Birendranagar Municipality

यस्ता छन् प्रदेश सुरक्षित बनाउने ४० सुत्र

सिता वली/सुर्खेत
यस्ता छन् प्रदेश सुरक्षित बनाउने ४० सुत्र

१० फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिंगो प्रदेशलाई सुरक्षित बनाउन ४० बुँदे कार्यपत्र तयार गरेको छ । मन्त्रालयले बिहिबार एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यपत्र सार्वजनिक गरेको हो ।

 

कार्यपत्रले प्रदेश ६ का मुख्य सडकहरु तथा संवेदनशील स्थानहरुमा आवश्यक सुरक्षा संकेतहरु राख्ने, प्रदेशमा हाल भएको प्रहरी जनशक्ति ५,०९० लाई बढाएर १०,४९० पुर्‍याउने, प्रदेश सदरमुकाम सुर्खेतमा अत्याधुनिक कन्ट्रोल रुम स्थापना गर्ने लगायत महत्वपूर्ण योजना समेटेको छ ।

 

मन्त्रालयले विभिन्न सरोकारवालासंगको छलफलपछि तयार गरेको उक्त कार्यपत्रमा प्रदेश ६ का १० जिल्ला सदरमुकाममा सिसिटिभि क्यामरा जडान गर्ने, पर्यटकीय क्षेत्रको सम्भावना र चुनौती पनि बढि भएकोले छुट्टै पर्यटन प्रहरी खटाउने, सडक दुर्घटना न्युनीकरण तथा यातायत व्यवस्थापनका लागि प्रत्येक सवारी साधनमा जिपिआरएस ट्रयाकर राख्ने व्यवस्था मिलाउने, अपराध न्युनीकणका लागि प्रत्येक वडामा नागरिक सुरक्षा समिति गठन गर्ने, सडक बालबालिकालाई व्यवस्थित बनाउन प्रहरी र जनताको साझा अभियान सञ्चालन गर्ने लगायतका महत्वाकाँक्षी योजनाहरु समेटिएका छन् ।

 

त्यस्तै मन्त्रालयले प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहको संयोजकत्वमा ५ सदस्यीय शान्ति सुरक्षा कार्यदल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब भक्तबहादुर कार्कीको संयोजकत्वमा ६ सदस्यीय डिजिटल प्रदेश निर्माण कार्यदल र मन्त्रालयका कानुन अधिकृत तुलसा गैरेको संयोजकत्वमा ४ सदस्यीय कानुन मस्यौदा सम्बन्धी कार्यदल गठन गरेको छ ।

 

उक्त तीनै कार्यदलले बिहिबार देखि नै काम शुरु गर्ने बताईएको छ । कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले रगतको मसीले रेखाङ्कन गरेको यो प्रदेशको शान्ति र सुरक्षाको लागि सबैको साथ आवश्यक रहेको औंल्याए । उनले भने ‘६ नं. प्रदेश सधैं गरिबी हेर्नका लागि सर्बाधिक आगन्तुक बोलाउने प्रदेशको रुपमा चिनिए तापनि आगामी दिनमा समृद्धिको सरोबर हेर्न आउनेछन् । र, त्यो दिन सबैले पर्खेका छन् ।’

२०७४ फागुन १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्