Birendranagar Municipality

विद्यासुन्दरलाई धारे हात लाउनेले आफुले के गरे ?

दीपकसंगम थापा
विद्यासुन्दरलाई धारे हात लाउनेले आफुले के गरे ?

पछिल्लो समयमा काठमाण्डौ महानरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा केही गर्न सकेनन् भनेर सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा दर्ता गरिएका साना मिडियाहरुमा रोईलो मच्चाउनेदेखि बनावटी रुवाबासी गरिरहेका छन् । यस्तो रोईरो मच्चाएको देख्दा अन्य सचेत युवाहरुले अनौठो मान्ने नै भए । कुनै पनि काम गर्न पहिलो कुरा त योजना बनाउनुपर्छ । योजनालाई कार्यन्वयन गर्नु र सफल हुनु पछाडीको कुरा हो । तर जननिर्वाचित भएको सय दिनमै सयौ सफलता चाहनु र आशा गर्नु नजाएज नभएपनि त्यो अलि बढ्ता ‘कुथुर्की’ नृत्य नै हो ।


यहाँ मैले विद्यासुन्दरको पक्षमा बोलेको हैन तर नेपालको कार्यप्रणाली र विकास प्रणालीको कुरा एक पटक स्मरण गराउन मात्र चाहेको हो । विकास निर्माण प्रणालीमा नेपाली परिपाटी नै ढिलासुस्ती छ । विद्यासुन्दर को हुन र ? एकाएक चमत्कार देखाईदिने ? उनले १०० दिनमा चाहदैनमा केही परिवर्तन हुने होईन । कुनै व्यक्ति आउँदैमा एकछिनमा परिवर्तन हुने होईन । नेपालको विकासे प्रणाली कस्तो छ भन्ने त सबैलाई थाहा होला । वर्षभरी कानमा कपास राखेर असारको महिना धमाधम योजना र रकम बाँड्ने गरेको होईन र ? यसो भन्दै गर्दा वर्षदिनै कुर्नु पर्छ भन्ने चाही होईन । तर हरेक क्षेत्रको विकास गर्दा केही समय भने अवश्य लाग्छ र धेर्य पनि गर्नुपर्दछ ।


विकास निर्माण गर्नु भनेको भात कपाकप खाए जस्तो होईन । त्यसैले १०० दिनमै सयौ कामको आशा गर्नु बालुवामा विरुवा चाहियो भनेजस्तै हो । धुलो, धुवाँ, सडक खाल्डाखुल्डी, खानेपानी विस्तार, फोहोर व्यवस्थापन, विजुली, ट्राफिक समस्या यीनै होईनन् काठमाण्डौका समस्या ? यी समस्याहरु एकैदिन समाधान हुने विषय होईनन् । एउटै उदाहरण मात्र लिन सकिन्छ, काठमाण्डौमा खानेपानीको समस्या छ, तर के अहिले विद्यासुन्दरले भन्दैमा मेलम्चीको पानी आउँछ ? मेयरले त पहल कदमी चाल्ने हो, सरकारसँग समन्वय गरेर जतिसक्दो छिटो पानी ल्याउन सघाउने हो । काठमाण्डौ महानगरपालिकाले आफ्नो क्रमागत योजनामा पनि राख्ला । कतिपय दलका मझौला खालका नेताहरु र केही व्यक्तिहरुले आज सडक निर्माण सम्पन्न गर्नुपर्ने, भोली खानेपानी आउनुपर्ने, पर्सी ग्यासको पाईप जोडिदिनुपर्ने, अर्को दिन धुलो र धुवा हटाईदिनुपर्ने जस्ता मागको लिस्ट दिएको जस्तो भयो । अपेक्षा पनि त्यस्तै गरेको पाईयो ।


