Birendranagar Municipality

प्रवास पीडा

नबराज क्षितिज

FB_IMG_1426483072083 (1)

‘विभाजित मनमा समस्या हुन्छ, अविभाजित मनमा कुनै समस्या नै हुँदैन’ स्वामी आनन्द अरुणको ‘जीवन दर्शन’ पढेदेखि मैले बिर्सेको छैन यो वाक्य । त्यसैले होला, मन विभाजित हुनबाट पटकपटक बचाउने प्रयास गरेको छु ।


कहिले सफल र कहिले असफल हुँदै जिन्दगी नामको समय धकेलिरहेको छु, पल पल । समय एक जनाको मात्र अधीनमा छैन । आफूले चाहेको कुरा पूरा भए समयले साथ दियो । पूरा नभए साथ दिएन । आखिर मन बिभाजित भएरै छाड्यो । म बिदेशिएं ।


शुरुका दिनहरु ज्यादै असहज र कष्टकर थिए । ती कुराहरु मेरो मनमा अझै पनि गाँठो परेर रहेका छन् । कति कुराहरु मनले लेख् भन्दैमा शब्दमा उतार्न पनि नसकिने रहेछ । आफ्नो भोगाई दुःख, पीडा एक आपसमा बाँडियो भने मन हलुका हुन्छ भन्ने कुराहरु आँशिक मात्र पत्याउँछु ।


म बसेको बस्ती बास बस्न हतार गर्दै थियो । झमक्कै अंध्येरो । मेरो मन भने मेरो परिवार, गाउँठाउँ र देशको माया अनि सम्झनाले झलमल्ल बनाईरह्यो । आँखा चिम्लेर निदाए जस्तो गरे पनि धेरै रातहरु ननिदाएरै काटेको छु । झुक्याएर सम्झनाका दियोहरु निभे र म निदार्ईहालें भने पनि, एकाबिहानै सैनिक जवानहरु परेड फिल्डमा बुट बजार्दै परेड खेलेजस्तै यादहरु मेरो मनमा गड्गडाउँदै आउँथे ।


२६ डिग्री तापक्रम हुँदा म काठमाडौंको छानामाथि उडिरहेको थिएँ । झन्डै पाँच घण्टा उडेपछि ४४ डिग्रीमा जमीनमा ओर्लिएं । जब जहाजबाट बाहिरिएँ अनि मेरो मनको क्याल्कुलेटरमा यी कुराहरुको हिसाबकिताब हुन थाल्यो । भावनात्मक घाटा यति धेरै निक्लियो कि जसको लागत राख्न असम्भव थियो ।


जब आबुधाबी झरें मेरो आँखामा एकाएक खैरो पर्दा लागेजस्तै भयो । जता हेरेपनि खैरो र बलौटे रङहरु मात्र आँखामा ठोक्कियो ।


असहज हेराई र कहिल्यै नसुनिएको भाषाले बोलाउँथे अध्यागमन विभागका कर्मचारीहरु । मैले भाषा नबुझे पनि ईशारा बुझें । मलाई बोलाउने कर्मचारीको नजिक गएँ । ईशारा बमोजिम अर्को कोठामा पसेँ । आँखाको स्क्यान गरे । दुबै हत्केलाका पन्जाहरुको पनि स्क्यान गरे ।


अध्यागमन कार्यालयबाट बाहिरिंदै थिएँ । कसैले मेरो नाम बोलायो । मेरो तस्वीर पनि देखाइरहेको देख्दा अचम्म लाग्यो । म त्यही मान्छे नजिक गएँ । कम्पनीको ड्राइभर रहेछ । भारतीय दक्षिणी केरला प्रदेशको । उसले मेरो नाम सोध्यो । सम्भवत मेरो नाम र फोटो हेरेर उसले झन्डै एक चौथाई चिनिसकेको थियो । मलाई ओरिजिनल भिजा थमायो र गाडीमा बस्न भन्यो । करिब २० मिनेटको यात्रा पछि उसले गाडी साईड लगायो । मेरो पासपोर्ट माग्यो । जताततै खैरो देख्ने मेरा आँखाले पासपोर्ट भने हरियो नै देख्यो ।


मैले मेरो पासपोर्ट मागें तर उसले ‘नही दिउङ्गा’ भन्यो । दिएन । क्यूँ, मैले भनें । ओफिसमे सब्मिट कर्वाना है, उसले भन्यो । मैले बुझें अब मेरो पासपोर्ट मसँग फिर्ता आउँदैन । घरबाट बिदा भएर हिंडेको पीडा निको नहुँदै, अर्को पीडा महसुस गरें । मन अमिलो भयो । उसले मसँग पासपोर्ट मागेर होइन, खोसेर लिएको जस्तो लाग्यो । मन हतास भैरहेको थियो । जस्तोसुकै अवस्थामा पनि हतास नहुनु, हतास भइयो भने बतासले पनि उडाउन सक्छ । घरबाट बिदा हुँदा बाबाले भनेको सम्झें ।


अर्को ४० मिनेटको यात्रापछि एउटा क्याम्पमा पुगियो । कोठा नं. १०८ । सामानहरु भएको फुच्चे झोला कोठामा राखेर म बाथरूम गएँ । हात मुख धोएं । बाफिलो पानीले पोलिहाल्यो । साँझ खाना खान मन लागेन । बेडमा पल्टिरहें । घरपरिवार र देशको याद आइरह्यो ।

 

