११ पुस । सौराहाको वाघमारा चौरमा मंगलबारदेखि हात्ती महोत्सव सुरु भएको छ । १५ गतेसम्म चल्ने महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।
‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने १४ औं संस्करणको हात्ती महोत्सवको मूल उद्देश्य सौराहाको आन्तरिक तथा बाहृय पर्यटकलाई आर्क्षित र वृद्धि गर्ने रहेको बताइएको छ । महोत्सव हरेक वर्ष हुने गर्छ ।
गएको साउन २८ र २९ गते आएको बाढिले करोडौंको क्षति व्यहोरेको सौराहाले पर्यटकहरूलाई नवनिर्मित सौराहा देखाउने एक अवसर हात्ती महोत्सव भएको छ । महोत्सवमा हात्ती सफारी र हात्तीका गतिविधि हेर्न मानिसहरु आउने गर्दछन् ।
यस बर्ष महोत्सवमा हात्तीको वनभोज, फाष्टवाक, हात्तीका छावाहरूको फुटबल प्रतियोगिता महोत्सवको आर्कषण हुन् । त्यसैगरी हात्तीपोलो, हात्ती पेन्टिङ, वार्थिङ कार्यक्रमका साथै गाडा र टाँगा दौड प्रतियोगितालाई पनि समावेश गराइन्छ ।
हात्ती वनभोजमा १ सय हात्ती सहभागी गराइने छ । सौराहामा ५७ वटा निजी हात्ती छन् । जसमध्ये ७० प्रतिशत महोत्सवमा सहभागी हुनेछन् । साथै अन्य निकुञ्जका हात्तीहरु पनि सहभागी बनाइने छ ।
प्रतिकृया दिनुहोस्