भएको छैन पोजेटिभ रिर्पाेट आउदा केहि हुदैन म त सन्चै छु । मलाई न ज्वरो छ, न रुघा छ, न कमजोर महशुस छ, न खान मन नलाग्ने छ, न कुनै अन्य स्वास्थ्य समस्या नै, मात्र चिन्ता मात्र छ । रिर्पाेटले मन गह्रुगो बनायो, थाके जस्तो भान भयो नशा गले जस्तो,शरिर गले जस्तो भैरह्यो थचक्क बेडमा बसे अनि पल्टिए र सोचे अब के गरु धेरै सोचे कारोना लागेका मानिसहरको विदेशमा देखिएका भिडियोहरु, उत्पन्न भएका समस्याहरु, घर समुदायबाट एक्लो बनाइएका घटनाहरु, समुदाय बाट आफन्तबाट तृस्कृत भएका क्षणहरु , मर्दा समेत आफन्तहरुले टुलु टुलु हेर्ने बाहेक केहि गर्न नसकिने अवस्था आदि आदि म आफैलाई त्यही ठाउँमा दाज्न पुगेछु ।
झल्यास फेरी सोचे म संग स्वाब परिक्षण गर्न जानु भएको साथी कृष्ण जिसीको के भयो? उहाँलाई फोन गरे वहालाई पनि पोजेटिभ भएको थाहा पाए । वहा भन्दै हुनुहुन्थ्यो यस्तै हो केहि छैन म त बुलबुले अशोका होटलको आइशोलेसनमा छु साहु जी ले चिया दिदै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो । यधपी उहाको स्वरमा अलिअलि डर, अलिकती निरासाको कम्पन जस्तै आवाज सुनिन्थ्यो । थाहा छैन उहाँलाई त्यस्तो नभएको पनि हुन सक्छ । मेरो घर परिवारका बुवा, श्रीमती, छोरा, छोरीहरु, भाई, बुहारी तथा साना छोरीहरु, दिदि, भान्जाभान्जीहरुले नआत्तिनु केहि हुदैन भन्दै सान्तवना दिनथाले । छोरीहरुले बेसार, अदुवा, टिमुर मिसायर तातो पानी ल्याएर खान दिए,त्यस पछि लगतै उमालेको तातोपानीमा कागती निचोरेर दिए, केहि पश्चात उमालेको पानीमा वाफ लिन लगाए यस्तै गर्दै गर्दा म त बिरामी पो हो भन्ने भान भयो । मैले जे जति दिए खादै गए । सुतौ कि उठौ जस्तो भैरह्यो कहिले बिस्तारामा सुत्छु, कहिले उठ्छु यस्तै हुदाहुदै साथीहरुले फोन गर्दै के छ खबर भन्दै फोन आउनथाले, सन्चै हुनुहुन्छ ? साथीहरुले कोरोना पोजेटिभ भयो भनेर सिधै प्रश्न गर्न नसकि अथवा अप्ठारो मानी घुमाउरो पाराबाट असजिलो मानेर प्रश्नहरु सोध्न थाल्नु हुन्थ्यो । मैले बुझिहाल्थिए सोध्न गार्हे भयो भनेर त्यस पछि आफै जवाफ दिन्थे ए मेरो स्वाब परिक्षणमा कोरोना पोजेटिभ भयो खास म सन्चै छु, बिरामी छैन भनेर । त्यस्तै गर्दै दिन भरी जिउ भारी गरेर जवाफ दिने, सोच्ने, कोरोना पोजेटिभ भएर सन्चो भएका मानिसहरु, सिकिस्त बिरामी भएका मानिसहरुले दिएका अन्तरवार्ता, स्वास्थ्यकर्मीले उपचार गरिरहेका दृष्यहरु अनि तस्बीरहरु र कोरोनाबाट मृत्यु भएका मानिसहरुको अवस्था दिमागमा नाचिरहन्थे, मनमा आउने जाने भै रहन्थ्यो ।
