Birendranagar Municipality

चौकुनेको भविश्य : नेताका घोषणा पत्र र कार्यान्वयन पक्ष

हरिप्रसाद अधिकारी

नेपालको संविधान २०७२ जारी भए पश्चात नेपालमा विकास र समृद्धिको चर्चा परिचर्चाले बजार लिइरहेकोे छ । राज्यका हरेक निकाय, राजनीति दलका नेता कार्यकर्ताहरुले समेत आर्थिक समृद्धिका बहस गर्ने, योजना सन्चालन गर्ने, पार्टीका कार्यक्रममा समेत आर्थिक विकास तथा समृद्धिको बहसले स्थान लिइरहेको छ । संविधानको मर्म अनुसार नेपालमा तिन तहका निर्वाचन स्थानीय, प्रदेश र संघिय सरकारको निर्वाचन सम्पन्न भएका छन । आर्थिक विकास र समृद्धिको ढोका खुलेको छ ।

 

नेपालमा संघिय राज्य ब्यवस्था अनुसार स्थानीय तहमा ७ सय ५३ गाउँपालिका र नगरपालिका, ७ प्रदेश सरकार, एक संघिय सरकार तथा एक राष्ट्रिय सभाको ब्यवस्था छ । तमाम निर्वाचनमा नेता तथा तिनका पार्टीले विकासका लागि घोषणा पत्र जारी गर्ने र जनतालाई विकासको लालीपप देखाउदै भोटको राजनीति गरेको यर्थात हाम्रो सामु छ । तर समिक्षा ठिक तरहले हुने गरेको खाश पाइदैन । हरेक निर्वाचन यस्तै क्रमबाट अवतरित भएको पाइन्छ । समग्रमा राज्यको पुर्नसंरचनासंगै राज्यका निकाय, दलका नेता, कार्यकर्ताहरुमा काम, तौर तरिका,ऐन नियम कानुन तथा सोचमा समेत पुर्नसंरचनाको आभास हुन जरुरी छ ।

 

नेपालका सबै स्थानीय तहको निर्वाचनमा हरेक उम्मेदवारले चुनाव जित्नका लागि भए पनि ठुला ठुला विकास योजना घोषणा पत्र मार्फत सार्वजनिक गरेका थिए सोही अनुसार सुर्खेत जिल्लाको चौकुने गाउँपालिकाको निर्वाचनमा एमाले पार्टी तथा तिनका उम्मेदारले तर्फबाट जारी गरिएको विकास घोषणा पत्र तथा प्रतिवद्धता अनुसार गाउँसभाबाट बजेट विनियोजन र कार्यान्वयनको चरणमा रहेको छ । योजना सन्चालनको अवस्थामा रहेको बेला यसको समिक्षा गर्नु समय सान्र्दभिक हुन्छ ।

 

चौकुने गाउँपालिकामा एमालेको जित सुशासन, विकास र समृद्धि चौकुनेको आधार बेरोजगारी र गरिवी अन्त्य हाम्रो अभियान भन्ने मुल नारा सहित स्थानीय तहको निर्वाचनमा एमाले पार्टीले चौकुने विकास घोषणा पत्र तथा प्रतिवद्धता जारी गरिएको थियो । जुन घोषणा पत्र ४ पेजको रहेको थियो । जसमा एमाले पार्टीका उम्मेदवारको फोटो सहित जारी घोषणा पत्र तुलनात्मक रुपमा अन्य दलको भन्दा उत्कृष्ट भएको चुनावताका सर्वसाधारण तथा अन्य राजनीतिक दलका नेताहरुले स्विकार गरेका थिए ।

 