प्रत्येक दिन नयाँ नयाँ विकासे काम कही कतै सम्पन्न हुँन सक्दैन । अहिले काठमाण्डौका केही भागमा सडकमा खाल्डाखुल्डी छन तर ती अहिले विद्यासुन्दरले चाहेर भोलीपल्ट कालोपत्रे गर्न सक्दैनन् । दुई चार दिन अवश्य कुर्नु पर्दछ । उनको ठाउँमा अरु कोहि आएको भए पनि सक्ने होईनन् । किनभने अहिले मेलम्ची पिउनेपानी आयोजनाले पाईपलाईन विस्तार गर्नुपर्ने भएकोले खाल्डाखुल्डी हुन पुगेको हो । एकातिर सडक विस्तार गर्ने अर्को तिर सडक खन्ने हुन सक्दैन । धुलो र धुवा हुनुको कारण पनि पाईपलाईन विस्तारले गर्दा हो । पाईपलाईन विस्तारपछि सडकको कालोपत्र काम सम्पन्न होला । थानकोटदेखि कलंकी र चक्रपथका क्षेत्रमा सडक चौडा पार्ने काम भएको छ । धुलो आयो भन्दैमा कामलाई रोक्ने त भएन नी । टेलिकम, खानेपानी, विद्युत लगायतको लाईनविस्तार लगायतका कामले अलिकति ढिलो हुन पुगेको हो जस्तो लाग्छ । पुरानो संरचनालाई नयाँ संरचनामा ल्याउन केही समय त लागिहाल्छ ।


अर्को कुरा कोही व्यक्ति विशेषले आजको आजै भन्दैमा एकैदिनमा पुरा हुने कुरा पनि होइनन् यी । के सय दिनमा सय काम देखाउन सम्भव छ ? विद्यासुन्दरलाई सय कामको प्रगति माग्नेहरुले चाँही के के काम गरेर देखाए ? लौ एउटा काम भनौ त ? भन्न सजिलो छ तर गर्न गाह्रो छ । काठमाण्डौ नगरपालिकाको सबै काम महानगरले मात्र सम्भव छैन । सरकार, महानगरबासी, दातृ निकाय, प्रहरी प्रशासन, आम नागरिक सबै लाग्नु पर्दछ । काठमाण्डौलाई भोलीका भोली झर्लङ्ग विकास गरेर देखाउन सम्भव छैन । महानगरमा परिवर्तन हुन्छ तर केही समय भने कुर्नै पर्दछ । भोलीका भोली परिवर्तन त विद्यासुन्दर होईन कोही प्रधानमन्त्री, राष्ट्रपति कसैले सक्दैनन् ।

 

काठमाण्डौको समस्या भन्दा देशको समस्या एक पटक फर्केर हेरौ त ? आज विकास निर्माणमा लाग्ने हजारौ युवाहरु विदेशी भुमीमा जान बाध्य छन । दैनिक भ्रष्टाचार गरेका समाचार आएका आयै छन । संविधान कार्यान्वयनको मुद्धा, कर्णाली विकासका मुद्धा, हुम्ली र जुम्लीहरुले नुन र औषधि समयमै खान पाएका छैनन् । बेरोजगार समस्या बढेको बढ्यै छ । महंगी बढीरहेको छ । नेताहरु सत्ता, सम्पत्ति र शक्तिको पछि दौडिरहेका छन । मेनपावर कम्पनीहरुले विदेशीले युवाहरुलाई ठगीरहेको समाचार आएका आयै छन । नीतिगत रुपमा भ्रष्टाचार मौलाईरहेको छ । आज कर्णालीका महिलाहरु सुरक्षित सुत्केरी हुन नपाएर अकालमै ज्यान गुमाउनु परेको छ । हजारांै बालबालिकाहरु कुपोषित भईरहेका छन । तराई डुबान भईरहेको छ । अर्बौका सुनका थैलाहरु फेला परिरहेका छन् । आज लाखौ नागरिकहरुले सर्वसुलभ स्वास्थ्य उपचार पाउँन सकेका छैनन् । सांसदहरु र भिआईपीहरुले आफ्नो विलासीताका लागि सेवा सुविधा र तलव बढाईरहेका छन् । खै यस्ता कुरामा आवाज उठाएको ?


