नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवद्वारा २०७४ पुस २० गते लिखित कृष्ण पहाडीको चित्कार शिर्षकमा “बम पहाडीको ओछ्यानमुनी नै पड्काउने दिन नआउला भन्न सकिदैन” भन्ने धारणासहित म प्रति केन्द्रित ४ पृष्ठ लामो लेख र घृणा र विखण्डनको अभियानकर्ता डा. सि के राउतले मेरा बारेमा पुस २१ गते सामाजिक सञ्जालमा ओकलेको विषप्रति मेरो ध्यानाकर्षण भएको छ ।
त्यसो त २ वर्ष अगाडि तराईको सशस्त्र समुहका मुखिया जयकृष्ण गोइतको म प्रति लक्षित आक्रोश सार्वजनिक भएकै हो । उहाँहरुको विचार आफ्नो ठाँउमा छ, तर सबैलाई म प्रष्ट पार्न चाहन्छु भय भन्ने शब्द मेरो जीवनको शब्दकोषमा छैन् ।
मेरो भौतिक उपस्थिति र विचारको समुपस्थिति रहेसम्म हिंसाको माध्यमबाट एक दलिय कम्युनिष्ट शासन स्थापना हुन नसक्ने निचोडले विप्लव र घृणाको खेती गर्दै विखण्डनको अभिष्ट पुरा हुन नसक्ने निचोडले राउत आक्रान्त भएको देखिन्छ ।
म विनम्रताका साथ विप्लवलाई स्मरण गराउँछु, मेरो एउटा लेख वा विचारले तपाई यति आक्रोशित हुनुभएको छ भने तपाईहरुले पड्काउनुभएको बम र हिंस्रक गतिविधिले कति नागरिकको मन हाहाकार गरेको छ, कति बा आमाहरु रुनु भएको छ, कृपया तिनीहरुको चित्कार सुन्नुहोस ।
आफ्नो अन्तरआत्मालाई घचघच्याउनुहोस । तपाईहरुको उर्जाको यो देशलाई खाँचो छ । आग्रह यति मात्र हो, हिंसाको मार्ग त्याग गर्नुहोस । तपाईहरुले थालेको हिंसा वैदेशिक हस्तक्षेप र विखण्डन चाहनेहरुलाई लिस्नो त बन्ने होइन ? पुनरावलोकन गर्नुहोस ।
म कसैलाई पनि शत्रु ठान्दिन । डा. सी के राउतलाई पनि मेरो विनम्र आग्रह छ, सद्भावलाई आफ्नो उर्जाको आधार बनाउनुहोस । घृणा र विखण्डनको मार्ग त्याग गर्नुहोस । तपाईले अवलम्बन गरेको घृणा र विखण्डनको मार्गले मधेशको उत्थान र प्रगतिलाई नै क्षति पुर्याइरहेको त छैन? पुनरावलोकन गर्नुहोस ।
इतिहासको कालखण्डमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ नागरिक स्तरबाट आन्दोलनको नेतृत्व गर्ने अवसर मैले पाए । मेरो उपस्थिति पूर्व राजा ज्ञानेन्द्र र राजतन्त्रको पूर्नस्थापना चाहनेहरुलाई जहिले पनि खड्किने रहेछ भन्ने तथ्य एक दशक अगाडि मेरो निवासमा बम राखिएको घटना र आरोपको खेतिले स्पष्ट गर्छ ।
लामो समयदेखी विरामी मेरी आमा विछ्याउनामा थला परेको बेला केही साता अगाडी मेरो निधन भएको अफवाह मेरो तस्वीरसहित केही अनलाइन सञ्चारमाध्यममा कुद्यो भने मेरो मृत्युको समाचार सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती बनाउने कोशिस गरियो ।
कतिपयले म प्रति श्रद्धाञ्जली समेत अर्पण गर्न र मेरो कामको लेखाजोखा गर्न समेत भ्याए । म माथि प्रहार गर्ने क्रममा मेरा सात पुस्तालाई गाली गर्ने र ८० वर्ष नाघेका मेरा परिवारका सदस्यलाई सामाजिक सञ्जालमा निसाना साध्नेहरुको मानसिकताप्रति मलाई दया लागेर आउँछ ।
भविष्यमा विप्लवले मेरो ओछ्यानमुनी बम पड्काउने र घृणा र विखण्डनका अभियानकर्ताले मेरो छातीमा बन्दुक तेस्र्याउने दिन आएछ भने पनि घृणा विखण्डनलाई मलजल गर्ने मानव अधिकार संस्था वा व्यक्तिहरुबाट कुनै पनि सहानुभुति म स्विकार गर्दिन । राष्ट्रिय स्वाभिमान, अहिंसा, सद्भाव, शान्ति, लोकतन्त्र, मानव अधिकारका पक्षमा मेरो विचार निरन्तर प्रवाहित भइरहने छ ।
प्रतिकृया दिनुहोस्