Birendranagar Municipality

'प्रधानन्यायाधीशबाटै अदालतको मानहानी' : डा. केसी

सेरोफेरो
'प्रधानन्यायाधीशबाटै अदालतको मानहानी' : डा. केसी

२५ पुस । स्वास्थ्य क्षेत्रको सुधारको मागसहित पटक पटक अनशन बसेका प्रा.डा. गोविन्द केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बयान दिएका छन् । अदालतको मानहानीमा मुद्दा चलाईएका केसीले उक्त कुराको लिखित बयान दिएका हुन् ।


सर्वोच्चको आदेशपछि सोमबार राती ८ बजे अनसन स्थलबाटै पक्राउ परेका केसीलाई मंगलबार विहान ९ बजे अदालत उपस्थित गराईको थियो । पाँच घण्टापछि मात्र उनको बयान शुरु भएको थियो । बयानपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा बहस सुरु हुँदैछ ।


डा. केसीले बयानका क्रममा प्रधानन्यायाधीश पराजुलीमाथि गम्भीर प्रश्न उठाएका छन् । केसीका वकिलका अनुसार उनले पराजुलीको बहुविवाह, दुई वटा नागरिकता लिई उमेर सच्याएको तथा एसएलसी पास गरे नगरेको सम्बन्धमा प्रश्न उठाएका हुन् ।

 

पराजुलीले आफ्नो भान्जीज्वाइँ नहकुल सुवेदीले ६/७ महिनाको अवधिमा रजिष्ट्रार, मुख्य रजिष्ट्रार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएर न्यायिक स्वाधिनतामा कुठाराघात गरेको केसीको आरोप छ ।

 

उनले भनेका छन्, ‘आफ्नो नातेदारलाई ६/७ महिनामा तीन पटक प्रमोसन गर्ने जस्तो अस्वभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीश जस्तो ओहदामा बस्न मिल्दैन । एक सचेत नागरिकको हैसियतले मैले उनको राजीनामा मागेको हुँ । निजले राजीनामा दिनुपर्छ भन्ने मेरो विश्वास हो । अन्यथा न्यापपालिका स्वाधिन र स्वतन्त्र बन्न निजबाट बाधा अवरोध भइरहन्छ ।’

 

गोपाल पराजुलीले न्यायपालिकाको आस्था, गरिमा र स्वाधिनतालाई चुनौती दिएको भन्दै डा. गोविन्द केसीले बयानमा भनेका छन्, ‘निजबाटै अदालतको अवहेलना भएकाले निजउपर अदालतको अवहेलनामा कारबाही गरि पाऊँ ।’

 

साथै केसीले पराजुली बाहेक सर्वोच्चका अन्य सम्पूर्ण न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ गर्न माग गरेका छन् ।

२०७५ पुस २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्