चौकुने विकास प्रतिवद्धता तथा घोषणा पत्रमा खाश गरि बृहत पालिकाको गुरु योजना निर्माण, अध्ययन तथा अनुसन्धान नीति प्रतिष्ठान स्थापना, सबै विद्यायका पक्की कम्पाण्ड निर्माण, मगर तथा राजी संग्रालय निर्माण, पार्क तथा बगैचा निर्माण, जेष्ठ नागरिक रमाइलो मञ्च स्थापना, मेट्रो रेलको अध्ययन अनुसन्धान,भ्रष्ट्रचार विरुद्ध अभियान, भूमिहिन तथा सुकुम्वासीका लागि लालपुर्जा वितरण, बस्ती विकास, सामुदायि एफ एम सन्चालन, अस्पताल निर्माण, घर घरमा खानेपानी, बायोग्यॉस, चौकुेन उज्यालो कार्यक्रम, पशु पालन फर्म सन्चालन अनुदान, डेरी सन्चालन, बाख्रा पालन फर्म सन्चालन, जलविद्युत आयोजना सन्चालन, पक्की पुल निर्माणका लागि पहल,साविकका सबै गाविसहरु लगाम, बेतान, विजौरा, गुटु तथा घाटगाउ‘का सडकहरुको स्तरउन्नती, शित भण्डार, प्राविधिक शिक्षालय, तोश्रामा बन विज्ञान क्याम्पस अनुदान, गुटुमा कृषि क्याम्पस, विजौरामा साइन्स क्याम्पस,घर घर सुरक्षा भत्ता वितरण, प्रत्येक नागरिकको बैक खाता अनिवार्य, पर्यटन पुर्वाधार विकास, सभा हल निर्माण, कक्षा ८ देखि १२ कक्षा सम्म पढने सबै विद्यार्थीका लागि निःशुल्क ल्याप्टप वितरण, धनराशमा चिडिया खाना निर्माण,मिनरल, मम, हूमपाइप, दुनाटपरी जस्ता उद्योग सन्चालन, दमकल, स्काइभेटर खरिद, सबै माध्यामिक विद्यालयमा सार्वजनिक बस खरिद, हरेक विद्यालयका प्रअका लागि मोटर साइकल खरिद,पुस्तकालय स्थापना,सबै दलितका लागि घर अनुदान,सरकारी परिचय पत्र जारी, अध्यक्ष तथा उपाध्यक्ष जनता मिलन कार्यक्रम जस्ता महत्वकाक्षी कार्यक्रम उम्मेदवारको सहमतिमा पार्टीले घोषण पत्र सार्वजनिक गरिएको थियो । एमाले पार्टी चौकुेनेले जारी घोषणा पत्रका विषयमा तत्कालित मन्त्री हृदयराम थानीले समेत विभिन्न आमभासमा गरि टिप्पणी गर्नु परेको थियो । घोषणा पत्रको बारेमा चुनाव ताका चोकचौरमा बहसले बजार तताउदै गएको थियो ।


चौकुनेमा काग्रेस र माओवादी लगाएत अन्य उम्मेदवारले जनताको चाहना अनुसार को घोषणा पत्र जारी गर्न भ्याएका थिएन केवल औपचारिकतामा आधारित भएको जनताले आलोचना गरेका थिए ।

 

एमालेले जारी घोषणा पत्र निर्माणका लागि पार्टीले हरिप्रसाद अधिकारीको संयोजकत्वमा नन्दाराम रिजाल, लक्ष्मण आले र हरि खनाललाई जिम्मेवारी दिएको थियो । घोषणा पत्र १० वटै वडामा गएर नागरिकका अपेक्षा, आवश्यकता र चौकुनेको समृद्धिका लागि तयार गरिएको थियो ।पार्टी सचिव मोहनसिह वडुवालको संयोजकत्वमा निर्वाचन परिचालन र प्रदेश संगठन कमिटीका सदस्य क ताराप्रसाद देवकोटको अध्यक्षतमा आर्थिक परिचालन कमिटी बनाइ योजनाबद्धता निर्वाचन होमिएको एमाले चौकुनेले घोषणा पत्रलाई आधार बनाइ निर्वाचनमा प्रतिपस्र्धा जादा जनताले मन पराएर सो पालिका मा एमाले पार्टीले अध्यक्ष र उपाध्यक्ष सहित पुर्ण बहुमत सहित ६ वटा वडामा निर्वाचित गराउन सफल भएको र केहि कमी कमजोरी तथा संगठन कमजोर भएकोले २/२ वडामा माओवादी र नेपाली काग्रेसले जितेको थियो ।

 

