२४ बैशाख, रुकुम– स्थानीय चुनाव बिरोधी गतिबिधि गरेको आरोपमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १९ नेता तथा कार्यकर्तालाई प्रहरीले सार्वजनिक अपराध अन्तर्गतको मुद्दामा अनुसन्धान सुरु गरेको छ । उनीहरुलाई प्रहरीले रुकुमको आठबिसको र मुसिकोट नगरपालिकाबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमका प्रवक्ता थमन रजाँलीले सेरोफेरोसंग भने– ‘निर्वाचनको विरोध गर्ने, चन्दा उठाउने र निर्वाचनको काममा लागेकालाई धम्की दिने लगायतका काममा संलग्न भएकोले हामीले पक्राउ गरी अनुसन्धान थालेका हौं ।’ पक्राउ परेका सबैलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।रजाँलीका अनुसार नेपाल कम्युनिष्ट पार्टी रुकुमका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, राप्ती ब्युरो सदस्य गम्भीर शिर्पाली, राजकुमारी छिनाल र मुसिकोट बहुमुखी क्याम्पसका उप–प्राध्यापक समेत रहेका हरिविष्णु ओली लगायत १९ जना लाई हिरासतमा राखी अनुसन्धान अघि बढाईएको छ । पक्राउ परेका २५ जना मध्ये छ जना कलाकारहरुलाई भने प्रहरीले मुक्त गरेको छ ।
केही दिनअघि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुकुम सदरमुकाम खलंगामा कार्यक्रम गरी निर्वाचन बहिष्कार र खारेजी अभियानको शुरुवात गरेको थियो । साथै, निर्वाचन बहिष्कारको सन्देश दिने विभिन्न पर्चा छर्नुका साथै वालपेन्टिङ गरेका थिए ।
संघीय समाजवादी फोरम नेपाल, रुकुम र नयाँ शक्ति पार्टी नेपाल, रुकुमले बिना पुर्जी उनीहरुलाई पक्राउ गरेकोमा विरोध जनाउँदै रिहाईका लागि माग गरेका छन् ।
प्रतिकृया दिनुहोस्