२५ बैशाख, सुर्खेत- सुरक्षित आप्रवासन सम्बन्धी सन्देश दिन युवाहरु दौडेका छन् । बैदेशिक रोजगारीमा जानेहरुका लागि जानकारीमूलक सन्देश दिन युएसएड को आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको सहजीकरणमा सञ्चालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रबर्धन (पहल) कार्यक्रमले दौडको आयोजना गरेको हो । करीब आठ सय मिटरको दौड सुर्खेतको घण्टाघरदेखि आवास क्षेत्रस्थित सुन्दर नेपालको कार्यालयसम्म भएको थियो ।
दौडमा सुर्खेत जिल्लास्थित विभिन्न गैह्र सरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहको थियो । ६३ जनाको सहभागीता रहेको उक्त दौडमा महिलातर्फ वाताबरण सुधार समाजका पार्वती बस्नेत प्रथम, आशा सन्जालका सम्झना सुनार द्वितीय र अन्तर निर्भर समाजका मन्जु थापा तृतीय भएका थिए । यसैगरी पुरुषतर्फ हुरेक नेपालका पवनकुमार वली प्रथम, वातावरण समाज सुुधारका थलप्रसाद ढकाल द्वितीय र सुन्दर नेपाल संस्थाका गगन खड्काले तृतीय स्थान प्राप्त गरेका थिए ।
दौड पश्चात् सहभागी सबैले सन्देश प्रवाहसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त प्रतिबद्धता पत्रमा सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने, नेपाल सरकारद्वारा मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट आफ्नो उपस्थितिमा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउनु पर्ने, मान्यता प्राप्त बीमा कम्पनीबाट अनिवार्य रुपमा बीमा गराउनु पर्ने, अभिमुखीकरण तालिम लिनुपर्ने, पासपोर्ट दिंदा र रकम बुझाउँदा रसिद वा भरपाई लिनुपर्ने, वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्ने र वैदेशिक रोजगारमा जाँदा आवश्यक सबै कागजात सम्हालेर राख्नुपर्ने लगायतका जानकारी छन् ।
महत्वपूर्ण कागजातहरुको प्रतिलिपि एक प्रति आफूसँग राख्न र अर्को प्रति घर परिवारलाई अनिबार्य रुपमा छोड्ने तथा देश छोड्दा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र जाने जस्ता कुराहरु पनि प्रतिबद्धता पत्रमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्