आज हरेक क्षेत्रमा घुसखोरी मात्रै मौलाएको छ । गरिब र दलितहरुलाई अँझै पनि छुवाछुतको व्यवहार गरिन्छ । खै यस्ता विषयमा बोलेको ? वकालत गर्यौ ? अनि किन विद्यासुन्दरलाई मात्र ताक्ने ? समस्या काठमाण्डौ मात्र होईन नेपालको विकासे प्रणाली, गलत कर्मचारीतन्त्र, योजनाको असमान वितरण प्रणालीमा छ । काठमाण्डौ देशकै मुटु हो, राजधानी हो, यहाँ कम आय आर्जन गर्ने मान्छे बस्न सक्दैनन् । यस्तो महत्वपूर्ण ठाउँमा बस्नु त भाग्यमानी हो । काठमाण्डौबासीले त आफुलाई भाग्यमानी ठान्नु पर्दछ । एक पटक हुम्ला, डोल्पा, जुम्ला, दार्चुला, रोल्पा, रुकुमतिर या जलमग्न तराई फर्केर हेरौ त ? कस्तो कष्ठकर जीवन विताईरहेका छन त्यहाँका जनताहरुले ? कति पीडामय जीवन विताएका छन ? खाली काठमाण्डौ, काठमाण्डौ मात्रै भनेर हुन्छ ? देशका अन्य ठाउँमा विजुली, खानेपानी, स्वास्थ्य उपचार, सडक, भौतिक संरचना, विकास, रोजगारी चाहिन्न ? देशका नागरिकहरुले मिति नाघेको औषधि खानु परिरहेको छ, सिटामोल खान पाएका छैनन् । कसैलाई भने यति दिन भित्र 'स्मार्ट सिटी' चाहियो भनेर हुन्छ ? काठमाण्डौमा मात्र स्मार्ट सिटी बनाएर पुग्छ ? दुर्गम जिल्लाहरुमा सडक सञ्जालले समेत जोडिएको छैन । खाली काठमाण्डौलाई मात्र हेर्नु राम्रो होईन । तर देश विकास सँगसँगै काठमाण्डौलाई पनि बनाउँनै पर्दछ ।

 

देश विकास कसरी गर्ने भन्ने बारेमा नेपालका अन्य युवाहरुलाई पनि राम्ररी थाहा छ । मात्र अवसरको खाँचो छ । समस्या काठमाण्डौको मात्र होईन देशको छ । लौ भन्नुहोस प्रधानमन्त्रीले के नयाँ काम गरे त ? देश लुटिरहेका ६०१ सभाषदहरु, वर्षवर्ष फेरीने सरकारले त भुकम्प गएको दुई वर्षसम्म भुकम्प पिडितलाई केही दिन सकीरहेका छनैनन् । वर्तमान यत्रो जम्बो मन्त्री मन्डलले तराईका बाढीपिडितलाई उचित राहत दिन सकेको छैन भने एउटा मेयरबाट सयौ उपलव्धी खोज्नु कहाँ सम्मको महत्वाकांक्षा हो ? आशा गर्नु, महत्वकांक्षा राख्नु राम्रो पक्ष हो तर गर्नै सकेन, गरेन भनेर अनाहकमै फतफताउनु चिसो पानीमा भात पकाएन भन्नु जस्तै हो । गर्नै सकेन भनेर एकतर्फ आरोपका शब्दहरुले लेखेट्नु आफैलाई पनि न्याय होईन ।


खै हामीले विद्यासुन्दरलाई योजना निर्माणमा, काममा सघाएको ? खै सल्लाह सुझाव दिएको ? खै हातमा हात, काँधमा काँध मिलाएको ? महानगर बनाउने जिम्मा के महानगरपालिका कार्यालय वा विद्यासुन्दरको मात्र हो ? अरुको भूमिका केही रहन्न ? एक छाक खानको जोहो गर्न त धेरै चिज चाहिन्छ भने लाखौ जनसंख्या बस्ने महानगर बनाउन चानचुने काम हैन । हामीलाई थाहा छ अहिले कानून, नीति निर्देशनहरु कार्यान्वयनको चरणमा छन् । स्थानीय स्तरलाई प्रत्यायोजन गरिने केही ऐन कानूनहरु बनेका छैनन्, आएका छैनन । यस्तो अवस्थामा धेरै आशा राखियो जस्तो लाग्छ । तर आशा गरौ एकदिन अवश्य महानगर हराभरा, विद्यासुन्दर जस्तै सुन्दर शहर अवश्य हुने छ । सय दिनमै सय फलको खोजी गर्नु कहाँ सम्मको जिम्मेवारी हो ? सोचौ एक पटक । धेरैलाई थाहा छैन की काम गरेर देखाउने मान्छे मौन हुन्छ । चुपचाप गरिरहन्छ तर प्रतिफल ढिलो देखिन्छ ।

