Birendranagar Municipality

सात पत्रकार महिला सगरमाथा चढ्ने

सेरोफेरो
सात पत्रकार महिला सगरमाथा चढ्ने

७ माघ । सात जना नेपाली पत्रकार महिलाले सगरमाथाको आरोहण गर्ने भएका छन् । यस सिजनको लागि पत्रकारहरु देउराली चाम्लिङ, रोसा बस्नेत, प्रियालक्ष्मी कार्की, रोजिता बुद्धाचार्य, कल्पना महर्जन, पूर्णिमा श्रेष्ठ र डोमा शेर्पाले सगरमाथा आरोहण गर्ने भएका हुन् । 

 

नेपाल पत्रकार महासंघले आइतबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई शुभकामना तथा सम्मान व्यक्त गरेको छ । कार्यक्रममा सूचनाको हकमा महिला पत्रकारको पहुँच विषयमा अन्तरक्रिया समेत भएको थियो ।


राष्ट्रिय सूचना आयोगका आयुक्त एवं प्रवक्ता यशोदा तिम्सिनाले सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरुलाई पूर्ण सफलताको शुभकामना दिदै सूचनाको हक पत्रकारहरुका निम्ति मात्रै नभई सार्वसाधारणका लागि समेत भएको बताइन् । उनले भनिन्, 'नागरिकलाई सार्वजनिका सरोकारका विषयहरुमा सूचना पाउने अधिकार संविधानमै सुनिश्चित गरिएको छ, तर यसको प्रयोगका लागि जनचेतना अभिवृद्धि गर्न आवश्यक छ ।'

 

कार्यक्रममा आमसञ्चार नीति २०७३, उच्चस्तरिय कार्यान्वयन समितिकी सदस्य बबिता बस्नेतले सगरमाथा आरोहण गर्ने पत्रकारहरुलाई सफलताको शूभकामना दिनुका साथै समाज विकासमा पत्रकार महिलाहरुको महत्वपूर्ण भूमिका रहने हुनाले त्यसनिम्ति क्रियाशील रहन आग्रह गरिन् । महासंका उपाध्यक्ष दिलिप थापामगरले पत्रकार महिलाको सगरमाथा आरोहणको विषय गौरवको विषय भएको बताए ।

 

महासंघका महासचिव रमेश विष्ट, निवर्तमान उपाध्यक्ष अनिता बिन्दु, महिला वालबालिका तथा समाजकल्याण मन्त्रालयकी उपसचिव महेश्वरी विष्ट, सूचना तथा सञ्चार मन्त्रालयकी उपसचिव संगिता ओझा, प्रेस चौतारी नेपालकी केन्द्रीय उपाध्यक्ष टिका विष्ट, नेपाल प्रेस यूनियनकी केन्द्रीय उपमहासचिव सलोजा दाहाल, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव रुबि श्रेष्ठ, चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, यूएन वीमेनका रणनीतिक साझेदार संयोजक शरु जोशी श्रेष्ठ लगायतले आरोही पत्रकार महिलाहरुलाई सफलताको शुभकामना व्यक्त गरे ।

 

कार्यक्रम नेपाल पत्रकार महासंघ महिला विभाग संयोजक लक्ष्मी पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२०७४ माघ ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्