७ फागुन । मुगुबाट निर्वाचित प्रदेश सांसद चन्द्रबहादुर शाहीले आफूलाई मन्त्री नबनाएको भन्दै पदबाट राजीनामा दिने बताएका छन्। उनी राजीनामा पत्र बोकेर आजै सुर्खेतबाट जहाजमा काठमाडौं गएका छन्।
नेकपा एमालेको केन्द्रीय सल्लाहकार समेत रहेका शाहीले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राजीनामा बुझाउन लागेको बताए। प्रदेशको सरकार गठनमा पार्टीले अपमानजनक कार्य गरेको भन्दै शाहीले सांसद् तथा पार्टीमा रहेको पद दुवैबाट राजीनामा दिन लागेको बताए।
प्रदेश नम्बर ६ को सरकार गठन गर्दा पार्टीले निरन्तर लागेकाहरूलाई पंछाएको उनको आरोप छ। सरकार बनाउँदा पार्टीले पैसाको भरमा मन्त्री बनाएको शाहीले बताए। प्रदेशसभाको निर्वाचनबाट उनी मुगु प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए।
शाही २०५६ सालमा मुगुबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। मुगुमा एमालेबाट चुनाव जित्ने शाही पहिलो व्यक्ति हुन्। शाही पार्टीको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएक थिए। उनी अहिले पार्टीको सल्लाहकार हुन्। उनले १५ वर्षसम्म मुगुमा एमालेको जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन्।
प्रतिकृया दिनुहोस्