निर्वाचन पश्चात पार्टीले निर्वाचित जनप्रतिनिधिसंगै बैठक राखि चौकुेने गाउँपालिकाले जारी घोषणा पत्र अनुसार बजेट, नीति र कार्यक्रम बनाउन निर्देशन दिएको थियो । करिव ३३ करोड बजेट अनुदान रहेको चौकुनेले जारी विकास घोषणा पत्र र प्रतिवद्धता पत्र अनुसार अधिकाशं योजना घोषणा पत्र अनुसार नै तय गरेको छ । सोहि अनुसार नीति पनि तय गरेको छ । विनियोजित बजेट, कार्यक्रम कार्यान्वयन कस्तो हुन्छ सबै तिरबाट हेरिएको छ ।

 

ऐतिहासिक पहिलो गाउँसभा २०७४ चौकुने गाउँ पालिकामा सुशासन,विकास र समृद्धि चौकुने को आधार बेरोजगारी र गरिवी अन्त्य हाम्रो अभियान भन्ने मुल नारा सहित सम्पन्न भएको थियो जुन पार्टीले जारी घोषणा पत्र कै मुल नारा तय भएको थियो ।

 

२०७४ असार ३० गते सार्वजनिक गरिएका नीति र कार्यक्रम यस प्रकार रहेका थिए । यिनको समिक्षा गर्न आवश्यक रहेको महसुश गरिएको छ । वित्तिय तथा स्रोत परिचालन, शहरी विकास पूर्वाधार विकास, सामाजिक विकास, कृषि, वातावरण, स्वास्थ्य एवं सरसफाइ सम्बन्धिका कार्यक्रमलाई महत्व दिदै गाउँपालिका भित्र रहेका वाँझो जमिनलाई सोहि व्यक्तिले प्रयोगमा नगरेमा लिजमा लिएर वा दिएर भएपनि कृषि व्यबसायिक खेति गर्ने सवैलाई प्रेरित गरिने छ । जस्ता कार्यक्रम तथा नीति केन्द्रित योजना सार्वजनिक गरिएका थिए ।


बालमैत्री नीति,युवा नीति,सुशासन नीति,भू–उपयोग नीति,भुमिसुधार नीति,सुचना संन्चार नीति, खानेपानी तथा सरसफाइ नीति,वित्तिय नीति,तिनखम्बे अर्थनीति,विकास नीति,शिक्षा नीति,श्रोत परिचालन नीति,सामाजिक परिचालन नीति,सामाजिक सुरक्षा नीति,स्वास्थ्य नीति तथा वन नीति २०७४ असार ३० गते सम्पन्न गाउँसभाले पारित गरेको थियो ।


पार्टी र निर्वाचित जनप्रतिनिधिहरु तय गरेका महत्वकाक्षी कार्यक्रमहरुमा बजेट विनियोजन गरि पालिकाले नमुना कमाएको छ । गाउ‘ सभाले पारित कार्यक्रमहरु र एमाले पार्टीले जारी गरेको घोषणा पत्रको तारतम्य मिलेको छ ।पार्टी जनप्रतिनिधि विच भएको समन्वयका कारण गतिला कार्यक्रम तय भएका थिए । आम चौकुने बासीले पालिकाले समन्वय मा थप ध्यान दिन नसकि बनाएका योजनाले परिणाम दिन सक्दैनन भन्ने कुरामा विश्वस्त छन ।

 