केहि पत्रकार साथीहरुले अब हजुरहरु कोरोना पोजेटिभ भएको कुरा सार्बजानिक गरौ कि भनेर सोध्नुभएको थियो मैले भने कोरोना पोजेटिभ भएको कुरा बहादुरी देखाए जस्तो किन सार्बजानिक गरु भने जस्तो लाग्यो र भने नगरिदिनुस । तर भित्रभित्र त मलाई लागेको थियो हामीहरुले यस्तो कुरा लुकाउने होईन बरु सबै समाजलाई कोरोना बारे सचेतना जगाउने, सुरक्षित कसरी हुने, कोरोना बिरुद्धमा सबैको एकेबद्धता कायम गर्ने,कोरोना भाइरस सबैमा सर्न सक्छ त्यसबाट कसरी बच्ने आदि सबै समुदायलाई जानकारी गराउनुपर्छ भन्ने लागेकै थियो । साँझ घर परिवार सबै जम्मा हुनु भयो नियमित रुपले बेसार, अदुवा, टिमुर सहितको तातोपानी ३ गिलास जति,एक दुइ गिलास कागतिपानी, वाफलिने तातो पानी, मन लाग्ने खाना आउन लाग्यो । सबै बाहिर पट्टि म मात्र भित्र कोठामा भित्रबाट ढोका खोल्यो की मलाई याद आउथ्यो गाउघर तिर पहिला पहिला महिला रजश्वला (महिनावारी) हुदा एउटा थाल,एउटा कचौरा ,एउटा पानीखाने भाडामा खानाहरु थाप्ने अरुले नछुआएर राख्ने राख्दा बाहिर पोखिन्छ कि जस्तो लाग्ने महिलाहरु रजश्वला हुदा कस्तो महशुुस हुने रहेछ अनि बर्षौदखी त्यसैगरी नेपाली समाजमा समाजिक विभेदमा परेका ब्यक्ति र समुदायलाई कस्तो महशुुस भैरहेको होला भन्ने सोच्न पुग्थे ।
खाना खाए पछि फोन आउने क्रम जारी नै हुन्थ्यो । कहिले काही लामो समय फोनमा कुरा गर्दै गर्दा घर परिवारबाट बहादुरी काम गरे जस्तो कति फोनमा झुन्डेको भन्ने कहिलेकाही शब्दबाण आउने गर्दथे । मैले सोच्ने गर्थे साच्चै मैले ठुलो अपराध गरे की क्या हो ? भन्ने भान हुन्थ्यो । मेरो गल्ती थियो त कहिलेकाही बाहिर गए होला । सधै घरै बसेर सबैलाइ पुग्ने भए किन बाहिर जान्थे होलान मानिसहरु, यस्तै..यस्तै..सोच्दा सोच्दै निदाउथे । जब बिहान निद्रा विउझियो ए म त कोरोना पोजेटिभ भएको मान्छे पो हो त यस्तै सोच्दै थिए फोनको घंटि बज्न थाल्यो फोन उठाउँदा त तपाईको बारे त फेसबुकमा आएको थियो के हो? सिघ्र स्वास्थ्यलाभको शुभकामना, टेक केयर यस्तै यस्तै शुभचिन्तकहरुबाट फोनहरुको ओइरो आउनथाले । जव फोटो सहित सिघ्र स्वास्थ्य लाभको कामना सहितको सहानुभुती शुभकामना आउन थाल्यो एक कान मैदान हुदै फैलिदै,ब्यापक हुदै गयो । निरन्तर फोनबाट सान्त्वनाहरु आउनथाले, सन्चो हुन्छ,केहि हुदैन,नआतिनु, ठिक हुन्छ यस्तै यस्तै..करिब तिन सय भन्दा बढि कलहरु आए ।
फेसबुक मार्फत धेरैले सहानुभुती जनाउने, यो त रुघा जस्तो नि होइन भन्ने, कोरोनाबाट निको भएकाहरुको कहानीहरु, कोरोनाबाट भएका विमारीहरुको अन्तरवार्ता,दिन विताउने रमाइला कार्टुृनहरु,शन्देशमूलक महान भनाईहरु,कोरोना सम्बन्धित विज्ञहरुको विभिन्न बहश अन्तरवार्ता लगायतका सामाग्रीहरुले फेशबुक रंगिन हुन्थ्यो । फेसबुक हेर्दा, बाहिरबाट शुभचिनतकहरुले दिएका सन्देश पढ्दा त कोरोना भन्ने केहि होइन जस्तो लाग्थ्यो ।
