Birendranagar Municipality

बास दिनेलाई भोट

‘हामीलाई जसले पुनर्वासको व्यवस्था गर्छ त्यही पार्टीलाई भोट दिने हो ।’
बास दिनेलाई भोट

२६ बैशाख, सुर्खेत- झुप्रा खोलाको किनार । स–साना खरका बुक्रा । केटाकेटी खेल्ने आँगन भनेको खोलाको बगर । हिउँदमा त जेन तेन दिन वित्छन् । बर्षामा एकछिन पनि सुत्न सकिन्न । कतिबेला उर्लंदो भेलले बस्ती नै सोहोर्ने हो । थाहै हुन्न ।


चुनाव त धेरै पटक आए गए । तर, शान्तिपुरका बादी समूदायले ढुक्कको सास फेर्न कहिल्यै पाएनन् । अहिलेपनि आश देखाउने भन्दा बासको व्यवस्था गर्नेलाई स्थानीय तहको निर्वाचनमा भोट दिने उनीहरुले बताएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ मा पर्ने झुप्राखोलाको किनारमा बस्ने बादी समूदायलाई यस अघिका चुनावमा दलहरुले विभिन्न आशा देखाएर पुरा नगरेकोमा दुःख लागेको छ ।


‘यसपटकको चुनावमा एमाले र माओवादी पार्टी घरदैलो गर्न आए काँग्रेस आएन’ समूदायका अगुवा विष्णु बादीले भने– ‘हामीलाई जसले पुनर्वासको व्यवस्था गर्छ त्यही पार्टीलाई भोट दिने हो ।’ राजनीतिक दलले आश्वासन मात्र दिन्छन्, उपयोग गर्छन् तर पुरा गर्नेलाई मात्र आफूहरुले साथ दिने उनले बताए ।
सरकारले शहरी विकास डिभिजन कार्यालय अन्तर्गत जग्गावाला बादीलाई निःशुल्क घर बनाइदिने योजना ल्याएपनि वादीको नाममा जग्गा नहुँदा समस्या आएको छ ।

सरकारको उक्त योजना पछि बस्तीका १५ जनाले धुल्याबिटमा सेतो पुर्जावाला घडेरी लिएका छन् । अरुको नाममा कहीं केही छैन ।
‘बस्ती संरक्षणका लागि तार जाली, खानेपानी, बत्ति लगायतका समस्या पनि छन्, तर हाम्रो मुख्य समस्या स्थायी बसोबासको हो’ छविलाल बादीले भने– ‘दलहरुले सधैं आशा मात्रै देखाउँछन् । तर पुरा कसैले गर्दैनन् ।’


झुप्रा र भेरीको किनारमा रहेको सामुदायिक वन क्षेत्रमा ४४ सालदेखि उनीहरु बसोबास गर्दै आएका छन् । एक सय १६ घरधुरी रहेको बस्तीमा ९८ बादी, छ राजी, चार ठकुरी, तीन रोकाय, चार विक र एक चौधरीको घर छ । खोलाको गिट्टी, बालुवा बेचेर उनीहरुको रोजीरोटी चलेको छ ।
बस्तीमा छ सय ६५ जना भएतापनि मतदाता नामावलीमा जम्मा ६१ को मात्र नाम छ ।

२०७४ बैशाख २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्