Birendranagar Municipality

२१ बर्षीय रञ्जुको महानगर हाँक्ने भिजन

अनुभवको आधारमा अड्काउने हो हरेक युवा अनुभव बटुल्दा बटुल्दै युवा अवस्था पार गर्छ । त्यसैले युवामा अनुभव खोज्नेभन्दा अवसर दिएर अनुभवी बनाउने हो । यसले नै भावी नेतृत्व निर्माण गर्न सक्छ ।
२१ बर्षीय रञ्जुको महानगर हाँक्ने भिजन

उमेरले भर्खरै २१ काटेकी रन्जु दर्शना आगामी स्थानीय निकायको निर्बाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उमेदवार बनेकी छिन् । बिबेकशील नेपाली दलको तर्फबाट दर्शना यही बैशाख ३१ गते हुने चुनाबमा पुराना दलका पाका नेतासंग प्रतिष्पर्धा गर्नेछन् । काठमाडौं चक्रपथ, महाराजगंज निवासी दर्शना हाल विकास अध्ययन बिषयमा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत छिन् । उनै दर्शनाको महानगर हाँक्ने भिजन बारे सन्तोष खनालले सेरोफेरो डट कमका लागि गरेको कुराकानीको सारसंक्षेप ।



कसरी राजनीतिमा छिर्नुभयो ?

पारिवारिक पृष्ठभूमि राजनीति नभएपनि मेरा दाईहरु राजनीतिक रुपले सचेत हुनुहुन्थ्यो । म उहाँहरुबाट राजनीतिक माहौलका कुराहरु सुन्थें । उहाँहरुले राजनीतिक कुसंस्कारहरुबारे कुरा गर्नुहुन्थ्यो । त्यस्ता कुराहरुले मन पिरल्थ्यो । नेपाल बन्द नभए हुन्थ्यो, स्कुल जान पाए नि हुन्थ्यो जस्तो लाग्थ्यो । राजनीतिक वितृष्णालाई आशामा बदल्न म राजनीतिमा समाधान बनेर आएकी छु ।

 

तपाईंको उम्मेदवारीलाई लिएर केहीले काँचो मान्छेले के गर्न सक्छ र भन्ने आरोप लगाउँछन् नि ?

यहाँ उमेर बारे चर्चा गरिरहनुपर्ने औचित्य म देख्दिन किनभने मैले कानुन मिचेर उम्मेदवारी दिएकी पनि होइन । सवैलाई स्मरण रहोस नेपालको संविधान र कानुन अनुसार नै २१ वर्ष भन्दा माथिकाले मेयर पदमा उम्मेदवारी दिन सक्छ । जब कानुनले मलाई स्वीकृत गरेको छ भने यस्ता प्रश्नहरु उठ्नु जरुरी छैन । आरोप किन लगाउँछ्न भन्दा हामी कुन राजनीतिक संस्कारवाट हुर्किरहेका छौं भन्ने बुझ्न जरुरी छ ।
हामी ५० वा ६० वर्षका मानिसहरुले मात्र राजनीति गर्नुपर्छ भन्ने मानसिकताबाट ग्रसित छौं । युवाले राजनीतिक सक्रियता देखाउनु भन्नु नै सडकमा ढुङ्गामुडा गर्नु, टायर बाल्नु भन्ने बुझिन्छ । तर, अब यी प्रश्नहरु बनाउन जरुरी छैन । त्यो परिवर्तन सम्भव छ । हामी त्यो परिवर्तन गर्न प्रतिबद्ध छौं । अर्को कुरा म पार्टीभित्रै प्रतिस्पर्धामा उत्रिएर सात जनालाई पछि पार्दै खुला उम्मेदवार नीतिबाट छानिएकी हुँ । अनुभवको आधारमा अड्काउने हो हरेक युवा अनुभव बटुल्दा बटुल्दै युवा अवस्था पार गर्छ । त्यसैले युवामा अनुभव खोज्नेभन्दा अवसर दिएर अनुभवी बनाउने हो । यसले नै भावी नेतृत्व निर्माण गर्न सक्छ ।

 

तपाई किन मेयरको उम्मेदवार ?

