२० फागुन । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सदस्यहरुले आज शपथ लिने कार्यक्रम तय गरिएको छ । संघीय संसदका अधिकाँश सदस्यले नेपाली भाषामा र ४४ जना सांसदहरुले आफ्नो मातृभामा शपथ लिने भएका छन् ।
संघीय संसद सचिवालयका अनुसार नेपाली, मैथिली, भोजपुरी, थारु, मगर, अवधि, बज्जीका, नेवारी, हिन्दी, उर्दु र तामाङ गरी ११ भाषामा शपथ हुनेछ । सचिवालयले मागेअनुसार सांसदहरुले शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी बुझाइसकेका छन् ।
प्रतिनिधिसभाका सदस्यहरुलाई आइतबार दिउँसो ४ बजे र राष्ट्रियसभाका सदस्यहरुलाई बेलुका ५ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । दुवै सदनका सदस्यहरुको शपथ ग्रहण कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ ।
प्रतिनिधिसभाका सांसदहरुलाई जेष्ठ सदस्य महेन्द्र राय यादवले र राष्ट्रियसभाका सांसदहरुलाई जेष्ठ सदस्य तारादेवी भट्टले शपथ खुवाउने कार्यक्रम तय गरिएको संसद सचिवालयले जनाएको छ । ६३ बर्षीय यादव नागरिकता बमोजिम ८० बर्षीय भएकाले उनले आफूभन्दा जेष्ठ सदस्यहरुलाई पनि सपथ खुवाउने भएका हुन् । भट्ट ६९ बर्षीय हुन् ।
संसद भवनमा शपथ कार्यक्रम हुनु अगावै राजपा नेता यादव र कांग्रेसकी भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम रहेको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य रहने संबैधानिक प्रावधान छ । राष्ट्रपतिबाट मनोनित ३ जनाको मुद्दा भने सर्वोच्च अदालतमा विचाराधीन छ ।
सोमबार ऐतिहासिक संघीय संसदको पहिलो बैठक बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै शपथ खुवाउन लागिएको हो ।
प्रतिकृया दिनुहोस्