३ माघ । सरकारले प्रदेश ६ को अस्थायी राजधानी सुर्खेतलाई तोकेको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले मुकाम तोकेसंगै प्रदेश प्रमुखमा दुर्गाकेशर खनाललाई नियुक्त गरेको छ ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको महिनादिन वितिसक्दापनि प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न देउवा सरकारले आलटाल गरेको थियो । जसका कारण निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक गर्न पाएको थिएन ।
निर्वाचन परिणाम सार्वजनिक नहुँदा प्रदेश सभा तथा सरकार गठनमा ढिलाई भएको हो । यससंगै प्रदेश सरकार बन्न बाटो खुलेको छ ।
प्रदेश नम्बर ६ को राजधानी सुर्खेत र नाम कर्णाली राख्ने विषयमा प्रमुख राजनीतिक दलहरुले यसअघिनै सहमति जनाइसकेका छन् । सरकारको आजको निर्णयपश्चात् अन्य प्रदेशमा राजधानी विवाद देखिएतापनि ६ नं. प्रदेशका जनता खुशी भएका छन् ।
को हुन् प्रदेश प्रमुख खनाल?
दुर्गाकेशर खनाल पिता चन्द्रकेशर खनाल र माता भागीरथी खनालको कोखबाट वि.सं. २००४ सालमा जन्मेका दुर्गाकेशर खनाल नेपाली काँग्रेसका पुराना नेता हुन् ।सुदुरपश्चिमको डोटीमा जन्मिएतापनि उनी सुर्खेतमै हुर्केबढेका हुन् ।
२१ सालबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका खनाल प्रधानमन्त्री शेरबहादुर देउवा र रामचन्द्र पौडेलका समकक्षी हुन् । त्रिचन्द्र क्याम्पसबाट स्नातक (अंग्रेजी) गरेका उनले २७ सालमा नेपाली काँग्रेसको सदस्यता लिएका थिए ।
२०३५ देखि ४८ सालसम्म नेपाली काँग्रेस सुर्खेतका पार्टी सभापति बनेका खनालविरुद्ध ४३ सालमा राजद्रोहको मुद्दा लगाइएको थियो । त्यसका विरुद्ध स्थानीय जनलहर निस्केपछि तत्कालीन सरकारले मुद्दा फिर्ता लियो । स्नातकोत्तर तह अध्ययनको क्रममा राजनीति गरेको भन्दै पञ्चायत सरकारले कारवाही गरेको थियो । राजनीतिक बन्दीका रुपमा उनी ९ पटक जेल परे ।
४८ सालमा ४ बर्षका लागि राष्ट्रिय सभा सदस्य निर्वाचित भएका खनाल त्यसपछि समाजसेवामा सक्रिय थिए । '५२ सालपछि पार्टीको मेनिफेस्टो अनुसार विकासका कामको फलो अप गर्न म कहिले सुदूर त कहिले मध्यपश्चिमका विभिन्न स्थानमा पुगें', उनले सेरोफेरोसंग भने ।
खनालले सुर्खेतको शिक्षा क्षेत्रमा पनि योगदान गरेका छन् । उनले वीरेन्द्रनगरस्थित पुरानो विद्यालय जनमाविमा २०२७ देखि ३३ सालसम्म पढाए । पछिल्लो ३ बर्ष उनी प्राधानाध्यापक भएर पनि काम गरे । वि.सं. २०५५ देखि ६५ सम्म वीरेन्द्रनगर बहुमुखी क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष भएका उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाका सक्रिय अभियन्ता हुन् ।
खनालका १ श्रीमती, ३ छोरा र १ छोरी छन् ।
प्रतिकृया दिनुहोस्