 

हो विद्यासुन्दरले एउटा काम गरेका छैनन, त्यो हो मिडियाबाजी । उनले कोही कतै मिडियालाई बोलाएर, पत्रकार सम्मेलन गरेर यसो गर्छु, यस्तो देखाउनेछु, यो जोजना छ, यस्तो बनाईने छ, सबै सपना पुरा गर्छु भन्दै हिडेका छैनन् । अहिले उनी चुपचाप काम गरिरहेका छन् । काठमाण्डौका लाखौ घरधनीबाट घरबहाल कर उठाउनु, फोहोर व्यवस्थापन गर्नु, २४ सै घण्टा जाग्राम बस्नु चानचुने काम हैन । एक दिन विद्यासुन्दरले काठमाण्डौबासीलाई मेलम्चीको पानी खुवाउने नै छन् । उनकै कार्यकालमा काठमाण्डौमा मेट्रो रेल गुड्ने छ । उनकै कार्यकालमा काठमाण्डौका सडक फराकिला हुँदैछन् । अत्याधुनिक सवारीसाधन गुड्नेछन् । आकाशे भव्य पुलको निर्माण हुँदैछन् । ट्राफिक चिन्हहरु व्यवस्थित हुँदैछन् । विद्यासुन्दरको कार्यकाल पाँच वर्षको हो तर विकासका लागि पाँच वर्ष नै नकुरेपनि एक दुई वर्ष त पर्खिन सक्नु प¥यो नि । दुई तिन वर्षमा परिवर्तन र विकास गर्न नसके त्यतिखेर नै काम गर्न सकेनन भनौला । आलोचना गरौंला । विद्यासुन्दरको काम खोज्नेले अरु मेयरको खोज्नुपर्दैन ? काठमाण्डौसँग जोडिएको ललितपुर मेयरको खै ? भक्तपुर मेयरको खै ? अन्य जिल्लाका मेयरको खै त खोजेको ?


काठमाण्डौको छिटै परिवर्तन खोज्नेले घरबहाल कर बुझाउनु भो ? सार्वजनिक सवारीमा चढ्नुहुन्छ ? प्रत्येक हप्ता बाग्मति सफाईमा लाग्नुहुन्छ ? प्रत्येक हप्ता महानगर सफाईमा लाग्नुहुन्छ ? चुनावताका भित्ते वाल सफा नगर्नेले छिटै परिवर्तन खोज्नु कहाँ सम्मको गैरजिम्मेवार हो ? मलाई याद छ कुनै समय विद्युतमा चमात्कारि देखाए भनेर कुलमानको ठुलै गुनगान गाए । भारतबाट सयौ मेगावट विद्युत खरिद नगरेको भए के नेपालमा लोडसेडिङ अन्त्य सम्भव छ ? के भारतको विजुली कटौती गरे तत्काल नेपालको लोडसेडिङ अन्त्य हुन्छ ? एक पटक सोचौ त ? के कुलमानले कुनै ठाउँमा विद्युत उत्पादन गरेर लोडसेडिङ अन्त्य गरेका थिए ? अवश्य होईन । कर्मचारीतन्त्र, मन्त्रालय, सरकार, भारतसँगको थप विद्युत विस्तार लगायतको संयोगले नै होईनर कुलमान चर्चामा आएको ?


कुनै ठाउँमा कुनै व्यक्तिले गर्ने नगर्ने भन्दा पनि नेपालको विकासे सिस्टम गलत छ । यसलाई जरैदेखि सुधार गर्न जरुरी छ । यदि व्यक्ति विशेषले मात्र हुने भए त अब सबै कार्यालय कार्यालयमा कुलमान चाहिने भयो । कहाँबाट ल्याउनु सबै कार्यालयमा कुलमान ? त्यसैले हामीले व्यक्तिलाई होईन सिस्टमलाई रोजौ, सिस्टम निर्माण गरौ । सिस्टम बसालौ । सिस्टमलाई सही रुपमा कार्यान्वयन गरौं । तब मात्र काठमाण्डौ महानगर सुन्दर हुन्छ । काठमाण्डौ मात्र होईन नेपाल नै सुन्दर र समृद्ध हुन्छ । कि कसो ?

२०७४ भदौ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्