२३ बैशाख, काठमाडौं- मधेशवादी दलहरुको साझा मोर्चा संघीय गठबन्धनले संयोजक उपेन्द्र यादवलाई कारवाही गरेको छ । गठबन्धनले यादवलाई हटाई आजै महन्थ ठाकुरलाई नयाँ संयोजकमा चयन गरेको छ । ठाकुर राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक हुन् ।
मधेशी मोर्चासहित शनिबार बसेको गठबन्धनको बैठकले यादवलाई कारवाहीको सिफारिस गरेको हो । उनलाई संविधान संशोधनको बाटो छाडी चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाइएको छ । बैठकको निर्णयमा भनिएको छ–‘संविधान संशोधन विना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनको संयोजकको जिम्मेबारीबाट हटाउने निर्णय गरिएको छ ।’
बैठकले तत्काल संविधान संशोधन गरी चुनावको वातावरण बनाउन सरकारलाई आग्रह समेत गरेको छ । उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी पार्टीले नयाँ शक्ति पार्टीसंग स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ ।
प्रतिकृया दिनुहोस्