Birendranagar Municipality

‘प्याराप्लेजिक’ पत्रकार सम्मानित

‘प्याराप्लेजिक’ पत्रकार सम्मानित

२४ बैशाख, काठमाडौं– ‘व्हील चेयर’ पत्रकार गजेन्द्र बुढाथोकी सम्मानित भएका छन् । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल सरकारले उनलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।


उदयपुरको गाईघाटमा जन्मेका गजेन्द्र बुढाथोकी ०५१ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । आठ बर्ष अघि दुर्घटनामा परी ‘स्पाइनल कर्ड इन्जुरी’ भोगेका उनी हाल कारोबार राष्ट्रिय दैनिकमा समाचार सम्पादकका रुपमा कार्यरत छन् ।


पुरस्कारबाट सम्मान गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै पत्रकार बुढाथोकी भन्छन्– ‘२३ बर्षीय पत्रकारिता यात्रामा जीवनको सार्थकताको उच्च मूल्याँकन भएको महसुस भएको छ ।’


हाल बुढाथोकी विभिन्न सामाजिक अभियानमा समेत संलग्न छन् । उनी अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि उच्चस्तरीय समितिका सल्लाहकार सदस्य छन् ।


बुढाथोकी व्हील चेयर म्याराथन र अपाङ्गता भएका व्यक्तिहरुको आत्मबल बढाइ बाँच्न उत्प्रेरणा दिने अभियानमा पनि सक्रिय छन् । उनले समकालीन नेपाली अर्थतन्त्र, आर्थिक उदारीकरणका २० बर्ष जस्ता आर्थिक क्षेत्रका उपयोगी पुस्तकहरु प्रकाशन गरेका छन् ।


राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेमा बुढाथोकीसहित चितवनका गुणशेखर शर्मा, मोरङका शिवबहादुर कार्की र बाँकेका सिराज खान रहेका छन् ।


यसैगरी सरकारले चारजनालाई बरिष्ठ पत्रकार सम्मान दिएको छ । सम्मान पाउनेमा पत्रकारहरु मदनमणी दिक्षित–काठमाडौं, नारायणप्रसाद शर्मा– दाङ, कृष्णा ताम्राकार– काठमाडौं र विश्वबन्धु भण्डारी– तनहुँ रहेका छन् ।


सरकारले २०७३ सालदेखि गोरखापत्र स्थापना भएको दिन बैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालेको छ ।

२०७४ बैशाख २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्