२९ माघ । मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल सुर्खेतमा कार्यरत बालरोग बिशेषज्ञ डा. नवराज केसीले अति विपन्न तथा सामान्य स्वास्थ्य उपचारबाट बञ्चित बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । उनले न्यानो सुर्खेत अभियान अन्तर्गत विगत चार महिनादेखि सुर्खेतका विभिन्न ७ ठाउँमा यो अभियान सञ्चालन गर्दै आएका हुन् ।
बाढी प्रभावितहरु बस्ने गिरीघाट, लेखगाउँ, तरङ्गा लगायतका ठाउँका बालबालिकालाई उक्त सेवा दिइएको केसीले जानकारी दिए । उनले व्यक्तिगत पहलमा उपचार संगसंगै जाडोको लागि न्यानो कपडा समेत वितरण गर्दै आएका छन् । विशेष गरी टुहुरा तथा आमाबाबुको निगरानीमा नरहेका बालबालिकाका लागि उक्त अभियान सञ्चालन गरिएको केसीले जानकारी दिए । फाउन्डेशनले अपाङ्गता भएका बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य उपचार तथा शैक्षिक सामाग्री र कपडा समेत वितरण गर्दै आएको छ ।
विइङ्स फाउन्डेशन नेपालको संस्थापक अध्यक्ष समेत रहेका केसीले यस अभियानका लागि आफ्नो मासिक तलबबाटै केही रकम खर्च गर्दै आएका छन् । उनले भने ‘यो अभियानले सुर्खेतका प्रत्येक वडाका बालकालिका कस्तो अवस्थामा बाँचिरहेका छन् भन्ने तथ्याङ्क संङ्कलन गर्न पनि सहयोग गर्छ । यसमा जनप्रतिनिधिहरुको पनि ध्यान जाओस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।’
तत्कालका लागि सुर्खेतमा मात्र सञ्चालनमा रहेको यो अभियान विस्तारै प्रदेश नम्बर ६ का सबै जिल्लाहरुमा सञ्चालन गर्ने उदेश्य रहेको पनि केसीले सेरोफेरोसंग बताए ।
प्रतिकृया दिनुहोस्