अर्को दिन अफिस गएँ । स्टोरकिपरले युनिफर्म सेट दिए । सर्ट, पाईन्ट, जुत्ता, बेल्ट । ड्युटी शुरु भयो स्कूलमा । चारैतिर अग्ला नाङ्गा पहाडहरुको फेदमा । सुनसान छ । उखरमाउलो गर्मी । चिटचिट पसिना । दिनहरु वित्दै गए । गर्मी बिदामा विद्यार्थीहरु नआउँदा स्कूल पनि नरमाइलो मान्दै झोक्रिएर बसेको थियो । छ दिनसम्म कसैको आवाज सुनिन मैले । सडकबाट निकै पर पहाडको खोंचमा रहेको स्कूलमा म आफै पटकपटक रोएको छु । श्मसानघाट जस्तो ठाउँमा म जिउँदो रहेको प्रमाण आफैलाई दिलाउन । हप्ता दिन भैसकेको थियो, कुनै आवाज सुन्न म आफै कराउनु पथ्र्यो ।


रित्तो मन लिएर स्कूलको गेट अगाडि खै के सोचेर उभिरहेको थिएँ कुन्नी? हाफ पाइन्ट र सेतो टिसर्ट लगाएको मानिस म भएतिर आइरहेको देखें । ऊ नेपाली जस्तै देखिन्थ्यो । मनमनै सोचें । नमस्कार भन्छु । नेपाली भए नमस्कार फर्काउला । ‘नमस्कार दाई’ भन्ने बित्तिकै उनले ‘नमस्कार भाइ’ भने । अरु केही बोल्नै सकिन । शायद आँखाबाट आएका आँशुले भनिदिए मेरा मनका कुराहरु ।


‘म क्यारीफोर जान लागेको भाइ’, तपाईंलाई केही चाहिन्छ भने भन्नुस् । ती दाईले भने । मलाई सिङ्गो नेपाल देश भेटेजस्तो भैरह्यो । मैले भनें ‘केही चाहिंदैन दार्ई’ । उनलाई भेटेपछि घरको याद घना भएर आयो । कहाँ होला क्यारीफोर? सोचिरहें र पर्खिरहें । कुन बेला आउलान् ति दार्ई भनेर ।


एक घण्टापछि उनी आइपुगे । मलाई दुई कोसा केरा ल्याइदिएका रहेछन् । नाथे केराको के मोह थियो र? मलाई त उनीसँग बसेर धेरैबेर बोल्नु थियो । बिष बनेर बसेका मनभरीका उकुसमुकुस पोख्नु थियो । उभिएरै २० मिनेटजति कुरा ग¥यौं । कति पीडा पोखें कुन्नि? मन हलुका भयो ।


वियोगको भारी बोकेर खाडीमा पसेको पनि १२ दिन भैसकेछ । मलाई भने १२ बर्षझैं लाग्यो । सम्झनाको नायगरा फल्स बगिरह्यो । ‘मन नभत्कियोस्’ भनी भगवानसँग प्रार्थना गरें । मन भत्किएन भने आँट आउन सक्छ । भोलिका दिनमा आफैलाई सम्हाल्न सकिन्छ ।


यस्तै यस्तै सोचिरहेको बेला तीनजना मानिस म छेउ आए । अघि क्यारीफोर गएर फर्कने दार्ई पनि थिए । ‘भाई हामी तपाईंलाई लिन आएका हौं । नरबहादुरले तपाईंको बारेमा सबै कुरा भनिसके’, एक जना दार्ईले भने । अघि त्यति धेरै बेर कुरा गरेको दाईको नाम र ठेगाना सोध्नै बिर्सेछु । बल्ल थाह भयो । नरबहादुर तामाङ । नुवाकोट ।


मेरा आँखाबाट माछापुछ्रे पग्लन थाले । यतिका दिन सम्म कोही नभेटेको मैले, आज आफ्नै नेपाली दाजुभाईहरुले खाना खान बोलाउँदैछन् । मेरो ड्युटीको बारेमा सुनाएँ । छोडेर जान नमिल्ने कुरा बताएँ । सुनसरीका रामनारायण चौधरी दाईले भने– ‘मलाई अरबी भाषा सबै आउँछ, कसैले केही भनेछ भने म कुरा गर्छु । तिमी चिन्ता नमान ।’ हामी गयौं । एउटा कोठामा सात जना नेपाली बस्दारहेछन् ।


तीन कोठाको घर । एउटामा पाकिस्तानीहरु । अर्कोमा बङलादेशीहरु । तीनै देशका मान्छेको भान्छा साझा ।


ती दार्ईहरु कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने रहेछन् । ५० डिग्री तातोमा ठुल्ठुला ब्लक र ईंटा बोक्नुपर्ने । उनीहरुको कुरा सुनेपछि लाग्यो घरदेशमा समस्या र अभावले ग्रसित नौजवानको समस्या प्रवासमा पनि ज्युँका त्युँ छन् ।


खाना खाएपछि म ड्युटीमा फर्किएँ । सातैजना नेपाली मलाई पुर्‍याउन आए । एकछिन घर परिवार र देश विर्सिएं । मैले त्यहीं मेरो देश पाएं ।


उनीहरु फर्किएपछि मेरो मनमा धेरै कुराहरु खेले । द्वन्द्वको दलदलमा देश छ । देशभित्रै युवाहरुलाई रोजगारीको व्यवस्था नभएर हामी बिदेशिएका छौं । स्वदेशमै रोजगारीको व्यवस्था भएको भए.. यस्तै यस्तै । कतिबेला निदाएछु कुन्नी ? बिउझिंदा आँखामा अर्कै देश थियो ।

२०७४ बैशाख २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्