रोजगार कार्यदल सेवा गठन, चौकुने उज्यालो कार्यक्रम,जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम,कृषि क्याम्पस गुटु,वन विज्ञान क्याम्पस तोश्रा,सामुदायिक एफ एम स्थापना गुटु, बृहत खानेपानी आयोजना कार्यालय स्थापना, विद्युतीकरण १० वडाहरुमा, हरेक विद्यालयमा साइन्स ल्याब स्थापना,पुष्पलाल स्मृति पार्क स्थापना १० वडाहरुमा, ब्यावसायिक बाख्रा पालन कार्यक्रम,ब्यावसायिक कृषि कार्यक्रम,महिला शसक्तिकरण कार्यक्रम, लगाम र घाटगाउ‘मा प्राविधिक शिक्षालय कार्यक्रम, गुटु घाटगाउ सडक,तोश्रा कुमाला सडक,विजौरा देखि बागमारा पुच्मा सडक, गुटु क्षेत्र भित्र सबै सडकको स्तर उन्नति, साल्म खोप्री देखि कोइरालबास सडक, राना गैरा रेक्चा सडक,धनराश सिमलगैरा सडक, लिफट सिचाइ योजना कुमाला घाटगाउ‘ तथा मायाताल विजौरा,सार्वजनिक सेवा प्रवाहका लागि कार्यालय डिजिटललाइजेसन, चिडियाखाना निर्माण लगाम धनराशमा ,पक्कि सिचाइ कुलो निर्माण विभिन्न योजनाहरुमा,सार्वजनिक शौचालय निर्माण, लघु जलविद्युत आयोजनाहरु बेतान, लगाम र बेतखोली रेक्चा, हरेक विद्यालयको पक्की कम्पाण्ड निर्माण तथा पर्यटकीय क्षेत्रको विकास ( बुडिपडे, कुण्डली, विनिघाट, घाटगाउ दोभान )का लागि बजेट विनियोजना गरे पनि सबै योजनामा बजेट विनियोजन गर्न सकेको अवस्था छैन ।

 

पारित नीति र कार्यक्रमहरु अनुसार सरकारले दिएको अनुदान बजेट न्युन रहेको छ ।योजना विनियोजन गर्दा क्रमागत योजना राख्नु पर्ने भए पनि यसो हुन सकेन । चौकुनेले तय गरेका कार्यक्रम र नीति अनुसार समृद्ध चौकुने बनाउन दक्ष जनशक्ति जरुरी हुन्छ । तर प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगाएत वडा सचिवहरु समेत अभाव देखिएको चौकुनेमा निर्वाचित जनप्रतिनिधिहरुले प्रयाप्त मात्रामा दरबन्दी अनुसार कर्मचारीको ब्यवस्था गर्न जरुरी छ। यसो हुन सकेको छैन । अनुगमनलाई प्रयाप्त मात्रामा बजेटको ब्यवस्था गरी सन्चालित योजनाको गुणस्तरीयता कायम गर्न जरुरी छ ।यसका लागि अनुगमन संरचना बनाइ लागु गर्न आवश्यक देखिएको छ ।

 

करिव ४७ प्रतिशत गरिवी रहेको चौकुने भित्र चौकुेन सिमेन्ट खानी, बेतन कर्णाली विद्युतीकरण, भेरी, कर्णाली नदिको पानी र प्राकृतिक श्रोत साधनको प्रयाप्तता, २९ हजार हेक्टर बढी वन जंगल रहेको छ । चौकुनेको आमुल विकास गर्न सरोकारवाला बीच हुनु पर्ने जति छलफल र बहस हुन सकिराखेको छैन । ६७ प्रतिशत साक्षरता भए पनि पालिकाले शिक्षा सरोकारवालासंग हुन पर्ने जति छलफल गरी शिक्षा ऐन बनाउन सहयोग लिइरहेको छैन ।अनुदानमा आधारित बजेट बाहेक वाह्य सहयोग जुटाउन सकिराखेको छैन । यसका लागि विज्ञ समुह बनाइ कार्य गर्न जरुरी छ । सडक निर्माणका नाममा जथाभावि डोजर प्रयोग भएको छ । यसलाइ नियन्त्रण गर्न आवश्यक छ । सडक गुरु योजना बनाइ योजनाबद्ध कार्य गर्न आवश्यक छ ।

 

नीति र कार्यक्रमलाई सफल बनाउन दक्ष र आवश्यक कर्मचारीको ब्यवस्था अनिवार्य छ । पालिकालाई समृद्ध तथा सुशासन युक्त बनाउन ऐन कानुनका लागि सरोकारवालासंग ब्यापक छलफल गरी बनाउन जरुरी छ । हचुवाको भरमा बनाउने कानुन र ऐनका कारण बनाउन खोजिएको चौकुनेको भविश्यको सुन्दर शहरका लागि विकास गर्न सकिदैन । यस कारण निर्वाचित जनप्रतिनिधिहरुले यसका लागि कसरत गर्न आवश्यक छ ।

 

