Birendranagar Municipality

प्रदेश ६ को नाम कर्णाली, स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर

सेरोफेरो/सुर्खेत
प्रदेश ६ को नाम कर्णाली, स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर

१२ फागुन । प्रदेश ६ को नाम कर्णाली र स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर तय गरिएको छ । शनिबार बसेको प्रदेश सभाको चौथो बैठकले प्रदेशको नामाकरण र स्थायी राजधानीको विषय दुई तिहाईभन्दा बढी मतबाट टुंगो लगाएको हो ।

 

वैठकमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम कर्णाली राखियोस् भन्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई सांसदहरु नेपाली काँग्रेसका जीवनबहादुर शाही, माओवादी केन्द्रका गणेशप्रसाद सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सोशिला शाहीले समर्थन गरेका थिए । प्रस्तावको पक्षमा ३७ जनाले मत दिएका थिए । ४० सदस्यीय सभामा ३९ सांसद छन् । एक सांसदले राजीनामा दिएका छन् भने सभामुखले मत दिएनन् ।

 

यस्तै बैठकमा प्रदेशको स्थायी राजधानी सुर्खेत बनाउने प्रस्ताव नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पेश गरेका थिए । उनको प्रस्तावमा एमालेका अम्मरबहादुर थापा, माओवादीका नरेश भण्डारी र राप्रपाकी सोशिला शाहीले समर्थन जनाएका थिए । उक्त प्रस्तावको पक्षमा ३६ र विपक्षमा १ मत खसेको थियो ।

 

प्रदेश सभाको उक्त निर्णयसंगै प्रदेशको नाम र स्थायी राजधानीको 'च्याप्टर क्लोज' भएको छ । सुर्खेत, जुम्ला लगायतका जिल्लामा भएको आन्दोलनको बलबाट प्रदेश ६ को रचना गरिएको थियो । आन्दोलनका क्रममा ४ जनाले शहादत प्राप्त गरेका थिए ।

 

प्रदेशको नामाकरण र राजधानीका विषयमा प्रदेश संसदले उपयुक्त निर्णय लिएको प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका अभियन्ता तेजविक्रम बस्नेतले सेरोफेरोलाई बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप-प्राध्यापक समेत रहेका बस्नेतले भने, 'अब यस प्रदेशको समृद्धिका लागि काम गर्ने बेला आएको छ ।'

२०७४ फागुन १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्