१७ माघ । दलीय भागवण्डाका आधारमा शहीद घोषणा हुनु दुर्भाग्यपूर्ण भएको द्वन्द्वपीडित साझा चौतारीले बताएको छ । सरकारले २०७४ साल माघ १२ गते चितवनको बांदरमुढे घटनामा मारिएका लगायत द्वन्द्वकालमा माओबादीबाट मारिएका स्याङजा, कास्की, सिन्धुपाल्चोक, सुनसरी र खोटाङका ५६ जनालाई शहीद घोषणा गरेको प्रति द्वन्द्वपीडित साझा चौतारीले आपत्ति जनाएको हो ।
चौतारीले एक विज्ञप्ति जारी गरी द्वन्द्वकालमा मारिएका व्यक्तिहरुलाइ विगतमा गरिएको शहीद घोषणा घोषणामै सीमित रहेको, प्रक्रिया पुरा नगरि यसअघि शहीद घोषणा गरिएका कतिपय नाम सरकारले पुनः दोहोर्याएको समेत देखिएको जनाएको छ । विज्ञप्तिमा लेखिएको छ, सरकारद्वारा हचुवा एवं एकपक्षीय रुपमा गरिएको शहिद घोषणा शान्ति प्रक्रियाको मर्म विपरित एवं राजनैतिक रुपमा एकपक्षीय देखिन्छ ।
विगतका विभिन्न सरकारहरुले शान्ति सम्झौताको भावना अनूरुप समग्र द्वन्द्वका पीडितहरुप्रति समान सम्मान गर्नुपर्नेमा शान्ति सम्झौताको भावना विपरित शहीद घोषणा गरेकोमा विद्यमान् सरकारले फेरि त्यस्तै विभेद र पीडितको पीडामाथि राजनीति गरेकोमा चौतारीले सरकारको ध्यानाकर्षण गराएको हो । शहीदजस्तो सम्मानमा समेत विभेद गर्ने सरकारको ब्यवहारले आम पीडितहरुको भावना, आत्मसम्मान एवं न्याय समेतमा चोट पुगेको छ, विज्ञप्तिमा उल्लेख छ ।
सरकारपिच्छे शहीद घोषणा गर्ने विवादास्पद परिपाटी बन्द हुनुपर्ने, शहीद घोषणा गर्नुपर्ने नागरिकहरुको स्पष्ट पहिचान भेदभाव नगर्नसमेत तथा उचित मापदण्डका आधारमा मात्र शहीद घोषणा गरी शहीदको गरिमा र भावनालाइ सम्मान गर्न पनि चौतारीले सरकारसंग माग गरेको छ ।
प्रतिकृया दिनुहोस्