गोविन्द कोइराला (द्वन्द्व र शान्ति अध्येता)
संघीय शासन प्रणाली अपनाउने देशहरु संसारमा नेपालसहित २९ वटा छन् । चेकोस्लाभाकिया, सोस्लिष्ट रिपब्लिक अफ यूगोस्लाभिया, क्यामरुन र यूगाण्डा भने संघीयताबाट पालैपालो फर्किसकेका छन् । यूगोस्लाभिया त संसारको मानचित्रबाटै गायब भइसकेको छ । संघीय राज्यलाई बुझाउन अष्ट्रेलिया, ब्राजिल, इथियोपिया, भारत, मलेसिया, मेक्सिको, नाइजेरिया, संयूक्त राज्य जस्ता देशहरुले राज्य शब्दको प्रयोग गर्दै आएका छन् ।
क्यानडा, पाकिस्तान लगायतका देशहरुमा प्रान्त भनिन्छ । अष्ट्रिया, जर्मनी देशहरुमा ल्याण्डर शब्दको प्रयोग गरिन्छ । त्यसैगरी स्वीट्जरल्याण्डमा क्याण्टोन र बेल्जियम, रुस जस्ता देशहरुमा क्षेत्र भनेर बुझ्ने गरिन्छ । नेपालमा प्रदेश शब्दको अभ्यास अगाडी बढाइइको छ । जनसंख्याको आधारमा सबैभन्दा राज्य सेन्ट किट्स एण्ड नेभिस हो, जहाँ केवल ४६ हजार जनसंख्या छ भने सबैभन्दा ठूलो संघीय राज्य भारत हो, जहाँ एक अर्ब भन्दा बढी जनसंख्या रहेको छ । राज्य वा प्रान्तका हिसाबले सबैभन्दा कम दूई वटा राज्य भएको सेन्ट किट्स एण्ड नेभिस हो भने सबैभन्दा धेरैै रुसमा ८९ वटा राज्य रहेका छन् ।
संघियता ल्याटिन शब्द Foedus बाट आएको हो । यसको अर्थ सन्धि वा सम्झौता (Treaty or Agreement) हो । संसारमा सर्वप्रथम संघियताको शुरुवात सन् १७८७ मा अमेरिकाबाट भएको हो । फिलाडेल्फिया सम्मेलनको रुपमा चिनिने ५५ जना प्रतिनिधि सहभागी भएको सो सम्मेलनले राज्यको स्वतन्त्र सत्ता र केन्द्रिय शासनका शक्तिहरुमा एकता स्थापित गर्ने बिषयमा बिचार बिमर्श गरेको थियो । संघीयताको शुरु गर्ने त्यस सम्मेलनमा १३ वटा उपनिबेशहरु सहभागी भएका थिए । हाल ५० वटा राज्य सम्मिलित बिशाल संयूक्त राज्य अमेरिका बनेको छ ।
प्रो. गार्नरका अनुसार –“संघात्मक सरकार एक त्यस्तो ब्यबस्था हो , जसमा सम्पूर्ण प्रशासकीय शक्ति एउटा केन्द्रिय सरकार र अन्य विभिन्न राज्य वा क्षेत्रीय उप विभागमा विभाजन गरिएको हुन्छ र जुन् मिलेर संघ बनेको छ ।” यसको मतलव दूई वा सो भन्दा बढी प्रदेशहरु मिलेर संघीय सरकार बन्दछ । यहाँ बढी भन्दा बढी अधिकार जनतामा वा तल्लो तहमा प्रवाह गर्न खोजिएको हुन्छ । संघीयताको मकसद भनेकै जनतालाई बलियो बनाउनु हो ।
बिषय उठानका लागि इतिहास र शैद्धान्तिक ब्याख्याको कुरा त गरियो । तर लेखनीको मनसाय भने संघीयताले हामीलाई साँच्चै बलियो पार्दछ त !?! भन्ने हो ।
अष्ट्रेलिया, ब्राजिल, क्यानडा, इथियोपिया, जर्मनी, भारत, मेक्सिको, नाइजेरिया, स्वीट्जरल्याण्ड, अर्जेन्टिना, अष्ट्रिया, बेल्जियम, बोस्निया एण्ड हर्जगोभिना, कोमरोस, मलेसिया, माइक्रोनेसिया, पाकिस्तान, रसिया, सेन्ट किट्स एण्ड नेभिस, दक्षिण अफ्रिका, स्पेन, संयूक्त अरब इमिरेट्स, भेनेजुयला, पपुवान्यूगिनि, वेलाउ, संयूक्त राज्य अमेरिका, सुडान, इराक र नेपाल संघीयता भएका मुलुक हुन् । तर हाम्रो छिमेकी देश चीनमा भने संघीयता छैन । तर चीन अहिले सर्वाधिक धनी