१८ माघ । जिल्ला प्रहरी कार्यालयको टोलीले सुर्खेतमा ३३ लाख सहित जुवाडेहरुलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर स्थित गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षेत्री र सवीर मियाँलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार गणेशचोक स्थित नेपाल प्रहरीका भूतपूर्व असई भद्रबहादुर क्षेत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा ६ लाख ४९ हजार ५ सय ६० नगद र २६ लाख ७५ हजारका चेकसहित उनीहरू पक्राउ परेका हुन् ।
बरामद भएका चारवटा चेक कबाडीको ठेक्कापट्टा गर्ने बाराका सवीर मियाँको नाममा काटिएको गणेशजल सहकारीको १० हजार र दुर्गाप्रसाद सापकोटाका नाममा काटिएका छन् । सापकोटाका नामका ग्लोवल आइएमई बैंकको पाँच लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको १०–१० लाखका दुई चेक र सानिमा बैंकको एक लाख ६५ हजारको चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।
‘ठाउँ परिवर्तन गर्दै खेल्ने गरेको सूचना हामीलाई प्राप्त भएको थियो । हामी नपुग्दै उनीहरुसम्म सूचना पुगिसक्ने भएकाले पक्राउ गर्न सकिरहेका थिएनौं ’, प्रहरी निरीक्षक शंकर श्रेष्ठले भने, ‘निरन्तरको मेहनतपछि पक्राउ गर्न सफल भयौँ ।’
जुवा खेल्न व्यक्तिका घर, जंगल तथा होटलहरु प्रयोग गरिएका थिए । १५ दिनको प्रयास पछि मोटो रकमसहित प्रहरीले संलग्नहरुलाई समेत पक्राउ गरेको जनाएको छ । जुवालाई निरुत्साहित गर्न र खेलेमा प्रहरीले छोड्दैन भन्ने कुरा स्थापित गर्नको लागि प्रहरीले अभियान नै चलाएको निरीक्षक श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्