प्रतिमा परियार
२२ बैशाख, सुर्खेत- रुपशिला रोकाय अहिले ४० वर्षकी भईन् । जुम्ला घर भई हाल सुर्खेत लाटीकोइलीमा बस्दै आएकी रुपशिला १० वर्षको हुँदा विवाह भएको थियो । २०६६ सालमा श्रीमानको मृत्यु भएपछि उनले एक्लो जीवन विताउँदै आएकी छन् । हाल रोकायका दुई छोरा, बुहारी र एक नाति छन् । पहिले पहिले त घर परिवार र समाजका सबैले नराम्रो दृष्टिले हेर्थे । छोराहरुका अगाडी उनले आमा र बाबु दुबैको भूमिका पूरा गर्नुपथ्र्यो । आफै सहाराविहीन भएपछि उनी एकल महिला समूहमा आवद्ध हुन पुगिन् । एकल महिला समूहमा आफूजस्तै एकल भएका थुप्रै दिदीबहिनीहरु देखेपछि उनको मन केही भए पनि खुसी भयो । उनले भनिन्, ‘म मात्र हो कि यस्तो दुःखमा भन्ने सोच्थें तर, म जस्ता धेरै दिदीबहिनीलाई भेटेपछि पीडा कम भयो ।’
एकल महिला समूहले एकल महिलाहरुलाई सिपमुलक तालिम दिई आत्मनिर्भर बनाउन तीन महिने सिलाई कटाई तालिम दिए पछि रोकायको जीवनले नयाँ मोड लियो । उनी भन्छिन्, ‘सिलाई कटाई तालिम लिइसकेपछि मैलै नयाँ जीवन नै पाएं ।’ उनले घरेलु तथा साना उद्योग विकास समितिले दिएको छ महिने सिलाई कटाई तालिम लिए पछि अहिले उनले एकल महिला समूहकै कार्यालयमा मेसिन राखेर कपडा सिलाउने काम गर्छिन् । उनले भनिन्, ‘यदि म एकल महिला समूहमा आवद्ध हुन्थिन भने आज यस्तो अवस्थामा आइपुग्ने थिएन ।’ सिलाई कटाई बाटै उनले दिनमा एक हजार सम्मको कमाई गर्छिन् । सिलाई कटाईबाट आएको पैसाले घर खर्च चल्छ । समूहमा मासिक एक हजार पाँच सय सम्म बचत हुन्छ ।
हाल उनी विभिन्न समूहमा आवद्ध छन् । पहिले एकल महिला भनेर कुरा काट्नेले नै अहिले उनलाई सहयोग गर्ने गर्छन् । उनले समूहबाटै ऋण मागेर जेठो छोरालाई बहराइन पठाएको बताइन् । उनले भनिन्, ‘मेरा दुःखका दिन गए जस्तै लाग्छ । छोराले राम्रो कमाई गरेको छ, मैले गरेको दुःखको फल पाएकी छु ।’
रुपशिला जस्तै एकल जीवन विताउँदै आएकी दीपा शाहीको पनि जीवन कथा उस्तै छ । २०५३ सालमा देवेन्द्र शाहीसंग दाम्पत्य जीवन शुरु गरेकी शाही विवाह भएको नौ वर्ष नपुग्दै एकल हुन पुगिन् । उनले भनिन्, ‘श्रीमान नेपाली सेनामा हुनुहुन्थ्यो, २०६१ सालको जनआन्दोलनमा शहीद हुनुभयो ।’ श्रीमानको निधनपछि एक्लो जीवन विताउँदै आएकी शाहीको साथमा अहिले कक्षा नौ मा पढ्ने एक छोरी छन् ।
दीपा शाही २०६२ सालमा एकल महिला समूहमा आवद्ध हुन पुगिन् । महिलाहरुलाई हेर्ने सामाजिक दृष्टिकोण नै फरक छ । त्यसमा पनि एकल भनेपछि सबैले हेप्छन् उनले भनिन्–‘त्यसै कमजोर ठान्नेहरुले एकल महिलाको त झन् खेदो नै खन्छन् ।’ महिला आर्थिक रुपमा सक्षम हुनुपर्नेमा उनी जोड दिन्छिन् । जबसम्म एकल महिला आर्थिक रुपमा निर्भर हुँदैनन् तबसम्म कुरा काट्नेको कमी हुँदैन । शाहीले एकल महिला समुहले दिएको तीन महिने र घरेलु तथा साना उद्योग विकास समितिले दिएको छ महिने सिलाई कटाई तालिम लिए पछि उनको पनि जीवनले नयाँ मोड लियो । शुरुवातमा पाँच जना दिदी बहिनी मिलेर सिलाई कटाई काम गरेका थिए । तर, अहिले शाहीले घरमै मेसिन राखेर कपडा सिलाउने गर्छिन् । उनले भनिन्, ‘समूहमा अन्य दिदी बहिनीहर आ आफ्नै काम लागे पछि मैले आफ्नै घरमा टेलर मेसिन राखेको हो ।’ उनले अहिले दिनमा एक हजार भन्दा बढि कमाई गर्छिन् । शाहीले सिलाई कटाईले पेशाले आर्थिक रुपमा सहज भएको बताइन् ।
रुपशिला र दीपाले त आफ्नो श्रीमान नै गुमाएर एक्लो जीवन विताउँदै आएरहेका छन् । तर, बालकुमारी नेपालीले भने श्रीमान भएर पनि एक्लो जीवन विताउँदै आइरहेकी छन् । १७ वर्षको उमेरमा प्रेम विवाह गरेकी नेपाली श्रीमानको कुटाईले हिंसा सहंदै आएकी थिइन् । उनले विगत तीन वर्षदेखि श्रीमानसंग सम्बन्ध विच्छेद गरेर एक्लो जीवन विताउँदै आएकी छन् । उनले भनिन्, ‘श्रीमानले गरेको हिंसा मैले २० वर्ष सम्म सहँदै आएकी थिए, हिंसा कम होला भन्दा बढेपछि सम्बन्ध विच्छेद गर्न बाध्य भएकी हुँ ।’ तीन छोरी र एक छोराको साथमा कोठा भाडामा बस्दै आएकी नेपाली अहिले तरकारी पसल गर्छिन् । सायद उनले श्रीमानलाई नछोडेको भए के हुन्थ्यो त्यो त उनि पनि भन्न सक्दिनन् । उनले दिनमा पाँच हजार सम्मको तरकारी बिक्री गर्छिन् । त्यहाँबाट आएको आम्दानीले उनले छोरालाई विदेश पठाउनुका साथै दुई छोरीको पढाई खर्च, कोठा भाडा र घरको सबै खर्च जुटाउन सकेकी छन् ।
मानव अधिकारका लागि महिला एकल महिला समूहकी क्षेत्रीय संयोजक रामकुमारी थापाले एकल महिलाहरुलाई अझैपनि समृद्धि तर्फ लैजानका लागि सरकारले बिशेष आरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिन्छिन् । एकल महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोणमा फरकपन ल्याउन सचेतना मूलक अभियानहरु सञ्चालन गनुपर्ने उनको भनाई छ ।
प्रतिकृया दिनुहोस्