देश बन्न पुगेको छ । इथियोपिया संघीयता भएरपनि सँधै गरिब नै रहेको छ । समृद्धी भन्ने कुरा सुशासनमा भर पर्दछ । सुशासन नियतसंग जोडिएको कुरा हो । संघियता आफैमा असल वा खराव कुरा होइन । यो शासन पद्धतीको कुरा मात्र हो । जापानले संघीयता खोजेन तर चरम बिकास गर्न सफल रहेको छ । स्वीजरल्याण्डले यही संघीयतालाई अद्धीतीय प्रयोग गर्दै ब्यापक बिकास गरेको छ । यहाँ नियतले बढी काम गरेको देखिन्छ ।
नेपाल अहिले बिकासको सपना बोक्दै संघीय शासन पद्धतीको पहिलो खुड्किलोको रुपमा स्थानीय तहको निर्वाचनमा जुट्दै छ । बिकास सुशासनसंग जोडिने र सुशासन नियतसंग जोडिने हुनाले यसको बिश्लेषण जरुरी छ । बि.सं. २०५५ सालको स्थानीय स्वायत्त शासन ऐन कार्यान्वयन हुन नपाएको देश भनेकै नेपाल हो । अहिलेपनि मधेशबादी दलहरु स्थानीय तहका अधिकार प्रदेशलाई दिइनुपर्ने जिकिर गरिरहेका छन् । यो स्वाभाविक रुपमा रहस्यमय छ, हिजो संघीयताको नारा लगाउने मधेशबादी दलहरु नै किन स्थानीय तहलाई अधिकार नदिने मनोविज्ञानमा देखिन्छन् । जबकी संघीयता भनेको Holding Together वा Coming Together का आधारमा भौगोलिक रुपमा प्रदेशहरु बिभाजन गर्नु नै होइन, यो त पहूंच र अधिकारलाई जनस्तरसम्म प्रवाह गर्नु हो । यसको मनसाय भनेको जनतालाई शक्ति सम्पन्न बनाउने हो । सिंहदरबारमा रहेको शक्तिलाई गाउं गाउंसम्म पुर् याउने लक्ष्य नै नेपालको संघीयताको मक्सद हो ।
देशलाई समुन्नत बनाउने भन्ने कुरा नेता अनि नागरिकको निष्ठामा भर पर्दछ । मलेशियाका महाथिर हुन् वा सिंगापूरका पार्क चुङ, भियतनामका होचि मिन्ह हुन् वा दक्षिण अफ्रिकाका नेल्सन मण्डेला, यीं सबैले संघियता भन्दापनि नियत सफा भएकाले, अर्थात देश र जनताप्रति जिम्बेवार भएकाले देशको बिकास गर्न सकेका हुन् ।
इस्लामिक राष्ट्र साउदी अरब देखि इरान, इराक सम्म हुन् वा यूरोपका ईसाई राष्ट्र, त्यस्तै बुद्धिस्ट राष्ट्र जापान, चीन, ताइवान अनि छिमेकी हिन्दु राष्ट्र भारतलेपनि तीब्र बिकास गरिरहेको छ । धर्म बाधक होइन रहेछ । पूंजिबादी देश अमेरिका होस् वा साम्यबादी देश चीन, दूबैले तीब्र आर्थिक तथा भौतिक बिकास गरिरहेका छन् । राजतन्त्र भएको बेलायत होस् कि जापानको बिकास उत्कर्षमा छ । संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारत महाशक्ति बन्ने जोडमा छ । आखिर शासन प्रणाली भन्दापनि नेताको निष्ठा र जवाफदेही संस्कारमा भर पर्दछ, समुन्नती । दूई हजार बर्ष पूरानो इतिहास बोकेको अफगानिस्तान लथालिंग भयो, बिस्तारै सम्हालिन खोज्दै छ । तर नेपालभन्दा कान्छो अमेरिकाले संसार हल्लाएको छ ।
