११ माघ । कामचलाउ सरकारले धमाधम नीतिगत निर्णय गर्न थालेपछि सबैभन्दा ठूलो दल नेकपा एमालेले आक्रोश पोखेको छ। एमालेले बिहिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारको कतिपय निर्णय नयाँ सरकार बनेपछि पुनर्विचार गरिने जनाएको छ ।
बुधबार सरकारले वृद्ध भत्ता वितरणको उमेर ७० बाट झारेर ६५ बनाएको थियो भने भूकम्प पीडितलाई थप १ लाख दिने निर्णय गरेको थियो। यी लगायत सरकारले थुप्रै गुप्त निर्णय गरेको हुनसक्ने केपी ओलीले बताए ।
भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, 'सरकारको यस्तो निर्णय देशलाई बोझ बोकाउने र अथतन्त्र अप्ठेरोमा भएको बला थप अप्ठेरो पार्ने काम हो ।' उनले निर्वाचन सम्पन्न भैसक्दा पनि हालका कामचलाउ प्रधानमन्त्रीले नयाँ जनादेश अनुसार सरकार पनि बन्न नदिने र देशलाई पनि कंगाल पारिदिन लागेको टिप्पणी गरे।
नेपाली नागरिकको औसत उमेर बढिरहेको बेला हचुवाको भरमा बृद्धभत्ता पाउने उमेर ७० लाई ६५ बर्ष बनाउनु सरकारको गलत निर्णय भएको उनले बताए । ओलीले भने, ‘कति उमेरलाई बुढो मान्ने राष्ट्रिय अजेण्डा हुनु पर्छ कि पर्दैन? अर्कोले ६० वर्षमा झार्ने, अर्कोले ५० वर्षमा झार्ने । अनि बैंशमै बृद्धभत्ता खाने हो ?’
एमालेले मुलुकको सञ्चिती कोष ४८ अर्ब घाटामा गएको अवस्थामा कर्मचारीलाई स्वेच्छिक अवकाश मार्फत ६० अर्ब वितवरण गर्न लागिएकोमा पनि आपत्ती जनाएको छ। ‘संघीयतामा जाँदा थप कर्मचारी आवश्यक रहेको बेला स्वेच्छिक अवकाशको नाममा ६० अर्ब त्यसमा खर्च गराइदिने’, अध्यक्ष ओलीले भने, ‘इन्सेन्टिभ दिएर खटाउनु पर्ने ठाउँमा, भैरहेका कर्मचारीलाई अवकाश दिने र खर्च गर्ने काम देशलाई संकटमा पार्ने सुनियोजित षड्यन्त्र हो।'
प्रतिकृया दिनुहोस्