Birendranagar Municipality

म ईश्वर/जनताको नाममा शपथ लिन्छु कि..

कमल लम्साल/सेरोफेरो
म ईश्वर/जनताको नाममा शपथ लिन्छु कि..

७ माघ । प्रदेश ६ का प्रमुख दुर्गाकेशर खनालले पदभार ग्रहणलगत्तै आजै प्रदेश सभा सदस्यहरुले शपथ लिएका छन् । जिल्ला समन्वय समिति सुर्खेतको सभाकक्षमा उनीहरुले आइतबार अपरान्ह शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रम बिहान ११ बजे हुने भनिएतापनि शपथको ढाँचा अर्थात् अनुसूचीको अभावमा ३ घण्टा ढिलो गरी भएको हो ।

 

प्रदेश ६ का १० वटै जिल्लाबाट प्रत्यक्ष तथा समानुपातिक तर्फका निर्वाचित ४० सदस्यहरुलाई एक भव्य कार्यक्रमका बीच सपथ खुवाईएको हो । प्रदेश प्रमुख खनालले सबैभन्दा पहिला जेष्ठ सदस्य ६८ वर्षीय हिमबहादुर शाहीलाई र त्यसलगत्तै शाहीले अन्य सदस्यहरुलाई शपथ खुवाएका थिए ।

sapath 2शाहीले ईश्वरका नाममा शपथ लिए भने कतिपय सदस्यहरुले जनताको नाममा सपथ लिए । प्रदेश प्रमुखको सचिवालयले उनीहरुलाई हस्ताक्षर गर्न उपलब्ध गराएको प्रतिमा कतिपय सदस्यले ईश्वर लेखिएको स्थानमा केरेर त्यसको माथि जनता लेखेका थिए । यस्तो लेख्नेमा सल्यान जिल्लाबाट निर्वाचित नेकपा एमालेका सांसद गुलाबजंग शाह पनि एक हुन् ।

 

प्रदेश प्रमुख खनालले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ युगमा प्रबेश गरेको मुलुकमा आइपर्ने चुनौतीहरुको बुद्धिमतापूर्ण समाधान खोज्न सबै सदस्यहरुलाई आग्रह गरेका थिए ।

 

शपथ ग्रहण गर्ने गराउने कार्यक्रममा विभिन्न जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा राजनीतिक दलका प्रमुखहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पदीय मर्यादा तथा व्यवस्थापिका र कार्यपालिका अधिकार क्षेत्र नमिल्ने भन्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी कार्यक्रममा उपस्थित भएर पनि बाहिरै बसेका थिए ।

sapath 1
कार्यक्रमको अन्त्यमा सबै सदस्यहरुले प्रदेश प्रमुखसंग सामूहिक तस्बिर खिचाएका थिए । कार्यक्रममा प्रदेश सभाका सदस्यहरु उत्साहित मुद्रामा देखिन्थे भने कतिपयले एक आपसमा परिचय गरेका थिए । कतिले कामकै शिलशिलामा परिचय हुने बताएका थिए । मिडियासंगको कुराकानीमा उनीहरुले यस प्रदेशको समग्र विकासमा ध्यान दिइने बताएका छन् ।

 

प्रदेश सभाका सदस्यहरुले सपथ लिएपनि प्रदेश सभाको पहिलो बैठक भने बोलाइएको छैन ।

 

यस्तै अन्य प्रदेशहरुमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आजै प्रदेश सभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

२०७४ माघ ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्