२३ फागुन । राष्ट्रपति निर्वाचनका लागि विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राईको मनोनयन दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फवाट कुमारी लक्ष्मी राईले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।
एमाले स्थायी कमिटीले मंगलवार वर्तमान राष्ट्रपति भण्डारीलाई नै पुनः राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको थियो भने कांग्रेसले बुधबार बिहान राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।
भण्डारीको प्रस्तावकमा माधव नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र ओनसरी घर्ती छन्। यस्तै उनको समर्थकका रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन्।
यस्तै कांग्रेसकी उम्मेदवार राईको मनोनयनमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कडेँल र पार्वती डीसी चौधरी प्रस्तावक छन्। उनका समर्थकमा मेखलाल श्रेष्ठ, राधा घले लगायत छन्।
यहि फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा प्रदेश सांसद, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूले मतदान गर्नेछन्। भण्डारी र राई भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विद्यार्थी थिए ।
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि आज अपराह्न ३ बजेसम्म अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय तोकेको थियो ।
यो पनि पढ्नुहोस्
प्रतिकृया दिनुहोस्