२१ माघ । राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्यका लागि बुधबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपत्र छपाइदेखि सुरक्षा व्यवस्था, कर्मचारी खटपटन र व्यवस्थापकीय सबै तयारी पूरा भएको छ। उनका अनुसार आइतबार नै मतपत्र सम्बन्धित मतदान केन्द्रमा पुग्नेछ ।
निर्वाचनमा रातो र हरियो दुई रङका मतपत्र हुनेछन् । प्रदेशसभा सदस्यले हरियो र स्थानीय तहका मतदाताले रातो मतपत्रमा मतसंकेत गर्नेछन् । उनीहरुले महिला, दलित, अपांग र अल्पसंख्यक तथा अन्य समूह गरी चारवटा मतपत्रमा मत दिनेछन् । जसका लागि एक मतदाताले चार ठाउँमा भोट हाल्नुपर्नेछ।
एकल संक्रमणीय प्रणालीका मतदाताले तीन वटा मतपत्रमा एक, दुई र तीन अंक दिएर भोट हाल्नुपर्नेछ भने बहुमतीयतर्फ महिला र अन्य समूहका लागि ‘ठीक चिन्ह’ लगाएर भोट हाल्ने व्यवस्था गरिएको प्रवक्ता ढकालले बताए। एक मतदाताले चार मतपत्रमा आठ भोट दिनुपर्नेछ।
निर्वाचक मण्डलका सदस्यहरुको मतभार भने फरक फरक हुनेछ । जसमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ। राष्ट्रियसभामा स्थानीय तहका १,५०३ र प्रदेशसभाका ५५० गरी २,०५३ मतदाता छन्। आयोगले मतदातालाई निर्वाचन शिक्षा दिइसकेको छ।
प्रतिकृया दिनुहोस्