८ फागुन । प्रदेश ६ मा भर्खरैमात्र मन्त्रिपरिषद् विस्तार भएको छ । मन्त्रिपरिषद् विस्तार भएसँगै मन्त्रीहरुले आºनो कार्यभार समेत सम्हालेका छन् । तर मन्त्रालयको कार्यक्षेत्रको स्पष्ट खाका र कर्मचारीको अभावमा मन्त्रालय अस्तव्यस्त बनेका छन् । त्यसमाथि भौतिक पूर्वाधार र काम गर्ने वातावरण निर्माण हुन सकेको छैन । उक्त प्रदेशका ७ वटै मन्त्रालयमा कर्मचारी आएका छैनन् । ६ वटा मन्त्रालयमा भने सचिवसम्मको उपस्थिति देखिन्छ ।
भौतिक पूर्वाधार तथा योजना मन्त्रालयमा नै भौतिक संरचनाको अभाव छ । जसका कारण उपलब्ध कर्मचारी भुईंमै बसेर काम गर्न बाध्य छन् । नत उक्त मन्त्रालयको नेतृत्व गर्ने सचिव नै उपस्थित छन् । ३ जना कर्मचारीले मन्त्रालय धान्नुपरेको छ, लेखा अधिकृत नन्दराम कंडेल भन्छन् ‘कर्मचारी नभएपनि भौतिक पूर्वाधार मन्त्रालयको तुलनामा अन्य मन्त्रालयमा काम गर्ने वातावरण छ । तर यस मन्त्रालयमा सामान्य सुविधा समेत छैन ।’ उक्त मन्त्रालयमा २४ जना कर्मचारीको दरबन्दी छ । तर हालसम्म ३ जना कर्मचारी मात्र हाजिर हुन आएका छन् ।
भौतिक पूर्वाधार तथा योजना मन्त्री खड्कबहादुर खत्री भन्छन् ‘सपथ खुवाएर तथा कार्यभार सुम्पिएर मेरो व्यवस्थापन त भयो तर कर्मचारी व्यवस्थापन भएन । कार्यालयमा म आउँदा अधिकृत गएर गेट खोल्छन्,’ उनले भने ‘मन्त्रालय व्यवस्थापनका लागि बजेट पर्याप्त छ तर फितलो व्यवस्थापनले गर्दा कर्मचारी भुईंमै बसेर काम गर्न बाध्य छन् । सचिवको उपस्थिति नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको छ ।’ प्रदेश ६ का ७ वटा मन्त्रालयमा जम्मा २१५ कर्मचारीको दरबन्दी भएपनि अहिले सम्म सबै मन्त्रालयमा ४५ जना कर्मचारी मात्र आएको मुख्य सचिब सुरेश प्रधानले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्