Birendranagar Municipality

अब समृद्धिको गीत लेख्ने हो समृद्धिकै संगीत भर्ने हो

नरेश भण्डारी (६ नं. प्रदेश सभा सदस्य)
अब समृद्धिको गीत लेख्ने हो समृद्धिकै संगीत भर्ने हो

२००७ सालमा नेपालमा आएको प्रजातन्त्रबारे एक वर्षसम्म कर्णालीवासी वेखबर रहे । राज्यबाट जनता कतिसम्म टाढा थिए भन्ने यो जिवन्त उदाहरण हो ।

 

संचारमा आएको अभुतपूर्व क्रान्तीले जनता र राज्यबीचको दुरीलाई हदैसम्म छोट्याइदियो । अब आउने पुस्ताले यस्ता खबर सुनिरहन पर्नेछैन । मुलुक २००७ अथवा २०४६ को जस्तो राजनीतिक, आर्थिक र सामाजिक धरातलमा छैन । ‘सूचना पुग्न एक वर्ष लाग्यो रे’, भनिएको ६७ वर्ष पछि यो मुलुकमा फेरिएको राजनीतिक धरातलमाथि उभिएर हेर्ने हो भने म, ६ नम्बर प्रदेशमा जति विकासमा लोभलाग्दा सम्भावना अन्य कुनै प्रदेशमा देख्दिनँ ।

 

वि.सं. २०६४ मा संघीयता सम्बन्धी अध्ययन गर्न हाम्रो एक टोली स्वीट्जरल्याण्ड पुगेका थियो । संघीयता सम्वन्धी अध्ययन गर्नेका लागि स्वीट्जरल्याण्ड जिवीत प्रयोगशाला हो । सानो अनी हिमाल र पहाडले घेरिएको भूपरिवेष्टित यो मुलुकको प्रायः सबै भूभाग र हावापानी हाम्रो नेपालको ६ नम्बर प्रदेशसँग मेल खान्छ। मैले विकासमा जति नमुना यो मुलुकबाट देखेर आएँ त्यो भन्दा बढी अवसर ६ नम्बर प्रदेशमा देखिरहेको छु ।

 

इतिहास सबै मुलुकको क्रुर हुन्छ । स्वीटजरल्यान्डको पनि बिपन्न इतिहास छ । हामीलाई स्वीस संघीयताको मोडल देखाउँदै हिँडेका डा. गुन्थरले अलिकति स्वीटजरल्याण्डको इतिहास बताएका थिए । ‘हाम्रो गन्ती १ सय ५० वर्षअघि गरिब देशमा रुपमा थियो । हामीलाई अन्य मुलुकले गरिब भने त्यसैलाई विश्वास गर्‍यौ ।’ अहिले स्वीटजरल्याण्ड संसारकै नमूना राज्यका रुपमा चिनिन्छ ।

 

डा. गुन्थरको सन्देश थियो –’संघीयताको मोडलमा ‘ब्रेक थ्रू’ गरेको नेपालमा अब सम्भावनाका ढोका खोलिएका छन् । अब के गरेर देखाउने जिम्मा प्रदेशको हो । यो चुनौती कम र अवसर ज्यादाको ‘मोडल’ हो ।’ डा गुन्थरको यती भनाइ मात्र सम्झ्यो भने मलाई ऊर्जा मिल्छ ।

 

हामीलाई आफ्नै राज्यले निधारमा दशकौंदेखि ‘गरिब र पिछडिएको’ भनेर टिका लगाइदियो । हामीले राज्यको त्यही उपमालाई ढुंगाको अक्षर ठान्यौं । ‘हामी भीत्रै सम्भावना छन्’ भन्ने कुराको खोजी हामी आफैंले कहिल्यै गर्न सकेनौं । त्यसैले हामीलाई कमजोर पार्‍यो । त्यसैले हामी पछि पर्‍यौं ।

 