सफा नियत सहितको सुशासन कायम गर्दा जहांपनि सफलता हात लाग्न सक्छ । तर जुन देशमा न्यायपालिकाले कार्यपालिकीय क्षेत्र हस्तक्षेप गर्न थाल्छ, अनि कार्यपालिकाले न्यायपालिकाको धज्जी उडाउन थाल्छ । अनि त्यहां कसरी सिस्टम बस्छ ?, कति सम्म जनताप्रति अनुत्तरदायि !?! सेनाको रिटायर्ड प्रमुखले राष्ट्रिय सुरक्षा नीति र गतिबिधिको आन्द्राभूँडी खोल्दै अटो बायोग्राफी छाप्दछ । प्रहरी प्रमुखहरु भष्टाचारमा मुछिन्छन्, शक्ति पृथकीकरण अन्तर्गत अख्तियारको दूरुपयोग नहोस् भनेर स्थापना गरिएको संबैधानिक निकाय अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख नै बदलाभावबाट ग्रसित र बदनियतपूर्ण ढंगबाट प्रस्तुत हुन्छन् । अनि कसरी देशको बिकास हुनसक्छ । सेवा प्रदायिनी संस्था कर्मचारी तन्त्रको ठूलो हिस्सा घुसखोरी र कागजी घोडा बनाउने काममा लिप्त छ । जनताको सेवा गर्न बसेको नोकशाही तन्त्र नै जनतालाई डांट्छ, काममा झुलाउंछ । अनि के गरेर हुन्छ देशको बिकास ?, नैतिकताको मूल्य मान्यता बुझाउने शैक्षिक संस्था ब्यापारिक प्रतिष्ठान जस्तो बन्दै गईरहेका छन् । राष्ट्र र जनताप्रतिको प्रेम, जिम्बेवारी, इमान्दारिता होइन पैशा कमाउने दाउ मात्र सिकाउने गन्तब्य जस्तो बनिरहेका छन् यिनि ।
जहां मेडिकल शिक्षालाई पारदर्शी, सर्वसाधारणको पहुंचयूक्त सर्वशुलभ र गुणस्तरीय बनाउने माग सहित एकजना डाक्टर गोविन्द के.सी.ले करिव एक दर्जन पटक अनशन बस्नु पर्दछ, सरकारले माग पूरा गर्ने लिखित संझौतापनि गर्दछ, अनि अनशनपछी संझौता उल्लंघन गर्दछ । सरकार नै जहां ईमान्दार छैन । जनताले कस्को भरोसा गर्ने ? अनि कसरी हुन्छ देशको बिकास ?, राजनीतिक दल र नेताका कुरा झन् बेग्लै छन् । सत्तारोहण गर्नको लागि चर्का नारा लगाउने तर, सत्तामा गएपछी सात पुस्तालाई पुग्ने सम्पत्ति कमाउने मनोबिज्ञान बोकेका नेताहरुको बर्चश्व यहां छ । मानौं पार्टीहरु दोकान हुन्, नेताहरु साहुजी । आआफ्नो ब्राण्डको शिद्धान्त नामक माल बेचेर यिनिहरु आआफ्नो सिजनमा पैशा कमाउने होडमा छन् । यिन्लाई आफ्नो देशको पक्ष लिनपनि लाज लाग्छ । पढाई लखाई भएका नेताको संख्यापनि धेरै छैन । अनि कसरी हुन्छ देशको बिकास ?
नागरिकमा बिकल्प धेरै छैनन् । हातमुख जोर्नैपर्ने समस्या छ । त्यसैले पापी पेटकालागि यूवाहरुको पसिना अरबको खाडीमा बगिरहेको छ । नेपाली माटोमा भने आफ्नै नेपालीहरुको रगत बगिरहेको छ । रगतले बिनास निम्त्याउंछ, पसिनाले बिकास । यही चालाले कसरी हुन्छ देशको बिकास ? आफ्नै चेली बम्बैमा बेचिन्छे, राष्ट्रको गौरव बढाउन गएको खेलाडी लाछी भएर बिदेशमै लुक्छ, कलाकार उतै हराउंछ । राम्रा, प्रतिभाशाली नेपालीको पसिना, सिप र मस्तिष्क बिदेशमा खपत भइरहेको छ । अनि कसरी माथी उठ्छ राष्ट्रिय स्वाभिमानको शीर ? जुन् देशमा बि.सं. २००७ सालदेखि अहिले सम्म कुनैपनि सरकारले पांच बर्षको पूरा अवधि काम गर्न पाएको छैन । संधै तरलताको बहावमा छ देश ।
त्यसैले समुन्नती भन्ने कुरा नियतसंग जोडिएको छ । पहिला नियत ठिक हुन जरुरी छ । त्यो सुशासन हो । सुशासन भित्र पारदर्शिता देखि आवधिक निर्वाचनपनि जोडिएका हुन्छन् । सिस्टम हामीले धेरै फेर्यौं । तर तात्विक बिकास त हुन सकेन । समस्या यहीं छ । हामी देश र जनताप्रति ईमान्दार बन्न सकेनौं । त्यसैले नियत सफा बनाउने अभियानमा जुटौं । देश १० बर्षमा कायापलट हुन्छ ।
प्रतिकृया दिनुहोस्