५ फागुन । प्रदेश नम्बर ६ को शनिबार बसेको तेस्रो प्रदेशसभा बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ। नवनिर्वाचित सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको पहिलो बैठकले माओवादी केन्द्रकी सांसद पुष्पा घर्ती विष्टलाई उपसभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ।
प्रदेशसभाले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न पाँच जना सदस्यलाई मनोनीत गरेको छ। जसमा सांसदहरु गणेशप्रसाद सिंह, दिनबन्धु श्रेष्ठ, पदमबहादुर रोकाय, राजु नेपाली र सोशीला शाही छन् ।
यसैगरी बैठकले सांसदहरु दलबहादुर रावल, दीनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, प्रकाश ज्वाला, मिनासिंह रखाल, यज्ञबहादुर बिसी, सीताकुमारी नेपाली र सोशीला शाही रहेको प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । १५ दिन अवधि तोकिएको समितिले सदस्यहरुमध्येबाट एक जनालाई सभापति चयन गर्ने बताइएको छ।
सभामा राजनीतिक दलका प्रतिनिधि सांसदहरुले प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री, सभामुख र उपसभामुखलाई बधाई ज्ञापन समेत गरेका थिए । अर्को बैठक फागुन ९ गते दिउँसो १ बजे बोलाइएको छ ।
प्रतिकृया दिनुहोस्