Birendranagar Municipality

खतिवडा, विडारी र राई राष्ट्रियसभा सदस्यमा सिफारिस

सेरोफेरो
खतिवडा, विडारी र राई राष्ट्रियसभा सदस्यमा सिफारिस

८ फागुन । केपी ओली नेतृत्वको सरकारले युवराज खतिवडा, रामनरायण बिडारी र बिमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रीपरिषद बैठकले तीन जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । खतिवडा र राई अर्थविद हुन् भने विडारी अधिवक्ता हुन् । 

 

यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले पठाएको ३ जनाको नाम फिर्ता लिने निर्णय गरेको थियो । चुनावबाट बाम गठबन्धनको सरकार बन्ने निश्चित भैसकेको अवस्थामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुरगामी महत्वको निर्णय नगर्न सुझाब दिएका थिए । दलीय सहमति नगरेरै सरकारले एकल रुपमा नाम सिफारिस गरेको भन्दै शीतलनिवासले ती नामलाई अनुमोदन गरेको थिएन ।

 

देउवा सरकारले झापाका गोपाल बस्नेत, महिला अधिकारकर्मी चाँदनी जोशी र कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको नाम राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो ।

 

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित भैसकेका छन् भने संविधान बमोजिम सरकारको सिफारिसमा ३ जनालाई राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।

२०७४ फागुन ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्