अब हामी केन्द्रमाथि निर्भर रहने राज्यप्रणालीमा छैनौं । गणतन्त्रको संस्थागत र संघीयताको नयाँ मोडलले देश विकासमा नयाँ ढोका खोलेको छ । सामाजिक क्रान्ती, सञ्चार जगतमा भएको विकास र राजनीतिक क्रान्तिले हाम्रा अगाडि अवसरका प्रशस्त ढोका खोलिदिएको छ । अब राज्यलाई हामीले गाउँगाउँमा लैजाने अवसर पाएका छौं । जुन दिन राज्य समान रूपमा गाउँ पुग्न थाल्छ त्यही दिनबाटै विकासको बिजारोपण हुने हो । हामी अब त्यो चरणमा पुग्दैछौँ ।

 

प्रदेश विभाजनपछि हामीले प्रदेश विकासमा देखिने चुनौतीबारे चरणबद्ध बहश गर्‍यौं । ती बहशहरुले निकालेका सबैभन्दा ठूला चुनौती प्रदेश भित्रको सन्तुलित विकास, सामाजिक सुरक्षा, सुलभ स्वास्थ्य र सहज अनि गुणस्तरीय शिक्षा थिए । यी सबै समस्या अथवा चुनौती हाम्रो केन्द्रीय राज्य प्रणालीसँग जोडिएका थिए ।

 

रूकुम, जाजरकोट, मुगु, हुम्ला, जुम्ला डोल्पाबाट केन्द्र टाढा थियो । शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकताका लागिसमेत हामीले केन्द्रमाथि निर्भर हुनुपर्थो । यस्ता अति सामान्य कुरा स्थापित गर्नसमेत केन्द्रले भूमिका खेल्ने गरेको थियो । त्यसैले हामीले यी चुनौतीलाई अहिलेसम्म ‘बाघ’ देख्यौँ । प्रादेशिक राज्यको ’ब्रेक थ्रू’ पछि अब यी कुनै पनि चुनौतीलाई म समस्या ठान्दिनँ ।

 

हामीले एक दशकपछि ६ नम्बर प्रदेशको सम्बृद्धि हेर्न बोलाउनुपर्ने खाका कोर्न कुनै कठिनाइ देख्दिनँ । प्रदेशलाई चिर्दै बगेका नदीमा ३२ हजार मेघावाटभन्दा बढी ऊर्जा बगेर खेर गइरहेको छ । यो ऊर्जालाई ६ नम्बर प्रदेशका सबै गाउँमा पुर्‍याउन सकियो भने अध्यारोलाई गाउँबाट बिदा गर्न सकिन्छ ।

 

बचेको ऊर्जालाई निर्यात गरी प्रदेशको मुख्य आर्थिक स्रोत बनाउन सकिन्छ । अन्य प्रदेश भन्दा ६ नम्बर प्रदेश ठूलो छ । नेपालको कुल प्रति जमिन ९२ हजार वर्ग किलोमिटरको करिब ५४ प्रतिशत भूभाग हाम्रै प्रदेशमा छ । यसले नयाँ कलकारखानाको सम्भावनालाई ऊर्जा मिल्छ ।

 

हाम्रो हिमाली भूभागमा ‘सुन उम्रन्छ’ । सुनभन्दा महंगो कच्चा जडीबुटीलाई हामीले कैयौं गुणा सस्तो मूल्यमा निर्यात गरिरहेका छौं । नदीबाट ऊर्जा निकाल्ने हो र कच्ची जडीबुटीलाई प्रशोधन गर्ने कलकारखानाहरू ६ नम्बर प्रदेशमै स्थापना गर्ने हो भने समग्र हामीले चाहेको आर्थिक क्रान्ती एक दशकभित्रै सम्पन्न हुन्छ ।

 

आर्थिक सम्बृद्धिको बलियो सम्भावना बोकेको ६ नम्बर प्रदेशको विकासको मोडेल कस्तो बनाउने अब हाम्रो हातमा छ । हाम्रो प्रदेशलाई सधै प्रयोगशाला बनाइरहने छुट अब छैन । रचनाकारलाई दुःखको गीत लेख्न आमन्त्रीत गर्‍यौं भने त्यो गीतमा संगीत पनि दुःखकै बज्ने हो । अब हामीलाइ दु:खका गीतहरुको रचना गर्ने र संगीत भर्ने छुट छैन । अब सबृद्धिको गीत बनाउने हो र संबृद्धिकै संगीत भर्ने हो ।

 

(सेतोपाटीबाट)

२०७४ पुस २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्