२३ पुस । रुकुम जिल्लामा अवैधानिक रुपमा प्राविधिक शिक्षा सञ्चालन हुँदा विद्यार्थी मर्कामा परेका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)बाट बढिमा ३ महिना सम्मको प्राविधिक तालिम सञ्चालन गर्ने अनुमति ल्याएर १८ महिने कोर्ष सञ्चालन गरेको खुल्न आएपछि विद्यार्थी अलमलमा परेका छन् ।
रुकुम (पश्चिम) को मुसिकोट नपा –५ सेरीगाउँमा रहेको वेस्टर्न टेक्निकल कलेज, मुसिकोट नपा –५, बागबजारमा रहेका सारांशी टेक्निकल कलेज, मुसिकोट नपा –१ मा रहेको स्यार्पू पोलिटेक्निकल र मुसिकोट नपा –१ मा रहेको रुकुम मल्टिटेन्किल कजेलले अनुमति बिना कक्षा सञ्चालन गर्दा करिब आठसय विद्यार्थी मर्कामा परेका हुन् ।
आफूहरुलाई सुरुमा १८ महिने कोर्स पढाउने भनेर सिटीईभिटीको मान्यता प्राप्त गरेको भनेर अहिले पूरा समय नपढाएर बीचमै कक्षा सकाएको विद्यार्थीहरुको गुनासो छ । भर्ना हुँदा सिटीईभीटिको फर्मेट अनुसार प्रवेश परीक्षा गराएर साँच्चिकै होला भन्ने जस्तो गरेर झुक्याउँदा आफूहरुको भविष्य अन्यौलमा परेको विद्यार्थी अरुणिमा विकले बताईन ।
पढ्दै जाँदा कलेजले पूर्ण मान्यता नपाएको हल्ला भएपछि सञ्चालकसँग सोध्दा उल्टै निष्कासन गर्ने धम्की दिएको उनको भनाई छ । व्यापक गुनासोपछि सिटीईभिटीको क्षेत्रीय कार्यालय कोहलपुरबाट लेखा अधिकृत शिवराम रोकायलाई अनुगमनमा पठाएको र उनले जिल्लाका सरोकारवालाहरुसँगको समन्वयमा आइतबार संयुक्त अनुगमन समेत गरिएको छ ।
अनुगमनपछि रोकायले यी कलेजहरुले अवैधानिक रुपमा कक्षा सञ्चालनमा आएको र यससम्बन्धी विस्तृत प्रतिवेदन केही दिनमा सार्वजनिक गर्ने बताए । प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले सो प्रतिवेदन आएपछि आफूहरुले कारवाहीका लागि प्रक्रिया अगाडि बढाउने बताए । सरकारले यी कलेजहरुलाई कारवाही गरी विद्यार्थीको शुल्क फिर्ता नगरे कडा कदम चाल्ने विद्यार्थी संगठनहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस्