१३ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बजार क्षेत्रमा जथाभावी फोहोर फाल्ने र फुटपाथमा व्यापार गर्ने व्यापारीहरुको सामान नगरपालिकाले नियन्त्रणमा लिन थालेको छ । आज नगरको मुख्य स्थानहरुमा यस्तै दृश्य देखियो । नगरपालिकाको गाडी देख्नासाथ फुटपाथका व्यावसायीको भागभाग भएको थियो ।
बजार एवं शहर व्यवस्थापन अभियान २०७४ अनुसार वीरेन्द्रनगरलाई सफा र स्वच्छ राख्ने उदेश्यले कार्यालयले व्याबसायीहरुलाई पटक–पटक फुटपाथमा व्यापार नगर्न र जथाभावी फोहोर नफाल्न आग्रह गरेपनि अटेरी गरेको भन्दै आइतबारदेखि कार्यालयले सामान नियन्त्रण गरी जरीवाना समेत गरेको छ ।
आइतबार कार्यालयले २९ व्यावसायीका एक ट्रक सामाग्री नियन्त्रणमा लिएको थियो । सडकको पेटी छेउमा विक्रिका लागि राखिएका जुत्ता, चप्पल, कपडा, भांडाकुंडाका साथै अन्य सामाग्रीहरु समेत नगरका कर्मचारीले नियन्त्रणमा लिएका थिए । यस्तै सडकमा फोहर फाल्दै गरेका ६ जना व्यावसायीलाई समेत कार्यालयले नियन्त्रणमा लिई सम्झाई बुझाई गरेको वीरेन्द्रनगर नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए ।
उनले भने, ‘हामीले यसअघि पनि धेरै पटक सूचना प्रकाशित गरिसकेका छौं । नगर प्रमुख तथा उपप्रमुखले पनि पटक पटक अनुरोध गर्दासमेत व्यावसायीहरुले अटेर गरेपछि सामान नियन्त्रण गर्न कार्यालय बाध्य भएको हो ।’ अटेरी गर्नेलाई प्रथम पटक सामान हेरी न्यूनतम ५ सय तिरेर सामान दिने र दोस्रो पटक १ हजार जरिवाना लिएर सामान फिर्ता दिने तथा तेस्रो पटक समेत अटेर गरेमा कुनैपनि सामान फिर्ता नहुने गरी जफत गरिने पौडेलले बताए ।
उक्त कार्यका लागि कार्यालयले चारजना बजार निरीक्षकको समेत व्यवस्था गरेको छ । कार्यालयले बजार क्षेत्रमा सिसिटिभी क्यामरा समेत जडान गरिसकेको छ । तर व्यावसायीहरुले आफ्नो व्यापार गर्न पाउने हकको सुनिश्चितता खोज्दै उचित व्यवस्थापनको माग गरेका छन् ।
प्रतिकृया दिनुहोस्