खोक्दा समेत छिमेकीले लुकेर हेर्थे :
जव मेरो छिमेकीहरु नजिक आउन डराउने, यताउताबाट ठाडो कान लगाएर सुन्ने, यसो लुकेर हेर्ने, खोकि लाग्यो भने पुलुक्क हेर्ने, घर कै परिवारका सदस्यहरु अलग्गै एका पट्टि बाट हेर्ने, आफु एउटा कुनामा छुट्टै छोइएला जस्तो निरिह जस्तो भएर टुलुटुलु हेरिरहदा मन भक्कानिएर आउथ्यो र लाग्दथ्यो कि मलाइ त साच्चै कोरोना लागेछ । मैले सारै अन्याय गरेछु क्यारे । के पाप गरेछु भन्ने भान हुन्थ्यो । यस्तै सोचाई भैरहेकोबेला फेरी कोरोनालाई जित्नुहोला है भन्ने फोन आइरहन्थ्यो त्यतीबेला मैले सोच्ने गर्दथे कि कोरोनालाइ त म निश्चितरुपले जित्छु तर समाजलाई कोरोनाबारे बुझाएर कोरोना लागेका ब्यक्ति तथा परिवारका बारेमा सोच्ने र हेर्ने नकरात्मक दृष्टिकोणको बारेमा सकरात्मक बनाउन सक्दछु कि सक्दैन चुनौती थपिरहन्थ्यो ।
फेसबुकमा, शुभकामना दिदा ,फोनमा कुरा गर्दा कोरोना केहि होइन,चिन्ता नलिनु, आत्तिन पर्दैन जे जस्तो भनेपनि जब ब्यावहारमा लागुहुन खोज्दछ त्यहि अप्ठारो ,मन खिन्न हुने आदि आदि.. कोरोना त सबैलाई लाग्न सक्दछ न यसले गरिब भन्छ, न त धनी, न त यसले नेता भन्छ न त जनता, न त महिला न त पुरुष, न त किसान न त कर्मचारी , न त युवा न त बृद्ध । त्यसैले समाजमा सबैले बुभ्m्नुपर्दछ कोरोना सबैलाई हुने संभावना हुन्छ । त्यसकारण कोरोनालाई जित्न सबै एकजुट होउ सबैलाई सम्मान गरौ ।
प्याट् प्याट् चप्पलको आवाजले झस्यागं भए यसो मोबाइलमा कति समय भएछ भनेर हेरेको त बिहानको सात बजेको रहेछ । मेरो बुवा म सुत्ने कोठाको अलि पर पट्टी निन्याउरो (निराश) अनुहार लगाएर , युद्धबाट हारेर आएको सिपाही जस्तो, ठुलो निरासा सहित , कसैबाट हेपिए जस्तो टिठ लाग्दो झुसिल्लो अनुहार बनाएर ठिगं उभिएर मलाइ नियालिरहनु भएको थियो । मैले सोधे के भयो बुवा? बुवाको जवाफ थियो सबै भयो तैले बहादुरी काम गरिस् अझ फेसबुकमा हालेर अझै गरिस् रातो रातो भएर पिडा पोख्दै रुन मात्र नसकि मलिनो स्वरले थरथर स्वर कमाउदै भन्दै हुनुहुन्थ्यो । ८३ बर्ष पुग्न लागेको मेरो बुवा अझै स्वास्थ्य, हट्टाकट्टा, हिडदा मलाई जित्ने, हामीहरु सबैलाइ खाना बनाइदिने जस्ता सबै कामहरु गर्ने गर्नु हुन्छ । वहाँ कुनै एक धार्मिक संस्थमा प्रवचन सुन्न जानलागेको करिब चौबिस बर्ष हूनलाग्यो । धार्मिक संस्थामा प्रवचन सुन्न जानलागे देखि हामी माछा मासु खान्छौ भनेर आफै बनाएर खाने गर्ने गर्नुहुन्थ्यो । उहाँको छुट्टै सुत्ने कोठा छ । अहिले सम्म खाना आफै बनाउने र खाने गर्नुहुन्छ । हामीलाइ नि खाना बनाउने गर्नुहुन्छ । मेरो बुवा संग अघि पछि त प्राय नजिक बाट भेटै हुदैनथ्यो । धार्मिक संस्थामा मलाई कोरोना पोजेटिभ भएको कुरा फेशबुकबाट ब्यापक भए