चौकुने गाउँपालिकाको केन्द्रको विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, प्राकृतिक श्रोत साधनको सहि सदुपयोग का लागि विगतमा गरिएका प्रतिवद्धता कार्यान्वयन संगै सरोकारवालसंगको समन्वय, सहकार्य तथा बहस गर्नु अनिवार्य शर्त हो ।

 

चौकुने गाउँपालिकाले स्थानीय नागरिकलाई रोजगार दिने खालको घोषणा पत्रमा उल्लेख गरे पनि यस वर्ष बजेट अभावले बजेट विनियोजन नगरे पनि आउदो वर्ष स्थानीय श्रमदानको हर हिसाब गरि सोही संख्यामा स्थानीय नागरिकहरुलागि रोजगारीको संख्याका लागि विज्ञापन गर्न जरुरी छ । १५ हजार देखि १ लाख कमाउनका लागि विदेश जाने चौकुेनका युवाहरुका लागि कृषि, पशु पालन, सडक मर्मत,जलविद्युत,विद्युतीकरण, सिमेन्ट खानी, भवन निर्माण, विद्यालय भवन,खानेपानी, वनजंगल उद्योग र सिचाइ योजनामा कार्य गर्ने गरि प्रयाप्त मात्रामा रोजगारी दिन सकिने थुप्रै उपायको खोजी गरि समद्ध चौकुेन बनाउन सकिन्छ । आगामी दिनमा निर्माण औजार आफै खरिद गर्ने र श्रमदानलाई उच्च प्रथामिक दिनु पर्ने देखिन्छ । सके डोजरमुक्त पालिका बनाउनु पर्दछ ।

 

३० लाख विनियोजना चौकुनेको आवधिक योजना (मास्टर प्लान) बनाउका लागि विनियोजन गरिएको बजेट प्रयाप्त हो । यसबाट सडक , जलश्रोत, खानेपानी, प्राकृतिक श्रोत परिचालन,जल विद्युतीकरण, सामाजिक सेवा,शिक्षा तथा स्वास्थ्यका लागि विषयगत योजना बनाइ समग्र विकासको गोरेटो तयार गर्न सकिन्छ । यसका लागि सार्वजनिक सुचना जारी गरि प्रतिस्पर्धात्म रुपमा योजना निर्माण गर्न जरुरी छ ।लागत सहभागिताका योजना लाई उच्च प्राथामिक दिन आवश्यक यसबाट स्थानीय रोजगारी सिर्जनामा सहज हुन जान्छ ।

 

वाम गठबन्धनको पुर्ण दुई तिहाइ बहुमत भएकोको सदुपयोग गर्न सके यसबाट फाइदा मिल्ले देखिन्छ नकि दुइ तिहाइ बहुमतको दम्भ गर्न थालियो भने चौकुनेको विकास धकेलिने सम्भावना रहन्छ । राजनीति दलका नेता र पार्टी,सरोकारवाला बीच ब्यापक सहकार्यको नीति बनाउन जरुरी छ ।यसैमा चौकुनेको भविश्य जोडिएको छ ।


कर्णालीको पलाता गाउँपालिका अध्यक्षलाई धन्यवाद छ । मासिक २४ हजार दिएर करिव १०० जना वेरोजगार ब्यक्तिलाई नियुक्ति दिएर रोजगार दिलाएर विकासमा योगदान दिने गरी बजेट विनियोजन गरिएको पाइयो । देशभरबाट पालिका अध्यक्ष धन्यवादका पात्र भएका छन । चौकुनेको घोषणा पत्रमा उल्लेखित रोजगार कार्यदलको मर्म बुझाउन र बुझन नसक्दा बजेट विनियोजन हुन सकेन धन्य छ पलाता गाउ‘ पालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई ।

 

