२५ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई तोकीएको छ । कर्णालीका १० जिल्लाको मुख्य केन्द्रका रुपमा रहेको सुर्खेत वीरेन्द्रनगर राजधानी हुनुभन्दा पहिला क्षेत्रिय सदरमुकामको रुपमा रहेको थियो । प्रदेश सभाबाट सर्वसहमतीबाट स्थाइ राजधानी बनेको वीरेन्द्रनगर संग चुनौतीहरु संगै थुप्रै सम्भावनाहरु छन् ।
जनसंङ्ख्याको चाप, बसोबास व्यवस्थापन, सडक व्यवस्थापन, खानेपानी, सरसफाई, सुरक्षा का क्षेत्रमा चुनौतीहरु पनि थुप्रै छन् । कर्णाली प्रदेशको राजधानी भएकाले समेत वीरेन्द्रनगर नगरपालीकाको बजेट पनि अन्य पालिकाहरु भन्दा बढि नै छ । वीरेन्द्रनगरको केन्द्रका अधिकांश भित्री सडकहरुमा खाल्डाखुल्डीको सामना गर्दे पार गर्न बाध्य छन् नागरीकहरु ।

जताततै धुलो, खाल्डा र पानी पर्नसाथ हिलो भोग्न नागरिकहरु बाध्य छन् । वीरेन्द्रनगर ७ र ८ मा प्रदेश प्रमुख देखि संसद सचिवालय र कर्णाली प्रदेशका ७ वटै मन्त्रालयका रहेका छन् । त्यसैले पनि यो क्षेत्रमा मन्त्री, कर्मचारी, सेवाग्राही र कार्यकताका गाडिको चाप अत्याधिक हुने गर्छ । साधन हुनेहरु त्यही खाल्डाखुल्डीको सामना गर्दे यात्रा गर्न बाध्य छन् भने पैदलयात्रीहरु धुलो र धुवाको सामना गर्दे यात्रा गर्नु दैनिकी बनेको छ ।
स्थानिय तहको निर्वाचन भएको १० महिना बितिसक्दा समेत वीरेन्द्रनगर नगरपालीकाले सडकको मर्मतमा खासै चासो देखाएको छैन । सडकमा भएका खाल्डाहरुका कारण सवारी दुर्घटनाको जोखीम समेत उत्तिकै छ । वीरेन्द्रनगर नगरपालीकाले वडामार्फत भित्री बाओहरुमा माटो र गिटि खसाल्ने काम गरेको छ जसका कारण थप सडक कुरुप बनेको त छँदैछ साथै धुलोले नागरीकलाइ हिँड्न समेत कठिन भएको छ ।
वीरेन्द्रनगर ७ र ८ वडाका सडकमा भएका खाल्डा पुर्नको लागी मात्र करिब १५ लाख छुट्याएको नगरपालीकाका इन्जिनियर विशाल अधिकारीले बताए । उनले भने ‘सडकमा खाल्डाखुल्डिका कारण जनतालाई सास्ती भएकोले सहजताका लागी नगरले खाल्डाखुल्डि पुर्ने काम अगाडि बढाएको हो ।’ केहि समयका लागी मात्र यो कार्य गरिएको समेत उनले बताएका छन् ।

उता वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देबकुमार सुवेदीले जनताको सहजताको लागी खाल्डाखुल्डि पुर्ने काम गरिएको भएपनी दिगो रुपमा सडकलाई कालोपत्रे गर्नका लागी टेन्डर आव्हान गरेर अगाडि बढ्ने बताएका छन् । उनले भने ‘सडकका खाल्डा कारण जनगुनासो आउन थालेपछि तत्कालका लागी समस्या समाधान गर्न माटो र गीटिले खाल्डा पुर्ने काम अगाडि बढाईएको हो । त्यसलाई दिगो रुप दिनको लागी टेन्डर आव्हान गरी सडकलाई तत्काल कालोपत्रे नै गर्छौ ।’
दिगो विकासको साटो नगरले टुक्रे विकास गरी जनतालाई झन दुखदिने काम गरेको बताउंछन् वीरेन्द्रनगर ७ का रामबहादुर रावल । उनी भन्छन् ‘ कहिले सडकका खाल्डाखुल्डिले असजिलो कहिले माटोको थुप्रोले असजिलो । सडकमा खाल्डा भएपनि धुलोबाट त बचेका थियौं अब विकासको नाममा नगरले हामीलाई धुलो खुवाउदै छ ।’
वीरेन्द्रनगर ८ का विकास सुनार भन्छन् ‘निर्वाचन सम्पन्न भएको १० महिनापछि मात्र नगरले विकासको नाममा सिन्को भाँचेको छैन । सडकलाई कालोपत्रे गर्न छोडेर माटो थुपार्दै छ जसका कारण सडक छेउबाट हिड्ने यात्रुलाई हैरानी भएको छ ।’ उनले थपे ‘ वर्षा लागेपछि यहि माटोपनि पानीले बगाएर लान्छ अनी सडकका खाल्डा उस्तै । दिगो विकास गर्न नसक्ने र सडकमा माटो थुपारेर जनताको आंखामा जनप्रनितिधिले छारो हालेका छन् ।’
वीरेन्द्रनगरका ७ र ८ वडामात्रै होईन १६ वटै वडाहरुका सडकको हालत दयनिय नै छ । यतिबेला कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको वीरेन्द्रनगर सडक निर्माणका विभिन्न नाममा धुलाम्मे छ ।
यसो त रत्न राजमार्गको समेत समयमा निर्माण कार्य नहुँदा विद्यार्थीहरु तथा अन्य सर्वसाधरण धुलोमा यात्रा गर्न बाध्य छन् ।
प्रतिकृया दिनुहोस्