पछि थाहा भै सकेको रहेछ जव बुवा धार्मिक संस्थमा प्रवचन सुन्न पुग्नु भयो । धार्मिक संस्थाका मानिसहरु जो चौबिसौ बर्ष देखि सगै बस्दै आउनु भएको जसले हैन तपाईको छोरालाई कोरोना भएछ है भनेर अलि फरक ब्यावहार भएछ । त्यस पछि बुवा सारै पिर मानेर घर फर्किनु भएको पो रहेछ । अघि पछि त भेट कम हुने बढि उमेर भै सकेको बुवासगं मलाई कोरोना भए पछि कस्तो ब्यावहार गर्नु पर्दछ थाहा थियो । म उहासगं टाढै रहन्थे ।
हाम्रो पसल नि छ । परिवारका अन्य सदस्यहरु पसलमा जाने गर्दथे । फेसबुकबाट मलाई कोरोना पोजेटिभ भएको प्रचार भै सकेको थियो । पसलको वरीपरी गाइगुई कुरा गर्ने रहेछन यसको त घरमा कोरोना लागेकोछ । त्यहा जान भएन खाजा पसले बहिनिलाई त्यहा खाजा पुर्याई दियौ भने तिम्रो पसलमा हामी खाजा खादैनौ भन्ने जस्ता कुराहरु चलेछन् । पसल वरिपरि आउदा ठाडाठाडा कान लगाउने आदिआदि..यस्तो भएपछि स्वभाविकरुपले पसलबाट घर पर्किदा सबैको रिस म माथी पोखिने नै भयो । न हिड्नु भनेको नमान्ने, कहाँबाट कारोना ल्याउने, तपाईले गर्दा सबैले अपहेलना गर्न थाले । कसरी बस्ने, के भन्ने यस्तै यस्तै म भने पानीमा रुजेको बिरालो झै लुरथुक्क परेर ठुलो गल्ति गरेर सजाय भोगेझै सुनिरहन्थे । सोच्ने गर्दथे मलाई कोरोना भयो मानौ मेैले गल्ति गरेरे त्यसको सजाय बुवाले पाउनु पर्ने, मेरा आफन्त परिवारका सदस्यहरुले अपहेलित हुनु पर्ने, तिरष्कृत हुनुपर्ने, बहिस्कृत हुनुपर्ने, घृणित हुनुपर्ने कस्तो भएछ ।
प्रायजसो दिनको एक पटक जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट फरक फरक ब्यक्तिबाट फोन आउने गर्दथ्यो सबैले स्वास्थ्य कार्यालयबाट बोलेको भनेर भन्नुहुन्थ्यो तर नाम भन्नु हुन्थेन । त्यस मध्ये बढि जसो डा.भट्टराईको फोन आउने गर्दथ्यो । उहाँहरुले राम्रोसग तपाईको स्वास्थ्य कस्तो छ ? केहि लक्षण आएको छ कि ? केहि अप्ठारो भयो भने खबर गर्नुहोला यस्तै ..यस्तै..। उहाहरुको प्रश्नले अलि हल्का, सजिलो, केहि पर्यो भने हुनुहुन्छ भन्ने साहस बढ्थ्यो । कहिले काँहि सगै पोजेटिभ भएको साथी कृष्ण सर सग पनि फोन तथा म्यासेन्जरमा रमाइलो कुराकानी गरिन्थ्यो । उहा होटलमा आइसोलेशनमा म त घर मा । हामी त त्यतिकै फसियो यार चेक नगरे नी हुन्थ्यो नि । संगै बस्न पाए रमाइलो हुन्थ्यो । बिरामी नभएको मानिस बिरामी भएको नाटक गरेर एक दुइदिन काट्न त सजिलै हुनेरहेछ तर चौध चौध दिन बिताउन त एकदमै गाहे , सजाय पाए जस्तो अनुभव पो हुदो रहेछ । कहिले होला यो आइशोलेशनबाट मुक्ति पाउने भन्ने लाग्थ्यो ।
