Birendranagar Municipality

माओवादी आक्रमणमा एमाले कार्यकर्ताको मृत्यु

२७ बैशाख, दोलखा– माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ताको मृत्यु भएको छ । माओवादी नेतृ तथा पूर्वमन्त्री देवी खड्काको नेतृत्वमा आएको समूहले आक्रमण गर्दा गौरीशंकर गाउँपालिका जुगुका ३३ बर्षीय कुलबहादुर तामाङको मृत्यु भएको हो ।


आक्रमणबाट गम्भीर घाइते भएका दिलबहादुर बुढाथोकीलाई उपचारका लागि काठमाडौं लगिएको छ । आक्रमणकारीहरु हातहतियारसहित आएको प्रत्यक्षदर्शीको भनाई छ ।


मंगलबार राती सवा नौ बजे पूर्वमन्त्री खड्का, नेताहरु विशाल खड्का, गंगा कार्की सहित ६० जनाको समूहले भूकम्प पीडितहरु बसेको टहरामा आक्रमण गरेको थियो । केही दिनअघि जुगुका माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेको विषयलाई लिएर तनाव सिर्जना भएको हो । जुगु माओवादीको प्रभाव क्षेत्र मानिन्छ । नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले सेरोफेरोसंग भने– ‘आफ्ना कार्यकर्ता अन्य पार्टीमा प्रवेश गर्ने लहर चलेपछि माओवादी प्रतिकारमा उत्रेको हो ।’


स्थानीय गोरे तामाङका अनुसार ६४ सालको निर्वाचनदेखि माओवादीलाई सोधेरमात्र मतदान गर्नुपर्ने नियम जुगुमा थियो । तर, यसपटक आ–आफ्नो मतदान आफै गर्ने भन्ने नियम गाउँलेले बनाएपछि माओवादीले उनीहरुलाई त्यसो गरेमा खतरा हुने धम्की दिंदै आएको थियो ।


घटनाको विस्तृत छानविन गर्न प्रहरी नायव उपरिक्षक नेतृत्वको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

२०७४ बैशाख २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्