Birendranagar Municipality

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यावारिधि कार्यक्रम शुरु

सेरोफेरो/सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यावारिधि कार्यक्रम शुरु

१२ माघ । मध्यश्चिमाञ्चल विश्वविद्यालयमा विद्यावारिधि (पिएचडी) कार्यक्रम शुरु भएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा प्रदेश नम्बर ६ का प्रमुख दुर्गाकेशर खनालले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको शुरुवात गरेका हुन् ।


पिएचडी कार्यक्रमको प्रकृया केही महिना अघिनै शुरु भएतापनि आज औपचारिक रुपमा शुरुवात गरिएको व्यवस्थापन संकायका डीन डा. मस्तबहादुर गरञ्जाले बताए । उनले भने-'आजै तीन जना विद्यार्थीले अनुसन्धान प्रस्तावनाको सामना (डिफेन्स) गर्दैछन् ।'

 

विद्यावारिधि अध्ययनका लागि प्रस्तावना पेश गर्नेमा विश्वविद्यालयमा प्राध्यापनरत सहप्राध्यापक पूर्णमान श्रेष्ठ, सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह र विमा समिति काठमाडौंमा कार्यरत राजेन्द्र महर्जन रहेको कार्यक्रम संयोजक डा. नारायण पौडेलले बताए । उनीहरु सबैले एमफिल अध्ययन पुरा गरेका छन् । विद्यावारिधि शोधार्थीहरुको निर्देशकको रुपमा रही कार्य गर्न त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरु सुर्खेत आएका छन् । 

 

यस कार्यक्रमको शुरुवात गर्न प्रेरणा दिने र सहयोग गर्ने सबै राजनीतिक दलका नेता तथा विभिन्न व्यक्तित्व तथा विश्वविद्यालय परिवारलाई उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले धन्यवाद ज्ञापन गरेका छन् । अब क्रमशः अन्य संकायमा पनि विद्यावारिधि कार्यक्रम शुरुवात गरिने पनि उनले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयले आगामि दिनमा स्वास्थ्य विज्ञान तथा कानुन संकायको सञ्चालनको तयारी गरिरहेको छ ।

 

विश्वविद्यालयमा उच्चतम तहका लागि अध्ययन अध्यापन शुरु गरिनु यस प्रदेशकै गौरवको कुरा भएको प्रदेश प्रमुख खनालले बताए । कार्यक्रममा प्रदेश प्रमुख, र यस प्रदेशबाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सांसदहरुलाई विश्वविद्यालयले सम्मान समेत गरेको थियो ।

२०७४ माघ १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्