एकदमै नजिकका हितैसी साथीहरुले कोरोना सर के छ भनेर हासो गरेर, रमाइलो ठट्टा गरेर फोन गर्नुहुन्थ्यो सायद एक्लै भएर अप्ठारो मान्यो होला भनेर होला । केहि साथीले गुज्रो ल्याएर, केहिले फलपूmल लिएर भेट्न आउनुहुन्थ्यो । म माथि छतमा उहाँहरु तलबाट हात हल्लाएर ल सिघ्र स्वास्थ्य लाभको शुभकामना है भन्दै जानु हुन्थ्यो भने दश, एघार दिन पछि केहि साथीहरु मेरो रुम बाहिर पट्टि दुरी कायम गरेर स्वास्थ्यलाभको शुभकामना दिन पनि आउनुभयो । मनले भेटौ भन्ने लागेपनि समाजको डर, कारोना भन्ने हाउगुजीको डरले धेरै साथीहरुले अब छिटो ठिक हुनुहोस भेटौला भन्नु भयो केहि नजिकै आएर भेट्नु भयो सबै प्रति कृतज्ञछु । मेरो घर परिवारका सबै सदस्यहरु अनुशासनमा थिए । बिहान उठ्नासाथ बेसार अदुवा टिमुर सहित उमालेको तातो पानी, तातो कागतिपानी, तातो वाफलिने काम म मात्र होईन सबैले निरन्तर लिने गर्दथ्यौं । सबैले मास्क लगाउने गर्दथ्यौं । कहिलेकाँहि मैले बिर्सिहालेमा मेरो छोरीहरुले कराई हाल्थे । खाना समय मिलाएर दिने, फलफूल दिने सबै काम छोराछोरीले गरेका थिए । छोराछोरीले गरेको केयरले हौशला बढाईदिन्थ्यो। कोरोना सोरोना लाइ त यतिकै हटाइन्छ भन्ने लाग्दथियो । यस्तै गर्दे दिनबित्दै थिए ।
कोरोना संक्रमण भएको भुलेर बजार तिर हिँड्दाः
एक दिन भरि अफिसको लागि रिर्पोट बनाउने काम थियो त्यसको लागि काठमाडौंमा भएका साथिहरुसगं भरच्युल मिटिग भयो दिन भरी काम गरियो । काम सकिए पछि म एकछिन बजार जान्छु भनेर कपडा लगाएर घरको भुईतलमा पुगेछु । एक्कासी झल्यास भए, म त आइशोलेशनमा बसेको पो छु, त्यस पछि फर्केर फेरी आफ्नो कोठामा आएर बसे । दिनहरु बित्दै थिए। बाहै दिनको साझ बुवासंग एउटै घरमा भएपनि भेट नभएको चार दिन भै सकेको थियो । बुवालाई म संग भएको कोरोना सर्न सक्दछ भनेर छुट्टै कोठामा बसालेका थियौ । बुवा माथी घरको छतमा आउनुभयो म लगायत सबै परिवारका सदस्यहरु दुरी कायम गरेर बसेर कुराकानी गर्यौ ।
बुवालाई त जव धार्मिक संस्थाबाट फर्किनुभयो धेरै सोच्नुभएछ । सोच्दा सोच्दा पेटमा सल्का हान्यो रे त्यस पछि पेट पोल्न थालेछ । छोरीहरुले मलाई थाहै नदिई औषधी खान दिएर राखेका रहेछन । बुवालाई सोधेको त म त मर्छु जस्तो लाग्यो । मलाई जाच गरे भने पनि कोरोना भन्नेछन । मरे भने कसरी लग्नेछन किन कोरोना लागेछ भनेहोलान यस्तै यस्तै कोरोना आतंकले विरामी नभएको बुवालाई बिरामी बनाई दिएछ । मैले भने बुवा म त बिरामी नै छैन किन चिन्ता मान्नुहुन्छ । हजुरले मलाई देख्नुभाछ के भएको छ र मलाई? बुवाले भन्नु भयो तलाई केहि नभए पनि बाहिर कोरोना लाग्यो भन्छन । तलाई केहि हुदैन भन्ने त थाहा छ तै पनि कोरोना लागेको मान्छे , हामी सबैलाई कोरोना लागेको परिवार भनेर हेर्ने दृष्टिकोण फरक हुन्छ । तलाई कोरोना लागेको थाहा पाएर म धार्मिक संस्थाको फरक ब्यावहारबाट फर्किएं । मेरो मुटु चसक्क