Birendranagar Municipality

जेवी रोकाको अध्यक्षतामा करार प्राध्यापक संघ गठन

सेरोफेरो/सुर्खेत
जेवी रोकाको अध्यक्षतामा करार प्राध्यापक संघ गठन

१६ पुस । मध्यपश्चिमाञ्चल विश्वविद्यालय करार प्राध्यापक संघको पुनर्गठन भएको छ । संघको अध्यक्षमा जसविर (जेवी) रोका सर्वसम्मत चयन भएका छन् ।


विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आइतबार भएको भेलाले १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । संघको उपाध्यक्षमा कमलराज लम्साल, सचिवमा खगेन्द्रप्रसाद अधिकारी, कोषाध्यक्षमा ऋषिकेशर खनाल र सहसचिवमा मुकेश काफ्ले रहेका छन् । यसैगरी सदस्यहरुमा कमलकुमार सिंह, खुमबहादुर खड्का, प्रेमकुमारी ढकाल, दिनेश कंडेल, कृतिनाथ जोशी, धनुषचन्द्र पाठक, चक्रप्रसाद गौतम, छविता शर्मा, दिलिप सिंह र उज्वल अधिकारी रहेका छन् ।


करार प्राध्यापक संघका निवर्तमान अध्यक्ष डिबी गुरुङले नवनिर्वाचित अध्यक्ष रोकालाई सफलतापूर्वक जिम्मेवारी बहन गर्न शुभकामना दिए । उनले विश्वविद्यालयमा लामो समयदेखि कार्यरत करार शिक्षकहरुलाई सेवा आयोगमार्फत स्थायी गर्ने सन्दर्भमा आफूहरुले पेशागत हक हितका लागि लडेको बताए ।

 

गुरुङले भने, 'पेशागत हक हितको कुरा उठाउँदा हामीले आन्दोलन नै गर्नुपर्‍यो । जसमा करार, आँशिक शिक्षक तथा कर्मचारीको सहयोग थियो । अब हामी सेवा आयोगमार्फत् स्थायी भैसकेकाले संघको पुनर्गठन गर्नुपरेको हो ।' विश्वविद्यालयले शिक्षक कर्मचारी स्थायी गर्ने प्रकृया अघि बढाएकोमा सेवा आयोग र पदाधिकारीहरुलाई उनले धन्यबाद दिए ।


विश्वविद्यालयमा रहेका विभिन्न पेशागत संघ संगठनका प्रमुख एवं प्रतिनिधिले भेलामा सम्बोधन गरेका थिए । विश्वविद्यालय स्थापनाकालदेखि योगदान दिएका शिक्षकहरुलाई विश्वविद्यालयले अविलम्ब स्थायी गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा उनीहरुले जोड दिए ।


नवनिर्वाचित अध्यक्ष रोकाले विश्वविद्यालय पदाधिकारी र पेशागत संघ संठगनबीच भएका सहमति र सम्झौताको पूर्ण पालना हुनुपर्ने औंल्याए । उनले भने, 'शिक्षक कर्मचारी सम्बन्धमा विश्वविद्यालय सभाले पारित गरेको कुरा अविलम्व पालना गरिनुपर्छ । हामी चाहन्छौं करार संघको आयु छोटो होस् । नियम कानुनले समेटेका सबै शिक्षक कर्मचारीलाई अविलम्ब स्थायी प्रकृयामा लैजान पदाधिकारीले पहल गर्नुपर्छ ।'

 
करार संघ दबाव समूहको रुपमा रहेकोले विभिन्न सरोकारवाला निकायसंग छलफल र समन्वय गरी अघि बढिने पनि उनले बताए । 'हामी रचनात्मक र तार्किक आन्दोलन गर्छौं । ताला लगाएर वा पठनपाठन ठप्प पारेर भन्दापनि संवाद र सहकार्यबाटै अघि बढ्छौं, उनले भने  'यसमा सबैको सकारात्मक सहयोग हुनेछ ।'


कार्यक्रममा निवर्तमान सचिव विष्णुकुमार खड्काले नवनिर्वाचित सचिवलाई माइन्युट हस्तान्तरण गरेका थिए ।


नयाँ कार्यसमितिको बैठक सोमबार दिनको १ बजे डाकिएको छ । नयाँ कार्यसमितिले नयाँ बर्षसंगै नयाँ जोश र उत्साहका साथ काम गर्ने उपाध्यक्ष लम्सालले बताए ।

 

२०७४ पुस १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्