प्रधानमन्त्री पदको लागि अलि समय छ जस्तो लाग्छ त्यसैले मेयरको लागि उठें । म जुन शहरमा बसिरहेको छु त्यो शहर अस्तव्यस्त देखेर शहर बनाउने आँटसहित अघि सरेकी छु ।

 

जनताले तपाईंलाई भोट किन दिने ?

पहिलो कुरा त मेरो कार्यपत्र हेर्नुस् । आगामी १३ वर्ष भित्र काठमाडौंलाई संसारकै सबैभन्दा सुन्दर शहर बनाउने योजना छ । मसंग त्यसअनुसारको परिकल्पना र टिम छ । नेतृत्व गर्ने क्षमता मैले विभिन्न कार्यक्रम मार्फत् देखाईसकेको छु । मलाई धेरैले पत्याएका छन् । त्यसबाट पनि मलाई म सक्षम छु भन्ने लाग्छ ।

 

अरुले नगरेको के काम तपाईले गर्नुहुन्छ ?

धेरै काम छन् । अरुले केही गरेनन् त्यही भएर मैले गर्न जरुरी छ । अरुले जुन गतिमा विकास गर्नुपर्ने हो त्यसलाई आ–आफ्नो स्वार्थका लागि रोके । विकास त सही नेतृत्व सही ठाउँमा भए आफै हुँदै जाने हो । तर, हामीले त झनै त्यो गतिलाई पनि रोक्ने प्रयास ग¥यौं । अहिले जसरी विकास र राजनीति गुज्रीरहेको छ त्यसलाई सही बाटोमा ल्याउँछु ।

 

वर्तमान राजनीतिक परिवेशलाई कसरी हेर्नुभएको छ ?

राजनीति भनेको त नीतिहरुको राजा हो । यहाँ नीति पनि छैन । राम्रो गर्ने नियत पनि छैन । नेपालको राजनीति राजनीति जस्तै छैन । मलाई त हाम्रो राजनीति ‘लाजनीति’ जस्तो लाग्छ । हाम्रो राजनीतिको प्रमुख कुरामै गडबडी छ । जनता र राज्यबीच एउटा ठूलो खाडल छ । अहिलेको राजनीति पुरै कुसंस्कारमा लिप्त छ । यस्तो अवस्थामा आमनागरिक र नेताहरुको दुरी कम गर्दै राजनीतिलाई सुसंस्कृत बनाउन जरुरी छ । त्यसको अभियान अब विवेकशील तथा निष्ठावान युवाले थाल्नुपर्छ ।

 

घोषणापत्रमा के कुरालाई जोड दिनुभएको छ ?

हामीले केही महिना अघि काठमाडौंका दुई हजार जनामा एक सर्वेक्षण गरेका थियौं । जसमध्ये काठमाडौंका प्रमुख समस्या धुवाँधूलो, यातायात, महंगी र फोहर व्यवस्थापन हुन् । यिनै समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर उनीहरुकै भाषामा समाधान के–के हो भनेर सोधेका थियौं । हामीले त्यही समाधानलाई राजनीतिक तथा आमनागरिकले बुझ्ने गरी सहज भाषामा बुँदागत रुपमा टिप्पणी गरेका छौं ।

 

तपार्इं जित्छु भन्नेमा ढुक्क हुनुहुन्छ ?

म शतप्रतिशत विश्वस्त छु । इन्द्रचोकमा लस्सी खाएर बसिरहेकी थिएं । करीब ६० वर्षकी आमा आउनुभयो र मलाई एकोहोरो हेरिरहनुभयो अनि नजिक आई स्याबास् छोरी, विजयी भए भन्नुभयो । हामीलाई हजुरआमा पुस्ताको आशिर्वाद, आमा पुस्ताको सहयोग, अनि हाम्रो पुस्ताको उर्जा चाहिएको छ । धेरै हदसम्म पाएका पनि छौ ।

 

प्रतिकृया दिनुहोस्