१६ माघ । नेपालमा बहुदलीय व्यवस्थाको स्थापनापछि २०५४ सालमा २३ बर्षको कलिलो उमेरमै जिल्ला विकास समिति रुकुमको उपसभापति भएर चर्चामा आएका एमाले रुकुमका नेता एवं पूर्व अध्यक्ष ठगेन्द्रप्रकाश पुरी फेरी यतिवेला चर्चाको शिखरमा छन् । ०५४ सालमा २३ वर्षको कलिलो उमेरमै जिविस रुकुमको उपसभापति भएर एक कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका नेकपा एमालेका युवा नेता ठगेन्द्रप्रकाश पुरी २० बर्ष पछि अर्थात २०७४ माघ २४ मा संघीय गणतन्त्र नेपालको राष्ट्रिय सभा सदस्य बन्दैछन् ।
भाषणमा समेत लोकप्रिय मानिने पुरी २० बर्ष पछि फेरी जनताको प्रतिनिधि भएर काम गर्ने अवसर पाउन लागेका छन् । बुवा सर्पु पुरी र आमा धनवती पुरीको कोखबाट २०३१ सालमा साविकको बाँफिकोट गाविसको काँडा गाउँमा जन्मेका पुरी ६ भाई मध्ये सबै भन्दा कान्छा सन्तान हुन् । गरिवीको चपेटामा खेली हुर्केका पुरी यही सामाजिक गरिबी र राज्यको असमान व्यथिति विरुद्ध राजनीतिमा होमिएका थिए । २०४६ सालदेखी पार्टीमा लागेका पुरी राष्ट्रिय सभा सदस्य उमेदबारहरुमध्ये कान्छा सदस्यका रुपमा रहेका छन् ।
सामाजिक गरिबी, छुवाछुत, राज्यको असमान विकास प्रणाली, विभेदकारी कानुन, ठुलाबडाको हैकमबाद, गरिबीले दयिनीय भएका बालबालिका, महिला र बृद्धवृद्धको अवस्थालाई गाउँघरमै देखे भोगेका पुरीलाई कसरी अन्त्य गर्ने भन्ने हुटहुटी मनमा आईरहन्थ्यो । यही संकल्प स्वरुप राजनीति मार्फत समाजसेवाको बाटो अंगालेको उनी बताउँछन् ।
२०४६ सालमा अनेरास्वबियुको संस्थापक रुकुम जिल्ला संयोजकबाट राजनैतिक यात्राको थालनी गरेका उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल रुकुमको अध्यक्ष हुँदै १३ बर्ष सम्म युवा संघ नेपालको केन्द्रीय सदस्य भई केन्द्रीय सचिवालय सदस्यमा रहेर काम गरेका थिए । २०५० देखी नेकपा एमाले जिल्ला कमिटी रुकुमको सदस्य भई कुशल संगठकका रुपमा काम गर्दै आएका पुरी २०६६ देखी २०७० सम्म एमाले रुकुमको पार्टीको जिल्ला अध्यक्ष भएर काम गरे । त्यसपछि पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, राप्ती अञ्चल सदस्य हुँदै हाल उनी नेकपा एमाले प्रदेश नं ६ को प्रदेश कमिटी सदस्य रहेका छन् ।
रत्न आधारभूत बिद्यालय बाँफिकोटको काँडागाउँबाट प्राथमिक शिक्षा हासिल गरेका पुरीले माध्यामिक शिक्षा बिरेन्द्र मावि बाँफिकोट र उच्च शिक्षा महेन्द्र बहुमुखी क्याम्पस दाङबाट गरेका हुन् । अधिबक्ता समेत रहेका उनी बिभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध भएर सामाजिक कार्यमा समेत क्रियासिल छन् । पुरी नेपाल रेडक्रस शोसाइटीको आजीवन सदस्य हुन् ।
जिल्लाको पार्टी अध्यक्ष हुँदा पार्टी र कार्यकर्ता परिचालनमा निकै सक्रिय रहेका पुरी राजनितिमा निकै कर्मठ र इमान्दार नेताको रुपमा चिनिन्छन् । राष्ट्रिय सभा सदस्यमा निबार्चित भइसकेपछि देशको निति नियम बनाउने तहमा पुगेर श्रमजिवी र सर्वहारा जनताको पक्षमा काम गर्ने प्रतिबद्धता उनले जनाएका छन् । उनले भने–'मैले सामाजिक गरिबीलाई देखेभोगेको छु, अहिलेको यो अवसरलाई म जनताको पक्षमा लगाउने छु ।' नेकपा एमालेले पुरीलाई प्रदेश नं ६ बाट राष्ट्रिय सभा सदस्यको लागी उम्मेदवार बनाएको छ ।
प्रतिकृया दिनुहोस्