Birendranagar Municipality

काँग्रेसको विधान र नेतृत्व परिवर्तन गर्न दबाब

सेरोफेरो
काँग्रेसको विधान र नेतृत्व परिवर्तन गर्न दबाब

१० फागुन । नेपाली काँग्रेसका पूर्वसांसद र युवा नेताले पार्टीको विधान र नेतृत्व परिवर्तन गर्न दबाब पार्टी नेतृत्वलाई दबाब दिन अभियान सञ्चालन गर्ने भएका छन् । नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा पूर्व सञ्चार राज्यमन्त्री पुस्करनाथ ओझाको सक्रियतामा बिहिबार काँग्रेस मुख्यालय सानेपामा एक पत्रकार सम्मेलन उक्त अभियान शुरु गरेका हुन् ।

 

नेपाली काँग्रेसको शुद्धीकरण तथा सुदृढीकरणका लागि ‘हाम्रो अभियान, हाम्रो कांग्रेस’ नामको अभियान सञ्चालन गरिने ओझाले बताएका छन् । निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोर्नु परेकाले पार्टीको विधान र नेतृत्व तत्काल परिवर्तन गर्न पनि उनीहरुले माग गरेका छन् ।

 

युवा नेता विमल संग्रौला संयोजक रहेको उक्त समूहले पार्टीमा व्यक्ति केन्द्रित गुटबन्दीको अन्त्य गर्ने तथा मुलुकलाई कम्युनिस्ट अतिवादी निरंकुशतामा अघि बढ्न नदिनका लागि पनि यस्तो अभियान आवश्यक रहेको जनाएको छ । संग्रौलाले भने, ‘काँग्रेस इतिहासमै सबैभन्दा कमजोर भएको छ। केन्द्र र प्रदेश कतैपनि कांग्रेसले सरकार बनाउन सकेको छैन भने कतिपयमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा पनि छैन। त्यसैले वर्तमान राज्य संरचना अनुसारको सांगठनिक पुनर्संरचना, कांग्रेसको विधान र नेतृत्व परिवर्तन जरुरी छ।’

 

अभियानमा कांग्रेसका पूर्व सांसदहरू मोहन बराल, जनकराज गिरी, तरुण दलका पूर्व महासचिव अनिलकृष्ण प्रसाईं, रसुवा जिल्लाका पार्टी पूर्व सभापति बालानन्द पौडेल, शिक्षक संघका पूर्व महासचिव मोहन ज्ञवाली, युवा नेताहरू विष्णु पन्थी, टेकराज पौडेल, विनिता अधिकारी, नेविसंघका पूर्व नेता युवराज खातीलगायत छन्।

२०७४ फागुन १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्