Birendranagar Municipality

समाजसेवी पाण्डेद्वारा विश्वविद्यालयलाई ७ लाख हस्तान्तरण

सेरोफेरो/सुर्खेत
 समाजसेवी पाण्डेद्वारा विश्वविद्यालयलाई ७ लाख हस्तान्तरण

८ माघ । पूर्व उपकुलपति कालिप्रसाद पाण्डे, उपप्राध्यापक बच्चुकैलाश पाण्डे र गङ्गाप्रसाद पाण्डेकी माता देवकुमारी पाण्डेले श्रीमान जयनारायण पाण्डेको नाममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई ७ लाख रुपैया हस्तान्तरण गरेकी छन् ।

 

विश्वविद्यालय स्थापनार्थ आयोजित महायज्ञमा वाकदान गरेको यज्ञस्थलमा २ लाख ५ हजार र बाँकी रहेको ४ लाख ९५ हजार गरि ७ लाख आज श्रीपन्चमीको अवसरमा विश्वविद्यालय प्रशासनलाई बुझाएकी हुन् ।


सोमबार पाण्डेले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पुगी रजिस्ट्रार डा. महेन्द्र कुमार मल्ललाई चेक हस्तान्तरण गरेकी छिन । उक्त रकम हस्तान्तरण गर्दै दाता पाण्डेले रकमको सदुपयोग हुने विश्वास व्यक्त गरिन् । रजिस्ट्रार मल्लले चेक ग्रहण गर्दै उक्त रकम विश्वविद्यालयको भौतिक संरचना निर्माणमा लगानी गरिने बताए ।


विश्वविद्यालय स्थापनाका लागि मौदगल्य समाज नेपालको आयोजनामा २०६५ फागुन २५ देखि चैत्र २ सम्म संचालित महायज्ञमा वाकदान गरेको मध्ये केही रकम उठ्न बाँकी छ ।


यसैबीच मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र भारतको शारदा विश्वविद्यालय बीच उपकुलपतिस्तरमा द्विपक्षीय समझदारी भएको छ ।

 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला र शारदा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा. बृषवन सिंह पवारले हस्ताक्षर गरेको समझदारी पत्रमा विश्वविद्यालयहरुबीच विद्यार्थी, शिक्षक र बिशेषज्ञ आदानप्रदान, संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन आदिको आयोजना गर्ने समझदारी भएको सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

२०७४ माघ ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्