Birendranagar Municipality

कर्णाली प्रदेशभरी एकैसाथ सडक सुरक्षा कार्यक्रम सञ्चालन

सेरोफेरो/सुर्खेत
कर्णाली प्रदेशभरी एकैसाथ सडक सुरक्षा कार्यक्रम सञ्चालन

१९ फागुन । कर्णाली प्रदेशलाई सुरक्षित प्रदेश निर्माण गर्न १० वटै जिल्लामा एकैसाथ सडक सुरक्षा कार्याक्रम सञ्चालन गरिएको छ । भौगोलिक विकटता र भोकमरीको चपेटाबाट मुक्त हुन नसकेको गरिब प्रदेशका रुपमा चिनिएको कर्णाली प्रदेशको सुरक्षालाई ध्यानमा राखि कार्यक्रमको आयोजना गरिएको हो ।

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा प्रदेशभरीनै एकैसाथ कार्यक्रम गरिएको प्रदेश प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले बताएका छन् । सम्वृद्धिका लागि सुरक्षा अभियान भन्ने मुल नाराका साथ कर्णाली प्रदेशका १० जिल्लाका सम्पुर्ण प्रहरी चौकीहरुमा सडक सुरक्षा कार्यक्रम गरिएको हो । 

 

शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रमुख अथिति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । शाहीले सुकिला मुकिला भएर हिंड्दैमा र आदेश दिंदैमा प्रदेशको परिभाषा बदल्न नसकिने भएकोले आवश्यकता अनुसार सबै काम गर्न तयार हुनुपर्ने बताएका छन् । उनले भने ‘आदेश मात्रै दिएर प्रदेश विकास हुंदैन । प्रत्यक्ष रुपमा जनतासंग सहकार्य गर्नसक्ने क्षमता नेतृत्व तहमा पुगेकाले गर्न सक्नुपर्दछ ।'


आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अब प्रदेशका जनताको सुरक्षाको ग्यारेण्टी हुनुपर्ने बताएका छन् । कार्यक्रममा सुर्खेत–जुम्ला सडक खण्डका सवारी चालक कृष्णबहादुर बुढाले आवश्यक कागजपत्र बोकेर हिंड्दापनि विभिन्न बाहनामा ट्राफिक प्रहरीले दुःख दिने गरेको गुनासो गरेका थिए ।

 

उनले भने ‘मैले सवारी चालकको रुपमा काम गर्न थालेको १० वर्ष भयो । अहिले सम्म नियम उल्लंघन गरेको आरोपमा कुनै फाईन तिरेकोे छैन । तर मेरो गल्ती नदेखेपछि विभिन्न बाहनामा प्रहरीले दुःख दिन्छ ।’ जनतालाई दुःख दिने प्रहरीको व्यवहार परिवर्तन गर्न पनि उनले आग्रह गरे ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली प्रदेशलाई सुरक्षित प्रदेश निर्माणका लागि ४० बुँदे कार्ययोजना यसअघिनै सार्वजनिक गरिसकेको छ ।

२०७४ फागुन १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्