चौकुेन घोषणा पत्रमा उल्लेखित विकासका लागि, रोजगार कार्यदल सेवा गठन, चिडिया खाना, मेट्रो रेलको अध्ययन अनुसन्धान, सरकारी विद्यालय ८ देखि १२ कक्षा सम्मका सबै विद्यार्थीका लागि ल्याप्टप वितरण, प्रअको क्षमता विकास लागि मोटर साइकल उपलब्ध, विद्युतीकरणका लागि पोल खरिद, सरकारी पशुपालन तथा कृषि फर्म, सामुदायिक टेलिभिजन, मिनरल उद्योग, पेट्रोल पम्प स्थापना, ह्मपाइप उद्योग, जस्ता योजनालाई हल्का बुझने जनप्रतिनिधिहरुका कारण विकासको गति र समय सापेक्ष जनताका मागको तालमेल गर्न नसक्दा घोषणा पत्र सिमित कागजमा हुन सक्छ । यसका लागि ब्यापक कार्यपालिको बैठकमा छलफलको एजेण्डा गर्न आवश्यक छ ।


सुशासन आजको अनिवार्य शर्त हो । गाउँपालिकामा नियमित सार्वजनिक सुनुवाइ, सामाजिक परिक्षण, खर्चको सार्वजनिकरण जस्ता कार्य अनिवार्य भए पनि सुर्खेतका कुनै पनि तहले यस तर्फ ध्यान दिन सकेको पाइएको छैन । चौकुेन गाउँपालिका समेत यसमा चुकेको पाइएको छ । सामाजिक जवाफदेहितका संयन्त्रको अभ्यास र प्रयोग हुन सकेको छैन । सुशासन र पारर्दशिताका लागि यसको प्रयोग अनिवार्य शर्त हो ।

 

सुचनाको हक २०६४ अनुसार आम नागरिकलाई सुचना पाउने र दिने हक अनुसार पालिकाले यस तर्फ समेत योजना बनाउन जरुरी छ । पालिकाले विनियोजन गरेको बजेट तथा कार्यक्रमहरुको पारदर्शिताका लागि योजना पुस्तक प्रकाशन जरुरी छ । होडिङ्ग वोर्ड, सार्वजनिक परिक्षण, नियमित योजनाको अनुगमन, समग्र गैससहरुलाई परिचालनका लागि सामाजिक परिचालन कार्यक्रम जरुरी छ । सन्चार माध्यमसंगको समन्वय अभिवृद्धि समेत जरुरी छ । जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास, अध्ययन, अवलोकन भ्रमण, नयॉ प्रविधि तथा नयॉ कानुनको निर्माण, आवद्यिक योजना निर्माण, प्रो फाइल अद्यावधि, साधन श्रोतको समुचित प्रयोग, समन्वय र सहकार्य जस्ता विषयलाई संस्थागत विकास गर्न जरुरी छ । यस्तो गर्न सकेमा सुन्दर चौकुनेको परिकल्पना साकार हुने पक्का छ ।

 

दुर्भाग्यपुर्ण भन्नै पर्छ असार ३० पारित कार्यक्रमको हाल सम्म योजना पुस्तक निकाल्न सकिएको छैन । जसका कारण पारित कार्यक्रमलाई कार्यपालिकाको बैठकले विच बिचमा काटछाट गर्दा चिडिया खाना,सामाजिक परिचालन कार्यक्रम,सबै विद्यालयमा साइन्स ल्याब जस्ता कार्यक्रम कटौती परेका छन । सबै चौकुने भित्र निर्माण गरिने सडक ८ देखि १० मिटर भन्दा कमका सडक बनाउन नपाइने नीति पारित गरे पनि सो अनुसार हुन सकेनन । भौगलिक कारणले यो नीति पुर्णत कार्यान्वयन हुन सकिएको छैन भन्ने सवाल आएको छ । यस कारण अवको दिनमा कार्यक्रम र जनताको माग विच तालमेल गर्न जरुरी छ ।


पार्टीले निर्वाचन ताका जारी घोषणा पत्रलाई आगामी ४ चार वर्षमा पुरा गर्न जरुरी छ । यसका लागि सरोकारवाला निकाय बीच ब्यापक छलफल गरी समय सापेक्ष कार्यक्रम बनाइ पालिकाको आगामी योजनामा समावेश गरी नागरिकका विकासको अपेक्षा पुरा गर्न प्रतिवद्ध हुन स्थानीय सरकारका जनप्रतिनिधिलाई जरुरी छ ।यसैमा चौकुेनेको सुन्दर भविश्य जोडिएको छ ।

२०७४ माघ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्