Birendranagar Municipality

‘खस जुम्ली भाषा लेखनशैली’को मस्यौदा तयार

‘खस जुम्ली भाषा लेखनशैली’को मस्यौदा तयार

डोटी रैका राजा मन्धता शाहीद्वारा प्राचिन खस भाषामा लिखित ताम्रपत्र। फोटो : विकिपीडिया

सेरोफेरो
२२ भदौ । लोपोन्मुख अवस्थामा पुगेको खस भाषाको उत्खननस्वरुप पहिलोपटक कर्णालीको जुम्लामा ‘खस जुम्ली भाषा लेखनशैली’को प्रस्तावित मस्यौदा निर्माण गरिएको छ ।


मातृभाषा केन्द्र नेपालद्वारा जुम्लामा आयोजित तीनदिने कार्याशाला गोष्ठीमा सहभागी खस भाषा, कला, संस्कृति र इतिहाससम्बन्धी जानकारको अन्तिम निर्णयले ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदा निर्माणको प्रस्ताव गरेको हो ।


प्रस्तावित ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदाको व्यञ्जन वर्ण २९ अक्षर र स्वर वर्ण ६ वटा छन् । आवश्यक परेको खण्डमा परिमार्जित संस्करणमा प्रयोग गर्नेगरी अहिले प्रस्तावित मस्यौदाबाट व्यञ्जन वर्णहरु ञ, ण, श, ष, क्ष, त्र र ज्ञ र स्वर वर्ण ई, ऊ, ऋ, ऐ, औ, अं, अः बाहिर राखिएको छ । तत्कालीन कर्णाली खस राज्यभित्र बोलिने खस भाषा र बोलचालसम्बन्धीको भाषा एवं जनबोलीलाई आधार बनाएर प्रस्तावित मस्यौदा निर्माण गरिएको भाषासेवी तथा जुम्ली खस शब्दकोशका सम्पादक रमानन्द आचार्यले जानकारी दिए । ‘मस्यौदामा कर्णाली क्षेत्र र तिनको सेरोफेरोका जिल्लाको बोलचालसम्बन्धीको खस भाषा समेटिएको छ,’ भाषासेवी आचार्यले भने।


उनका अनुसार विसं १८४६ पछि कर्णालीको पहुँच केन्द्रीय सरकारबाट कमजोर हुँदा खस भाषा ओझेलमा पर्दै गएको र ढिलोगरी प्रस्तावित मस्यौदा बने पनि यो काम सराहनीय छ । पूर्वशिक्षकहरु, कला संस्कृति एवं खस साहित्यकार, भाषाका जानकार र पत्रकारको संलग्नतामा निर्मित प्रस्तावित मस्यौदामा यो क्षेत्रको कथ्य शब्द ‘स्ह’ को लेख्य रुप दिन नयाँ वर्णमा प्राथमिकीकरण गरिएको छ ।


यो प्रस्तावित मस्यौदा नागरिकस्तरबाट स्वीकृत भएमा मात्र ‘खस जुम्ली भाषा लेखनशैली’का रुपमा पारित हुनेछ । भाषासम्बन्धी विज्ञहरुको अन्तर्रा्ष्ट्रिय संस्था (सिल)का भाषा विकास विज्ञ डा नेत्रमणि राई र भाषा सफ्टवेयर विज्ञ दिवाकरमान श्रेष्ठले लोलिबोलीमा खस भाषाको विशेषता बढी देखिएको भन्दै आफ्नो भाषिक सिद्धान्त प्रयोगमा ल्याउन अनुरोध गरेका थिए ।

 

२०७४ भदौ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्