Birendranagar Municipality

सुधारगृह बन्न सकेन सुर्खेत कारागार

सीता वली/सुर्खेत
सुधारगृह बन्न सकेन सुर्खेत कारागार

८ फागुन । पछिल्लो समय कारागारलाई सुधार गृहको रुपमा लैजानुपर्छ भन्ने आवाज उठेका छन् । कारागार ऐन तथा नियममा यो व्यवस्था नभएपनि विभिन्न विशिष्ट व्यक्तिहरुले कारागार एउटा बन्दीको लागि सजाय नभइ जानी वा नजानी गरेका गल्तीहरुलाई सुधार गर्ने ठाउँका रुपमा हेरिनुपर्ने सुझाव दिएका छन् ।

 

कारागारलाई सुधारगृहको रुपमा सञ्चालन गर्नको लागि त्यहाँ बस्ने बन्दीहरुका आधारभूत आवश्यकता र मानव अधिकारका विषयमा विशेष ध्यान दिनुपर्छ । गास, बास, कपास, स्वास्थ्य उपचार र सिपमुलक तालिमको उचित व्यवस्था गर्न सके केही हदसम्म कारागार सुधारगृह बन्न सक्छ । तर सुर्खेत कारागार सुधार गृह नभै मुस्किलले सजाय काट्ने ठाउँ बनेको छ । जहाँ जम्मा ९ कोठामा १ सय ८३ बन्दी बस्छन् । एउटा कोठामा ४८ जनासम्म बन्दीहरु कोचाकोच गरेर राखिएको छ ।

 

न्युनतम एउटा कोठामा ८ जनासम्म राख्न मिल्ने कारागार कार्यलय सुर्खेतका सूचना अधिकारी टेकनारायण अधिकारीले बताए । साधारण जीवनमा हामी एक जनाले एउटा कोठा प्रयोग गर्छौं । तर कोठा अभावका कारण उनीहरु कोचिएर बस्नुपरेको छ । त्यति मात्र होइन कारागार कार्यलय सुर्खेतमा शौचालयको समेत समस्या भएको अधिकारीले बताए । उनले भने- ‘एक सय ८३ जना बन्दीका लागि ३ वटा मात्र शौचालय छन् । त्यसमा पनि महिलाका लागि १ र पुरुषका लागि २ वटा मात्र । शौचालय जानको लागि समेत लाईन बस्नुपर्ने बाध्यता कारागारमा रहँदै आएको छ ।’


२०३४ सालमा २० जनाको क्षमता भएको कारागार निर्माण भएकोमा कारागार व्यवस्थापन विभाग ले ५० जना सम्म अट्ने गरी दुईवटा कोठा थप गरिदिएको थियो । ‘कारागारलाई सुधार गृहको रुपमा सञ्चालन गर्न सबैभन्दा पहिले भौतिक सुधार गरिनुपर्छ,' अधिकारीले भने– 'त्यसपछि कैदी, सुरक्षाकर्मी र कर्मचारीको व्यवहारमा सुधार गर्नुपर्छ ।’ बन्दीहरुको आकस्मिक उपचारका लागि एम्बुलेन्सको समेत अभाव छ । उनीहरुलाई स्वीकृत चिकित्सक र सरकारी अस्पतालमा लैजानुपर्ने कानुनी प्रावधान भएपनि एम्बुलेन्स अभावका कारण निजी क्लिनिकमा लैजानुपर्ने बाध्यता भएको अधिकारी बताउँछन् ।

 

जवर्जस्ती करणी गर्ने सबैभन्दा धेरै, ८२ वषसम्मका कैदी

कारागार कार्यालय सुर्खेतमा सबैभन्दा बढी जवरर्जस्ती करणीका दोषीहरु रहेका छन् । जम्मा बन्दी संङ्ख्या १८३ रहेकोमा जवर्जस्ती करणीका दोषी ५० जना रहेको सूचना अधिकारी टेकनारायण अधिकारीले बताए । त्यसमा पनि चार जना बृद्ध ६५ देखि ८२ वर्षसम्मका रहेको उनले जानकारी दिए ।

 

यस्तै कर्तव्य ज्यानका ३५, लागूऔषधका २७, चेलीबेटी बेचविखनका ४, बहुविवाहका २८, आगलागी तथा अन्य मुद्दाका ३९ जना दोषी रहेका छन् । कारागारभित्र आश्रित बालिका सहित २१ जना महिला समेत रहेको अधिकारीले बताए ।


अढाई वर्षीय नितु पनि कारागारभित्रै

भेरीगंगा नगरपालिकाका खिमबहादुर विकले घरमा श्रीमती हुँदाहुँदै दोस्री श्रीमतीका रुपमा प्रमिशा विकलाई विवाह गरे । गैरकानुनी विवाह गर्ने दम्पत्ति सजायको भागीदार हुनु स्वाभाविक नै हो तर साढे दुई वर्षीय छोरी नितुले पनि कारागारमा समय व्यतित गरेकी छन् । बाहिरी संसारमा घुलमिल हुने र राम्रो व्यवहार सिक्ने उमेरमा उनी कारागारको नारकीय जीवन विताउन बाध्य छन् ।

 

बाबुआमा कारागार चलान हुँदा नितु ९ महिनाकी थिइन् । उनी कारागारमा बस्न थालेको २१ महिना भइसकेको छ । २१ महिनादेखि नितुले बाहिरी संसार नियाल्न पाएकी छैनन् । बालबालिकाको पहिलो पाठशाला घर हो । तर कारागार नै नाबालक नितुको घर बनेको छ ।


कारागारमा प्रति व्यक्ति ७०० ग्राम चामल र ४५ रुपैयाको सुविधा दिने गरेको जेलर लालबहादुर खत्रीले बताए । एक बर्षमा दुई जोर लुगा र स्वास्थ्य उपचार समेत कार्यलयले व्यवस्थापन गर्छ । उनका अनुसार आश्रित बालबालिकालाई दैनिक १० रुपैया र १५० ग्राम चामलको व्यवस्था हुन्छ ।

२०७४ फागुन ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्