२८, पुस । नेपाल मगर संघ जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा बिहिबारदेखि सुर्खेतमा माघे सक्रान्ति मेला २०७४ शुरु भएको छ । तीन दिन सम्म लाग्ने यो मेलामा धनुष-वाण, छेलो, एकल नृत्य लगाएतका प्रतियोगिताहरु सञ्चालन गरिएको छ ।
मेलाको आकर्षणका लागि विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति, स्थानीय स्तरको सोरठी, ख्याली, सालैजो, कौडा, ठाडो भाका, दोहोरी गीत प्रस्तुत गरिएको छ ।
मेलामा मगर परिकार र पहिरनका स्टलहरु राखिएको छ । परापूर्वकाल देखि समाज विकासको क्रमसंगै आफ्ना पुर्खाहरुले जगेर्ना गर्दै आएको संस्कृति बचाउनको लागि यो मेलाको आयोजना गरिएको मेला प्रचारप्रसार उपसमितिका संयोजक दिपबहादुर राना मगरले बताए ।
उनले भने ‘हाम्रा पुर्वजहरुले जोगाउंदै आएको संस्कृति अब हाम्रा भावी सन्ततिलाई नसिकाउने हो भने पश्चिमा संस्कृतिको हालीमुहाली हुन्छ र हाम्रो संस्कृति हराएर जान्छ । त्यसैले यस्ता खालका कार्यक्रमको आयोजना गरि संस्कृति बचाउन हामीहरु लागि परेका हौं ।’
मेलामा २० वटा स्टल राखिएको छ । करिब २८ देखि ३० हजारले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।
मगर र माघीको के सम्बन्ध छ ?
नेपालका विभिन्न ठाउँका विभिन्न समुदायले माघे संक्रान्तिलाइ एक पर्वको रुपमा मनाए पनि मुख्य चाड थारुहरुको हो भन्ने बुझाइ छ । तर मगरहरुले पनि आफ्नो मुख्य चाडको रुपमा यसलाई मनाउँदै आइरहेका छन् । मेला प्रचारप्रचार उपसमिति संयोजक दिपबहादुर राना मगर रानाका अनुसार माघि र मगरहरुको परापूर्वकाल देखिकै सम्बन्ध छ । मगर पुर्खाहरुले कन्दमुल युग देखिनै यो पर्व मान्दै आएको उनले बताए ।
विशेषगरी माघ १ गतेको दिनमा नदी तथा मूलमा गई स्नान गरी पितृलाई पिण्ड चढाएर मात्र खाली पेटमा चोखो फलफुल तरुल गन्जि खाने चलन छ । माघ १ गतेको दिनमा चढाएको पिण्डले पितृ खुसी हुन्छन् भन्ने मान्यता रहिआएको रानाले बताए ।
प्रतिकृया दिनुहोस्