भयो । मलाई पो कोरोना लागेको थियो केहि लक्षण नभए पनि । त्यसको सजाय ८३ बर्षको बुवाले पाउने ? हुन त यो र्धािर्मक संस्थाले गरेको होईन यो त समाजमा कोरोना लागेकोलाई डर र त्रासले हेर्ने दृष्टिकोण जबरजस्ती बनाईएको सानो अंश मात्र हो । धार्मिक संस्थालाई केहि दोष छैन । कोरोना लागेकाहरु प्रति हेर्ने सानो प्रतिबिम्ब मात्र झल्केको हो । बुवा संग कुरा गर्दा गर्दै एक छिनमा अलि सन्चो भयो रे त्यस पछि हामी सबै आआफ्नो बिस्तारामा सुत्नगयौ ।
तेह्रौं दिनबिहानै निन्द्राबाट बिउझिएर बाहिर छतमा गएर हेरेको त गोठिकाडा ,सिद्धपाइला, रतु सबै वरीपरी बादल र कुहिरोले डमक्क ढाकेको, दिन नै निराश लाग्दो, पानी झर्ला झर्ला जस्तो अनी मन नै गह्ुगो भएर आयो । भोलि देखि स्वाब दिएको चौध दिन पुग्ने सुदुरपश्चिम तिर चौध दिन मा सुकेरी भएको चोखिन्छन रे आफ्नो पनि कोरोनाबाट चोखिने दिन आउन लागेकोले चोखिए पछि फुर्सद नहोला भनेर अनुभव के भयो भनेर लेखौ भनेर लागेको के लेखौ के नलेखौ भयो । कोरोना भन्ने बिक्तिकै आज भोली जुन सन्त्रास छ, जुन डर र भय छ, जुन हाउगुजी र आतंक छ यि सबै बिरालो लाई बाघ भनेर ब्याख्या र बढाई चढाई मात्र गरेर समुदायलाई आतंकित गराईएकोछ । एगटा सत्य के हो भने कोरोना एउटा भाईरस हो जो कोही ब्यक्तिमा सर्दछ । त्यो रोग लागेमा केहिलाइ लक्षण नै नदेखिने , केहिलाई अलिअलि लक्षण देखिने सन्चो भैहाल्ने । केहि लाई अलि अप्ठारो बनाउने (जो पहिला देखि नै दीर्घ रोगी जस्तै क्यान्सर,मुटुरोग, फोक्शो सम्बन्धि आदि रोग भएकोलाई भन्ने गरिन्छ) ।
मलाई थाहा भए सम्म कोरोना मात्र लागेर मानिसको मृत्यु भएको छैन बरु अन्य बिमारी भएकोमा कोरोना पनि देखिएर मृत्यु भएकोछ । अरु रोगले मरे पनि कोरोना पोजेटिभ भयो भने कोरोनाले मरेको लिस्टमा राखि दिने गरेको पाईन्छ । त्यसैले कोरोना लाग्दा डराई हाल्न पर्ने, आत्तिनै पर्ने केहि छैन बरु सजग भएर ब्यावहार गर्ने, कोरोना लागेको ब्यक्ति तथा परिवार सबैलाई सकरात्मक रुपले हेर्ने, तिरष्कार र अपहेलित नगर्ने जस्ता ब्यबहार गर्नु पर्दछ भन्ने लाग्दछ । आज यो कोरोना अरु संग छ भोलि म संग पनि आउन सक्दछ बरु सबै मिलेर यसलाई परास्त गर्न एकजुट भै कोरोना प्रति फैलाईएको भ्रम र यर्थाथ के हो सो सम्बन्धि विष्लेषण गर्दे कोरोना प्रति हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन हुन जरुरी देखिन्छ । यसै साथ म संक्रमण भएको चौधौं दिनमा पूनःस्वाब दिएर आज मिति २०७७ भाद्र ३१ गते पन्धौं दिनमा कोरोना नेगेटिभ आई कारोनाबाट मुक्त भए पनि स्वास्थ्य कार्यालयको सल्लाह अनुरुप आईशोलेशनमा बसेको दिन देखि एक्काईस दिन सम्म घर मै सजगता अपनाएर बसिरहेकोछु ।
प्रतिकृया दिनुहोस्